Skip to main content

चैत १६ गते संघीय संसद्को अधिवेशन बोलाउने तयारी

समाचार संक्षेप

OK AI द्वारा तयार गरिएको। सम्पादकीय समीक्षा गरिएको।

  • निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचन प्रतिवेदन राष्ट्रपति कार्यालयमा बिहीबार बुझाएको छ।
  • नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ चैत १२ गते बिहान साढे ११ बजे हुने तय भएको छ।
  • चैत १६ गते संघीय संसद्को पहिलो बैठक बोलाउने तयारी अघि बढेको छ।

५ चैत, काठमाडौं । यही चैत १६ गते संघीय संसद्को अधिवेशन बोलाउने तयारी अघि बढ्दैछ ।

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनको प्रतिवेदन राष्ट्रपति कार्यालयमा बिहीबार बुझाएको छ । यससँगै राष्ट्रपति कार्यालयले संघीय संसद्को अधिवेशन बोलाउने तयारी गरिरहेको छ ।

बिहीबार संघीय संसद् सचिवालयले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधिहरूसँग छलफल गरेको थियो । उक्त छलफलमा प्रतिनिधिसभाका सदस्यहरूको शपथग्रहण र संसद् बैठक सञ्चालन सम्बन्धी विषयमा कुराकानी भएको थियो ।

छलफलपछि नवनिर्वाचित सदस्यहरूको शपथ यही चैत १२ गते हुने निर्णय भएको छ । १२ गते बिहान साढे ११ बजे ज्येष्ठ सदस्यले राष्ट्रपतिसँग शपथ ग्रहण गर्नेछन् । सोही दिन दिउँसो २ बजे ज्येष्ठ सदस्यले अन्य सदस्यहरूलाई शपथ ग्रहण गराउनेछन् ।

त्यसपछि सरकार गठनको प्रक्रिया अघि बढ्नेछ । १३, १४ र १५ गते सरकार गठन र सम्बन्धित कार्यहरू हुनेछन् ।

चैत १६ गते प्रतिनिधिसभाको पहिलो बैठक बोलाउने तयारी रहेको छ । यो विषय सर्वदलीय बैठकमा पनि जानकारी गराइएको थियो ।

संसद् सचिवालयका सहसचिव तथा प्रवक्ता एकराम गिरीले शपथपछि अधिवेशन आह्वान हुने जानकारी दिइन् ।

नेपाली कम्युनिस्ट पार्टीका सांसद रमेश मल्लले पनि शपथपछि सरकार गठन र त्यसपछि संसद् अधिवेशन आह्वान हुने विषयमा बृफिङ भएको जानकारी दिए ।

‘१६ गते पहिलो बैठक बोलाउने विषयमा छलफल भएको छ । शपथपछि त्यही दिन उपयुक्त हुने गरी संसद् सचिवालयले तयारी अघि बढाएको पनि बैठकमा बताइएको छ,’ मल्लले भने ।

बिहीबारको सर्वदलीय बैठकमा पहिलो बैठकमा के-कस्ता एजेण्डा रहनेछन् भन्ने सम्बन्धमा पनि छलफल गरिएको थियो ।

त्यस दिन राष्ट्रपतिले अधिवेशन आह्वान गरेको पत्र पढेर सुनाउने, सरकारले पठाएका महत्वपूर्ण पत्रहरू पढेर सुनाउने, दलका नेताहरूले भाषण गर्न चाहेको खण्डमा शुभकामना मन्तव्यका लागि समय दिने लगायतका कार्यसूची राख्ने प्रचलन रहनेछ ।