
समाचार सारांश
संपादकीय समीक्षा पश्चात तयार।
- मध्यपूर्व तनावका कारण क्याथे प्यासेफिक एयरलाइन्सले दुबई र रियादका सबै उडानहरू अप्रिल ३० सम्म स्थगित गरेको छ।
- एयरलाइन्सले यात्रुहरूको सुरक्षालाई मुख्य प्राथमिकता दिँदै उडान स्थगित गरिएको जनाएको छ।
- इरानसँग अमेरिका र इजरायलबीचको युद्धले खाडी मुलुकहरूमा अन्तर्राष्ट्रिय उड्डयन क्षेत्रमा ठूलो प्रभाव पारेको छ।
काठमाडौं । मध्यपूर्वमा जारी तनावका कारण क्याथे प्यासेफिक एयरलाइन्सले दुबई र रियादका सबै उडानहरू अप्रिल ३० सम्मका लागि स्थगित गरेको छ ।
एयरलाइन्सले जारी गरेको सूचनामा यात्रुहरूको सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर उडान स्थगित गरिएको उल्लेख छ । आगामी दिनहरूमा उडान तालिकामा थप परिवर्तन हुन सक्ने पनि उसले जनाएको छ ।
क्याथे प्यासेफिकले काठमाडौंबाट सिधा हङकङ उडान गर्दै आएको छ । उसको काठमाडौं– हङकङ सिधा उडान जारी छ ।
हाल इरानसँग अमेरिका र इजरायलबीचको चलिरहेको युद्धले खाडी मुलुकहरू समेत प्रत्यक्ष रूपमा प्रभावित भएका छन्, जसले अन्तर्राष्ट्रिय उड्डयन क्षेत्रमा ठूलो असर पारेको छ । यसले गर्दा मध्यपूर्वका प्रमुख ट्रान्जिट हबहरूतर्फ हुने उडानहरू प्रभावित भएका छन् । विभिन्न एयरलाइन्सहरूले उडान रद्द वा तालिका संशोधन गर्न बाध्य भएका छन् ।
विशेषगरी दुबई र रियाद जस्ता व्यस्त अन्तर्राष्ट्रिय गन्तव्यहरूमा उडान सञ्चालनमा समस्या देखा परेको छ ।
एयरलाइन्सहरूले यात्रुहरूलाई आफ्नो उडान सम्बन्धी जानकारी अपडेट राख्न र सम्बन्धित एयरलाइन्ससँग सम्पर्कमा रहन सुझाव दिएका छन् ।






