Skip to main content

इरान–अमेरिका युद्ध नयाँ चरणमा, ट्रम्पले थप अमेरिकी सेना परिचालन गर्ने तयारी सुरु गरे

समाचार सारांश

सम्पादकीय समीक्षा सहित।

  • इरान र अमेरिका–इजरायलबीचको युद्ध तेस्रो हप्तामा प्रवेश गरेसँगै ट्रम्प प्रशासनले मध्यपूर्वमा हजारौं अमेरिकी सैनिक परिचालन गर्ने विषयमा छलफल सुरु गरेको छ।
  • ‘अपरेसन एपिक फ्युरी’ लाई अझ सशक्त बनाउन र इरानका रणनीतिक क्षेत्रहरूमा नियन्त्रण कायम गर्न ग्राउण्ड फोर्स पठाउने विकल्प ह्वाइट हाउसले विचार गरिरहेको छ।
  • खार्ग टापु र स्ट्रेट अफ हर्मुजमा तेल ट्यांकरहरूको आवागमन सुरक्षित गर्न र इरानका संवर्धित युरेनियम भण्डारलाई सुरक्षित राख्न अमेरिकी विशेष दस्ता परिचालन गर्ने विषयमा छलफल भइरहेको छ।

इरान र अमेरिका–इजरायलबीच जारी युद्ध अहिले तेस्रो हप्तामा प्रवेश गरेको छ। यसैबीच राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले मध्यपूर्व क्षेत्रमा थप हजारौं अमेरिकी सैनिकहरू परिचालन गर्ने विषयमा गंभीर छलफल सुरु गरेको छ।

रोयटर्सका अनुसार, ‘अपरेसन एपिक फ्युरी’ लाई अझ प्रभावकारी बनाउन र इरानका रणनीतिक क्षेत्रहरूमा नियन्त्रण कायम गर्न ‘ग्राउण्ड फोर्स’ परिचालन गर्ने सम्भावित विकल्प ह्वाइट हाउसले विचार गरिरहेको छ।

यस सम्भावित सैन्य परिचालनको मुख्य उद्देश्य इरानको ९० प्रतिशत तेल निर्यात हुने क्षेत्रहरू, विशेष गरी ‘खार्ग टापु’ र ‘स्ट्रेट अफ हर्मुज’ बाट हुने तेल ट्यांकरहरूको सुरक्षित आवागमन सुनिश्चित गर्नु हो।

सैन्य विज्ञहरूका अनुसार, खार्ग टापु नष्ट गर्नुको सट्टा त्यहाँ आफ्नो नियन्त्रण कायम गर्नु आर्थिक र रणनीतिक हिसाबले बढी फाइदाजनक मानिन्छ, यद्यपि यो कार्य जोखिमपूर्ण भनेको छ।

त्यस्तै, इरानको उच्च संवर्धित युरेनियम भण्डारलाई सुरक्षित राख्न अमेरिकी विशेष दस्ता परिचालन गर्ने विषयमा पनि छलफल भइरहेको छ।

फेब्रुअरी २८ देखि सुरु भएको यस युद्धमा अमेरिकाले अहिलेसम्म ७ हजार ८ सयभन्दा बढी हवाई आक्रमणहरू गरिसकेको छ, जसमा १२० भन्दा बढी इरानी जलसेना जहाजहरू नष्ट भएका छन्।

युद्धमा हालसम्म १३ जना अमेरिकी सैनिकले ज्यान गुमाइसकेका छन् भने करिब २०० जना घाइते भएका छन्। यद्यपि राष्ट्रपति ट्रम्पले आफ्नो चुनावी अभियानमा अमेरिकालाई विदेशी युद्धबाट टाढा राख्ने वाचा गरे पनि, अहिले इरानको ब्यालिस्टिक मिसाइल क्षमता र आणविक हतियार सम्भावनालाई पूर्ण रूपमा नष्ट गर्न ‘बुट्स अन द ग्राउण्ड’ अर्थात् थल सेनाको विकल्पलाई पूर्ण रूपमा अस्वीकार गरेका छैनन्।