Skip to main content

नेपाल निर्वाचन २०८२: समानुपातिक उम्मेदवार अब कहिले र कसरी निर्वाचित हुन्छन्?

मतपेटिका ढुवानी गरिँदै

तस्बिर स्रोत, RSS

निर्वाचन आयोगले समानुपातिक प्रणालीतर्फको मतगणना सकिएसँगै दलहरूले पाएको मतका आधारमा सीट बाँडफाँट गरिने बताएको छ।

निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जीसीले देशका १६५ निर्वाचन क्षेत्रमै समानुपातिक प्रणालीतर्फ दलहरूले पाउने मतको गणना सकिएको बीबीसी न्यूज नेपालीलाई बताए।

“समानुपातिक मतगणना सम्पन्न भएको भन्ने जानकारी आएको छ,” उनले भने। “सम्बन्धित निर्वाचन क्षेत्रमा मतगणना सकिए पनि तथ्याङ्क सूची इन्ट्री गर्न बाँकी भएजस्तो देखिन्छ। केही हजार मतहरू थपिँदै गएको छ र अझै अन्तिम भइसकेको छैन।”

उनका अनुसार यस प्रणालीतर्फ गणना भएका सबै मत आयोगको प्रणालीमा पेस गर्ने काम मतगणना सकिएका भएका निर्वाचन क्षेत्रबाट भइरहेको छ।

कहिले टुङ्गो लाग्छ सीट?

निर्वाचन आयोगले समानुपातिकतर्फ तीन प्रतिशतको न्यूनतम सीमा अर्थात् ‘ थ्रेश्होल्ड’ कटाउने दलहरूलाई बिहीवारसम्म सीट बाँडफाँट गरिसक्ने योजना रहेको बताएको छ।