Skip to main content

एचजेएनबीएलमा टाइम्सले चौथो जित दर्ज गर्यो

समाचार सारांश

संपादकीय समीक्षा गरिएको।

  • टाइम्स इन्टरनेसनलले हिमालयन जाभा नेसनल बास्केटबल लिग २०२६ मा प्लेबक्स एरेनालाई ८५-७३ ले हराउँदै चौथो जीत हात पारेको छ।
  • आर्मीले रोएललाई १०३-७५ ले पराजित गर्दै पाँच खेलबाट ९ अंकसहित शीर्ष स्थानमा छ।
  • एचजेएनबीएलमा ८ टिम प्रतिस्पर्धा गरिरहेका छन् र शीर्ष चार टोली प्लेअफमा प्रवेश गर्नेछन्।

५ चैत, काठमाडौं । हिमालयन जाभा नेसनल बास्केटबल लिग (एचजेएनबीएल) २०२६ मा टाइम्स इन्टरनेसनल क्लबले चौथो जीत हासिल गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्डहलमा बिहीबार भएको खेलमा टाइम्सले प्लेबक्स एरेनालाई ८५–७३ ले पराजित गरेको हो ।

टाइम्सले पहिलो क्वाटरमा २६-१६ को अग्रता बनाएको थियो । दोस्रो क्वाटर १६-१५ ले आफ्नो पक्षमा पारेको टाइम्सले हाफटाइमसम्म ४२-३१ को अग्रता बनाएर अघि बढ्यो ।

टाइम्सले तेस्रो क्वाटर २३-१७ ले आफ्नो पक्षमा पार्‍यो । चौथो क्वाटर प्लेबक्सले २५-२० ले आफ्नो पक्षमा पारे पनि टाइम्सको जीतलाई रोक्न सकेन ।

टाइम्सका कमल थापा प्लेअर अफ दि म्याच घोषित भए ।

टाइम्सले पाँच खेलमा चौथो जीतपछि ९ अंक जोडेको छ । आर्मी पनि समान अंक जोडेको भएतापनि अंकअन्तरका कारण टाइम्स दोस्रो स्थानमा छ ।

बुधबार राति सम्पन्न अर्को खेलमा आर्मीले रोएललाई १०३–७५ ले हराएको छ ।

लिगमा आर्मीले पाँच खेल खेलेपछि यो चौथो जीत हो । ९ अंक जोडेको आर्मी स्पष्ट अग्रतासहित शीर्ष स्थानमा छ । रोएलको यो चौथो हार हो र उसले ५ खेलबाट ६ अंक मात्र जोडेको छ ।

नेपाल बास्केटबल संघ (नेबा) को आयोजनामा भइरहेको दोस्रो संस्करणको एचजेएनबीएलमा ८ टिमले प्रतिस्पर्धा गरिरहेका छन् ।

डबल राउण्ड रोविन आधारमा हुने लिगमा कुल ५६ खेल हुनेछ । लिग चरणपछि शीर्ष चार टोली प्लेअफमा प्रवेश गर्नेछन् ।

प्लेअफ अन्तर्गत लिगमा पहिलो र दोस्रो हुने टोलीबीच पहिलो क्वालिफायर हुनेछ भने तेस्रो र चौथो बीच एलिमिनेटर खेल हुनेछ ।

पहिलो क्वालिफायरमा पराजित टोली र एलिमिनेटर विजेताबीच दोस्रो क्वालिफायर हुनेछ । पहिलो र दोस्रो क्वालिफायर विजेताबीच फाइनल खेल हुनेछ ।

प्रतियोगिताको विजेताले नगद ४ लाख पाउनेछन् भने उपविजेताले २ लाख र तेस्रो हुनेले १ लाख प्राप्त गर्नेछन् ।

प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी मोस्ट भ्यालुएबल प्लेअर (एमभीपी) घोषित हुनेछ र आकर्षक पुरस्कार पाउने नेबाले जानकारी दिएको छ ।