
इलाम साहित्य महोत्सव–२०८३ को पहिलो दिन कविता, आख्यान, पत्रकारिता र पर्यटन विषयमा छलफल सम्पन्न भएको थियो। पर्यटनको वैभव सम्बन्धी सत्रमा पर्यटन व्यवसायी अमिर राईले राज्यको पर्यटन प्रवर्धन कार्यशैलीमा असन्तुष्टि व्यक्त गरे। महोत्सवमा ५० हजार रुपैयाँको हाङयुकजुनिता साहित्यिक पुरस्कार सुन्दर कुरूपलाई प्रदान गरियो। १८ वैशाख, इलाम। शुक्रबार इलामको ठूलो टुँडिखेलबाट सुरु भएको सांस्कृतिक झाँकी गौतम बुद्ध सभाहल पुगेर पूर्ण उत्सवमा परिणत भयो। यो उत्सव साहित्यकर्मी केन्द्रित भए तापनि राष्ट्रका विभिन्न विषयमा चलिरहेको बहसले यसलाई अझ व्यापक बनाएको छ।
इलाम साहित्य महोत्सव–२०८३ इलाममा सुरु भएको छ। महोत्सवको पहिलो दिन कविता, आख्यान, पत्रकारिता र पर्यटनसम्बन्धी मुद्दामा गम्भीर छलफल भयो। ‘विरासतदेखि रिल्ससम्म’ शीर्षकमा कविताको विभिन्न सन्दर्भमा विचारविमर्श भएको थियो। विनोदविक्रम केसी, रमेशचन्द्र अधिकारी, समदर्शी काइला तथा रिमा केसीले कविता लेखनको वर्तमान अवस्था र आगामी सम्भावनाहरुमा चर्चा गरे। वालिका थपलियाले उक्त सेसन सञ्चालन गरिन्। कविता सत्रपछि ‘डिजिटल मासु भात र हामी पत्रकार’ विषयमा अनलाइनखबरका प्रधान सम्पादक बसन्त बस्नेतले संवाद प्रस्तुत गरे।
‘पर्यटनको वैभव: समृद्धिको आधार’ सत्रमा नेपालको पर्यटन विकासका सम्भावना, अवसर तथा चुनौतीहरू तालमेल गरिए। वातावरण संरक्षण गर्दै पर्यटन पूर्वाधार निर्माण गर्नुपर्ने विषयमा वक्ताहरूले जोड दिए। यस सत्रमा पर्यटन कार्यालय काकरिभिट्टाका अधिकृत निरोज कट्टेल, उद्योग वाणिज्य संघ इलामकी पूर्व अध्यक्ष सुसिला सापकोटा, पर्यटन व्यवसायी अमिर राई र पत्रकार गिरिराज बाँस्कोटाले छलफल गरे। आख्यान र उपआख्यानमा केशव दाहाल, उमा सुवेदी, अमर न्यौपाने, श्याम सिंघकसँग शैलेन्द्र अधिकारीले बहस गरे। विभिन्न विषयमा छलफलपछि गजल साझ आयोजना गरियो।
गजल साझमा योगनीधि भटराई, जिआर न्यौपाने, पवित्रा प्रयत्न, भुइमान्छे, लोकेन खतिवडा, सागर बगर र सिंधु निरौलाले प्रस्तुतिहरू राखे। आयोजक नगर साहित्य कला संगित प्रतिष्ठान इलामका अध्यक्ष प्रकाश थामसुहाङले शनिबार पनि विभिन्न सत्रहरु हुने जानकारी दिए। सम्मान तथा विमोचन कार्यक्रम अन्तर्गत ५० हजार रुपैयाँको हाङयुकजुनिता साहित्यिक पुरस्कार सुन्दर कुरूपलाई प्रदान गरियो। साथै राधिका नेम्वाङ स्मृति पुरस्कार कविता नेपाललाई प्रदान गरियो।
दिनेश डिसी र गायक पुष्पन प्रधानलाई इलाम नगरपालिकाले सम्मान गर्यो। सोही क्रममा सगरमाथा आरोही जुनिता सुब्बाको कविता सङ्ग्रह “प्रिय आत्मन” र प्रतिष्ठानको स्मारिका विमोचन गरिएको थियो। साहित्य महोत्सवमा पर्यटन सम्वन्धी चिन्ता पनि उठाइयो। ४२०० मिटर उचाइमा पर्ने पाँचथर र ताप्लेजुङको सीमावर्ती क्षेत्रमा जिल्ला बाहिरबाट आएर कञ्चनजङ्घा क्षेत्रमा होटल व्यवसाय सञ्चालन गर्न निकै साहस चाहिन्छ। झापा घर भएका अमिर राईले पाँचथर–ताप्लेजुङ सीमामा पर्ने तिम्बुङ पोखरी क्षेत्रमा होटल व्यवसाय ६ वर्षदेखि सञ्चालन गर्दैछन्, जहाँ दुर्लभ ‘केन्जो’ फूल पाइन्छ।
पाँचौं संस्करणको इलाम साहित्य महोत्सवअन्तर्गत ‘पर्यटनको वैभव, समृद्धिको आधार’ शीर्षकमा पत्रकार गिरिराज बाँस्कोटाले सहजीकरण गरेको छलफलमा प्यानेलिस्ट अमिर राईले राज्यको पर्यटन प्रवर्धन कार्यशैलीप्रति असन्तुष्टि ब्यक्त गरे। उच्च हिमाली भेगमा वर्षभर चार महिना मात्र व्यापार सम्भव हुने अवस्थाबीच पर्यटन व्यवसायीले भोगिरहेका चुनौती र राज्यको अदूरदर्शिताको विषयमा उनले चर्चा गरे। स्थानीय तहदेखि प्रदेश सरकारसम्म पर्यटनका लागि बजेट ‘बालुवामा पानी खन्याएजस्तै’ खर्च भइरहेको उनको गुनासो थियो। अर्की प्यानेलिस्ट सुशीला सापकोटाले डिजिटल माध्यमबाट पर्यटन प्रवर्द्धन गर्न नसकिए पर्यटन व्यवसाय पछाडी पर्ने खतरा औँल्याइन्।
राज्यले विभिन्न निकायमार्फत होमस्टे सञ्चालनमा बजेट खर्च गरिरहे पनि व्यवसायी आफैं सक्रिय नभएसम्म आर्थिक लाभ सम्भव नहुने उनको भनाइ थियो। पर्यटन कार्यालय झापाका अधिकृत निरोज कट्टेलले यस्ता पर्यटनलाई प्रभावकारी बनाउन सरकार काम गरिरहेको दाबी गरे। पछिल्लो समय भारतको पश्चिम बंगालबाट इलाम, पाँचथर र ताप्लेजुङमा पर्यटक आउने संख्या बढेको उल्लेख गर्दै उनले सीमावर्ती दार्जिलिङका टुर अपरेटरसँग सहकार्य गर्दै क्रस–बोर्डर पर्यटक भित्र्याउन सकिने धारणा राखे।






