Skip to main content

एसपीए कैलाली प्राइड लिगको उपाधि पुनर्वास नगरपालिका ‘बी’ लाई

समाचार सारांश

संपादकीय समीक्षा गरियो।

  • पुनर्वास नगरपालिका ‘बी’ ले धनगढीको फाप्ला खेल मैदानमा सम्पन्न एसपीए कैलाली प्राइड लिगको चौथो संस्करणको उपाधि जितेको छ।
  • फाइनलमा बाजुराको बुढीगंगा नगरपालिकालाई ६ रनले पराजित गर्दै पुनर्वास ‘बी’ ले नगद ३ लाख र ट्रफी प्राप्त गरेको छ।
  • प्रतियोगितामा सुदूरपश्चिम प्रदेशका १२ स्थानीय तहका टोलीहरूले सहभागिता जनाएका थिए र नेपाल क्रिकेट संघका अध्यक्षले विजेता टोलीलाई पुरस्कार प्रदान गर्नुभएको थियो।

५ चैत, काठमाडौं । धनगढीको फाप्ला खेल मैदानमा सम्पन्न चौथो संस्करणको अन्तरपालिका स्तरीय एसपीए कैलाली प्राइड लिगको उपाधि पुनर्वास नगरपालिका ‘बी’ ले जितेको छ।

बिहीबार सम्पन्न फाइनलमा बाजुराको बुढीगंगा नगरपालिका लाई ६ रनले पराजित गर्दै कञ्चनपुरको पुनर्वास नगरपालिका ‘बी’ ले उपाधि हात पारेको हो।

उपाधि जितेको पुनर्वास ‘बी’ ले नगद ३ लाख र ट्रफी प्राप्त गर्यो भने उपविजेता बनेको बाजुराको बुढीगंगा नगरपालिकाले रु १ लाख प्राप्त गर्‍यो।

पुनर्वासले दिएको ८० रनको लक्ष्य पछ्याएको बुढीगंगाले १७.१ ओभरमा सबै विकेट गुमाउँदै केवल ७३ रन मात्र बनाउन सक्यो। दिपक रोकायाले सर्वाधिक २४ रनको महत्वपूर्ण पारी खेलेपनि अन्य ब्याटरले सम्झन लायक प्रदर्शन गर्न सकेनन्।

बुढीगंगाको ब्याटिङ लाइनअप ध्वस्त पार्न शेर मल्लले शानदार प्रदर्शन गरे। ४ ओभर बलिङ गरेका मल्लले २ मेडन राख्दै केवल १२ रन खर्चेर ३ विकेट लिए। उनी फाइनल खेलको ‘प्लेयर अफ दि म्याच’ पनि चुनिए। यस्तै नरेन भट्ट र सचिन भट्टले समान दुई-दुई तथा हेमन्त धामी र अशोक धामीले समान एक-एक विकेट लिए।

पहिले टस जितेर ब्याटिङ गरेको पुनर्वासको पनि ब्याटिङ खासै चल्न सकेन। १९औं ओभरमा अलआउट भएको पुनर्वासले मात्र ७९ रन जोडेको थियो।

उनका कप्तान नारायण जोशी र अभिषेक पाल समान एक-एक रनमै आउट भए। सर्वाधिक अविजित १९ रन हेमन्त धामीले बनाए भने नरेन भट्टले १५ तथा अशोक धामीले १४ रन बनाए। अन्य ब्याटरले उल्लेखनीय प्रदर्शन गर्न सकेनन्।

बुढीगंगाका लागि सर्वाधिक ३ विकेट सौर्य श्रेष्ठले लिए भने नागराज सिंह र सुबोध ऐरले समान दुई-दुई विकेट लिन सफल भए। मदन शाह र दिपक रोकायाको नाममा समान एक-एक विकेट रह्यो।

व्यक्तिगत विधातर्फ उदीयमान खेलाडीको अवार्ड नगद रु १० हजार सहित बुढीगंगा नगरपालिकाका खेलाडी मदन शाहले जितेका छन्। त्यस्तै उत्कृष्ट बलरको अवार्ड नगद रु १५ हजार सहित धनगढी उपमहानगरपालिका खेलाडी सन्नी बिकले जितेका छन् भने उत्कृष्ट ब्याटरको अवार्ड नगद रु १५ हजार सहित घोडाघोडी नगरपालिकाका कप्तान टेक रावतले जितेका छन्।

त्यस्तै प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीको अवार्ड नगद रु २० हजार सहित च्याम्पियन टोलीका सदस्य सचिन भट्टले जितेका छन्।

विजेता टोलीका सदस्यहरुलाई कार्यक्रमका प्रमुख अतिथि नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुर बहादुर चन्द, केन्द्रीय सदस्यहरू धिरेन्द्र साउद, वीरेन्द्र चन्द, प्रादेशिक क्रिकेट संघका अध्यक्ष वासुदेव जोशी, सचिव लक्ष्मण दत्त भट्ट, कोषाध्यक्ष दिनेश सिंह लगायतले नगद, ट्रफी र प्रमाणपत्र प्रदान गरे।

जिल्ला क्रिकेट संघ कैलालीको आयोजनामा सम्पन्न भएको प्रतियोगिता २८ फागुनबाट सुरु भएको थियो। प्रतियोगितामा सुदूरपश्चिम प्रदेशका १२ स्थानीय तहका टोलीहरूले सहभागिता जनाएका थिए।