Skip to main content

बालेन शाह : प्रधानमन्त्री पदका लागि उम्मेदवार भनिएका रास्वपा वरिष्ठ नेताले के गरिरहनुभएको छ?

बालेन शाह

तस्बिर स्रोत, Reuters

पार्टीका नवनिर्वाचित सांसदहरूको परिचयात्मक तथा अभिमुखीकरण कार्यक्रममा समेत अनुपस्थित भएका कारण व्यापक रूपमा खोजी गरिएका राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह ‘बालेन’ “विज्ञहरूसँग परामर्शमा रहेका” एक उच्च पदाधिकारीले बताएका छन्।

हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा भारी बहुमत प्राप्त गरेको रास्वपा बालेनको नेतृत्वमा सरकार गठन गर्ने तयारीमा छ।

“विज्ञहरूसँग मात्र नभई पार्टीका अन्य नेताहरूसँग पनि छलफल गरिरहनुभएको छ,” उक्त दलका महामन्त्री कवीन्द्र बुर्लाकोटीले बताउनुभयो।

पार्टीले मंगलबार र बुधबार दुई दिन नवनिर्वाचित सांसदहरूका लागि आयोजना गरेको कार्यक्रममा बालेन अनुपस्थित थिए।

“उहाँ अहिले मुख्य रूपमा स्वास्थ्यलाभमा हुनुहुन्छ। उहाँको स्वास्थ्य पहिले निकै नाजुक थियो। त्यहीसँगै हालको परामर्श मुख्यतया कसरी काम गर्ने, मुख्य प्राथमिकताहरू के हुने भन्नेबारे बढी छलफल भइरहेको छ,” बुर्लाकोटीले बताए।