
समाचार सारांश
समीक्षा पश्चात तयार गरिएको।
- निर्वाचन आयोगले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रतिमतदाता २८४ रुपैयाँ खर्च भएको जनाएको छ।
- निर्वाचन सामग्री खरिदमा सरकारको स्वामित्वमा रहेका सङ्गठित संस्थासँग सम्झौता गरी मितव्ययी नीति अपनाइएको छ।
- निर्वाचनमा २२ वटा कूटनीतिक निकायका १६४ जना र ३५ वटा राष्ट्रिय गैरसरकारी संस्थाले पर्यवेक्षण गरेका थिए।
५ चैत, काठमाडौं । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रतिमतदाता २८४ रुपैयाँ खर्च भएको निर्वाचन आयोगले जनाएको छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचनको समग्र प्रतिवेदनसहितको निर्वाचन परिणाम राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाइसकेपछि आज आयोगले आयोजना गरेको पत्रकार सम्मेलनमा सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले निर्वाचन खर्चलाई मितव्ययी बनाउन आयोगबाट यसअघि खरिद भएका सामग्री प्रयोगको नीति लिएको जानकारी दिए ।
निर्वाचन सामग्री खरिदमा सरकारले स्वामित्वमा राखेका सङ्गठित संस्थासँग सम्झौता गरी मितव्ययी रुपमा खरिद गरिएको उनले बताए ।
पचास प्रकारका निर्वाचन सामग्रीमध्ये ३७ प्रकारका सामग्री प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयबाटै खरिद गरिएको थियो भने तेह्र प्रकारका सामग्री आयोगबाट खरिद गरी जिल्लागत रूपमा ढुवानी गरिएको थियो ।
निर्वाचन प्रयोजनका लागि आयोगले रु सात अर्ब ८१ करोड पाँच लाख ७६ हजार माग गरेकोमा अर्थ मन्त्रालयबाट रु छ अर्ब ७६ करोड ६६ लाख ९० हजार स्रोतको सहमति प्राप्त भएको थियो। प्राप्त रकममध्ये हालसम्म रु तीन अर्ब ५४ करोड २८ लाख ७९६ खर्च भइसकेको छ ।
खर्च सम्बन्धी दायित्व सिर्जना भएकाहरूमध्ये केही रकम भुक्तानी हुन बाँकी छ भने त्यसमाथि आयोगले जानकारी दिनुभएको छ ।
निर्वाचनमा स्वदेशी तथा विदेशी पर्यवेक्षकको पनि व्यवस्था गरिएको थियो। अन्तर्राष्ट्रिय पर्यवेक्षणतर्फ २२ वटा कूटनीतिक निकायका १६४ जना र तीन वटा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका प्रतिनिधिहरूले पर्यवेक्षण गरेका थिए भने राष्ट्रिय रुपमा ३५ वटा गैरसरकारी संस्थाले पर्यवेक्षण गरेका थिए ।
विशिष्ट परिस्थितिमा घोषणा भएको प्रतिनिधिमूलक लोकतन्त्रको यस अभ्यासमा सहभागी भई आफ्नो मताधिकारमार्फत प्रतिनिधि चुन्ने, कानुन निर्माण र राज्य सञ्चालन प्रक्रियामा संलग्न हुने तथा सरकार निर्माण र शासन सञ्चालनमा सहभागी हुने प्रक्रियाको सफलतामा सहभागी सम्पूर्ण मतदाताहरूलाई आयोगले धन्यवाद र आभार प्रकट गरेको छ ।
निर्वाचन सम्पन्न गराउन संलग्न नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, मुख्य निर्वाचन अधिकृत/निर्वाचन अधिकृत, सबै सुरक्षा निकाय, निर्वाचनमा संलग्न कर्मचारी र सुरक्षाकर्मी, राजनीतिक दल, उम्मेदवार, मतदाता, पर्यवेक्षक, अन्तर्राष्ट्रिय समुदाय, सञ्चार माध्यम र सञ्चारकर्मी सबैप्रति आयोगले धन्यवाद व्यक्त गरेको छ ।






