वसन्त ऋतुमा हिमाल आरोहणलाई व्यवस्थित बनाउन विभागद्वारा ९ बुँदे परिपत्र जारी

समाचार सारांश
समीक्षा पश्चात तयार गरिएको।
- पर्यटन विभागले वसन्त ऋतुमा हुने हिमाल आरोहणलाई चुस्त र व्यवस्थित बनाउन ट्रेकिङ कम्पनीहरूलाई लक्षित गर्दै ९ बुँदाको परिपत्र जारी गरको छ।
- आरोहण अनुमति माग्दा कम्तीमा २ दिनअघि नियमावली बमोजिम विस्तृत विवरण तथा सहयोगी कर्मचारीको विवरण अनिवार्य पेश गर्नुपर्ने विभागले जनाएको छ।
- हिमाल आरोहणका क्रममा उद्धार विवरण अनिवार्य बुझाउनुपर्ने र फोहोरमैला धरौटी रकम फिर्ता गर्ने प्रक्रिया विभागले स्पष्ट पारेको छ।
५ चैत, काठमाडौं। वसन्त ऋतुमा हुने हिमाल आरोहणलाई व्यवस्थित र चुस्त बनाउन पर्यटन विभागले ट्रेकिङ कम्पनीहरूलाई लक्षित गर्दै ९ बुँदाको परिपत्र जारी गरेको छ।
विभागले हिमाल आरोहण अनुमति लिनुपर्ने समयभन्दा कम्तीमा २ दिन पहिले पर्वतारोहण सम्बन्धी नियमावली, २०८२ (छैटौं संशोधन) को अनुसूची–१ अनुसार विस्तृत विवरण राखेर आवेदन दिन निर्देशन दिएको छ।
आरोहण अनुमति माग्दा आवेदनमा सहयोगी कर्मचारीको विवरण अनिवार्य उल्लेख गर्नुपर्ने साथै सरदारलाई अनिवार्य रूपमा तोक्नुपर्ने भएको छ। आकस्मिक सहयोगी थप गर्नुपर्ने भएमा त्यसको स्पष्ट कारण, संख्या, मिति सहित विस्तृत विवरण दिएर विभागबाट पूर्व स्वीकृति लिनुपर्ने परिपत्रमा उल्लेख छ।
पर्वतारोहण सम्बन्धी नियमावली, २०५९ को नियम २१ अनुसार अन्तिम शिविरमा पुगेका सरदार, पर्वतीय पथ प्रदर्शक वा उचाइमा जाने कामदारलाई हिमालचुली आरोहण गर्ने अवसर दिनुपर्ने व्यवस्था अनुसार ती सहयोगीहरूले मात्र अन्तिम शिविरमा पुगेर आरोहण गर्न पाउने व्यवस्था गरिएको छ।
हिमाल आरोहण अनुमति माग्दा आरोहण दलका सदस्य र सहयोगी कर्मचारीहरूको हालसालै खिचिएको फोटो अनिवार्य प्रणालीमा अपलोड गर्नुपर्नेछ। सो फोटो प्रमाणपत्रमा पनि प्रयोग गर्न मिल्ने व्यवस्था मिलाउनुपर्ने छ।
सहयोगी कामदारहरूको इच्छापत्र र करारमा नियमावलीको ढाँचा अनुसार विस्तृत विवरण कम्पनी र कामदार दुवैले अनिवार्य रूपमा भर्नुपर्ने छ। सार्वजनिक विदाको दिन बाहेक हरेक दिन ३:०० बजे (शुक्रबार २:०० बजे) टोलीका नेता, एजेन्सी प्रतिनिधि र सम्पर्क अधिकृतको उपस्थितिमा विभागको सभाकक्षमा संयुक्त रुपमा ब्रिफिङ हुने जानकारी पनि दिएको छ।
हाल निवेदन पेश गर्दा हार्ड र सफ्टकपी दुवैमा कागजात संलग्न गर्नुपर्ने व्यवस्था छ। अब भने सक्कल निवेदनका साथै सलामी दस्तुर, फोहोरमैला धरौटी तिरेको सक्कल भौचर, इन्स्योरेन्सको सक्कल र सदस्यको पासपोर्टको प्रतिलिपि तथा नेपाली नागरिकको हकमा नागरिकताको प्रतिलिपि फाइलमा मात्र संलग्न गरी विभागमा पेश गर्न मिल्ने छ। अन्य आवश्यक कागजात एजेन्सीले प्रमाणित गरी हिमाल आरोहण अनुमति प्रणालीमा अपलोड गर्नु पर्नेछ।
हिमाल आरोहणको क्रममा भएका उद्धारसम्बन्धी विवरण पर्यटन विभाग र पर्यटक प्रहरी कार्यालय, भृकुटीमण्डपमा अनिवार्य रूपमा बुझाउनुपर्ने व्यवस्था पनि गरिएको छ। सन् २०२५ को हिमाल आरोहण गर्दा/गराउँदा राखिएको फोहोरमैला धरौटी रकम फिर्ता नभएमा आवश्यक कागजातसहित चाँडै विभागमा निवेदन दिनुपर्ने र निवेदन पेश भएपछिको ७ दिनभित्र धरौटी रकम फिर्ता हुने विभागले स्पष्ट पारेको छ।






