Skip to main content

नेपाली कांग्रेसले भारत-चीनबीच लिपुलेकमार्गबाट मानसरोवर यात्रा सञ्चालन सहमतिमा आपत्ति जनायो

नेपाली कांग्रेसले भारत र चीनबीच लिपुलेक हुँदै कैलाश मानसरोवर यात्रा सञ्चालन गर्ने सहमतिप्रति आपत्ति जनाएको छ। कांग्रेसले लिपुलेक, लिम्पियाधुर र कालापानी क्षेत्र नेपाली भूमि भएको स्पष्ट रुपमा दाबी गर्दै सरकारको कूटनीतिक नोटलाई सकारात्मक रूपमा लिएको बताएको छ। पार्टीले सीमा विवादलाई कूटनीतिक र राजनीतिक तरिकाले समाधान गर्नुपर्ने र राजनीतिक दलबीच विभाजन हुनु नहुने बताएको छ। २१ वैशाख, काठमाडौं।

लिपुलेक हुँदै भारत र चीनले कैलाश मानसरोवर यात्राको सञ्चालन गर्ने सहमति गरेको विषयमा नेपाली कांग्रेसले कडा आपत्ति जनाएको छ। आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले भारत-चीन सहमतिप्रति असन्तुष्टि व्यक्त गर्दै सरकारले पठाएको कूटनीतिक नोटलाई सकारात्मक रुपमा लिएको जनाएको छ। सहमहामन्त्री उदयशमशेर जबराले बैठकपछि भने, ‘नेपाली भूमि लिपुलेक हुँदै कैलाश मानसरोवर यात्रा सञ्चालन गर्ने विषयमा भारत र चीनबीच भएको सहमतिप्रति नेपाली कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको छ।’

उनीहरूले यस विषयमा नेपाली कांग्रेसले स्पष्ट धारणा राख्दै आएको स्मरण गराउँदै २०७२ सालमा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले पनि यसबारे कूटनीतिक नोट पठाएर ध्यानाकर्षण गराएको बताएका छन्। कांग्रेसले सीमा विवादलाई केवल कूटनीतिक र राजनीतिक मार्गबाटै समाधान गर्नुपर्ने जोड दिएको छ। ‘यसलाई हामीले कूटनीतिक माध्यमबाटै समाधान गर्नुपर्छ,’ उनले भने।

कांग्रेसको निष्कर्ष छ कि राजनीतिक दलहरूले अन्तर्राष्ट्रिय सम्बन्धका विषयमा विभाजन गर्नु हुँदैन। ‘अन्तर्राष्ट्रिय सन्दर्भमा दलगत विभाजन हुनुहुँदैन। हामी अन्तर्राष्ट्रिय सन्दर्भमा सरकारसँगै हुनेछौं,’ उनले भने, ‘सरकारले पनि सबै राजनीतिक दलसँग यस विषयमा संवाद गर्नुपर्छ।’