
News Summary
- मध्यपूर्व क्षेत्रमा जारी द्वन्द्वका कारण अफगानिस्तान र श्रीलंकाबीच यूएईमा हुने तय भएको क्रिकेट सिरिज स्थगित गरिएको छ।
- अफगानिस्तान क्रिकेट बोर्डले मार्च १३ देखि सुरु हुने सिरिज २०२६ को अन्तिम त्रैमासमा सारिएको जानकारी दिएको छ।
- यूएईमा हवाई मार्गमा समस्या र सुरक्षा घटनाका कारण क्रिकेट सिरिज स्थगित गरिएको हो।
२७ फागुन, काठमाडौं । मध्यपूर्व क्षेत्रमा जारी द्वन्द्वका कारण अफगानिस्तान र श्रीलंकाबीच यूएईमा हुने तय भएको एकदिवसीय र टी-२०आई सिरिज स्थगित गरिएको छ।
अफगानिस्तान क्रिकेट बोर्ड (एसीबी) ले मार्च १३ देखि सुरु हुने तय भएको द्विपक्षीय सिरिज २०२६ को अन्तिम त्रैमासमा सारिएको जानकारी दिएको छ। एसीबीका अनुसार क्षेत्रीय अवस्थाका कारण उडान व्यवस्थामा समस्या उत्पन्न भएकाले सिरिज स्थगित गरिएको हो।
यो सिरिज अन्तर्गत शारजाहमा मार्च १३, १५ र १७ मा तीन ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेल खेलाइने तालिका थियो। त्यसपछि दुबईमा मार्च २०, २२ र २५ मा तीन एकदिवसीय अन्तर्राष्ट्रिय खेल आयोजना गर्ने योजना थियो।
यसैबीच यस महिनाको सुरुआतमा अमेरिका र इजरायलले इरानमाथि हवाई आक्रमण सुरु गरेपछि मध्यपूर्व क्षेत्रमा यात्रा प्रभावित भएको छ। यूएईले एक सातापछि हवाई मार्ग पुनः खुला गरे पनि बुधबार दुबई अन्तर्राष्ट्रिय विमानस्थल नजिक दुई ड्रोन खस्दा चार जना घाइते भएका थिए।
भारतमा सम्पन्न पुरुष टी–२० विश्वकपबाट बाहिरिएपछि दक्षिण अफ्रिका, वेस्ट इन्डिजका टोलीहरू भारतमे रोकिएको अवस्थामा आईसीसीले खेलाडीहरू प्रस्थान गर्न थालिसकेको जानकारी दिएको छ ।






