समाचार सारांश
- हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले युक्रेन-रुस द्वन्द्वमा आफ्नो देश सहभागी नहुने प्रष्ट पारेका छन्।
- ओर्बानले युरोपेली संघले द्वन्द्व बढावा दिन हतियार र पैसा युक्रेन पठाइरहेको आरोप लगाए।
- उनी आगामी अप्रिल १२ मा हुने निर्वाचनमा उनकी पार्टी विजयी भए हंगेरीलाई युद्धबाट टाढा राख्ने प्रतिबद्धता जनाए।
हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले युरोप युद्धको संघारमा पुगेको चेतावनी दिँदै आफ्नो देश कुनै पनि हालतमा युक्रेन-रुस द्वन्द्वमा सहभागी नहुने स्पष्ट पारेका छन् ।
डनाउभायभारोस सहरमा आयोजित एक चुनावी र्यालीलाई सम्बोधन गर्दै ओर्बानले युरोपेली संघको नेतृत्व द्वन्द्वलाई बढावा दिन उदृत रहेको आरोप लगाए ।
उनले भने, “अहिले उनीहरूले युक्रेनलाई हतियार र पैसा पठाइरहेका छन्, तर पछि युरोपेली सैनिकहरू नै त्यहाँ पठाउने सहमति भइसकेको छ।”
आगामी अप्रिल १२ मा हुने संसदीय निर्वाचनको प्रचारप्रसारका क्रममा ओर्बानले आफ्नो पार्टी विजयी भएमा हंगेरीलाई यो युद्धबाट टाढै राख्ने प्रतिबद्धता जनाए।
उनले हंगेरीले न त युक्रेनलाई हतियार पठाउने, न त आफ्नो पैसा र सैनिक नै परिचालन गर्ने दाबी गरे। युरोपमा बढ्दो सैन्य तनावका बीच ओर्बानको यो अभिव्यक्तिले युरोपेली संघभित्रको आन्तरिक मतभेदलाई अझ प्रष्ट पारेको छ।
हंगेरीले युक्रेनलाई दिइने सैन्य सहायता रोक्न यसअघि पनि पटक पटक ‘भिटो’ प्रयोग गर्दै आएको छ।







