Skip to main content

गगन थापालाई राजीनामा नदिन ललितपुरका जनप्रतिनिधिको आग्रह

News Summary

  • ललितपुरका स्थानीय तहका कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरूले सभापति गगनकुमार थापाको पक्षमा ऐक्यबद्धता जनाएका छन्।
  • जनप्रतिनिधिहरूले थापाको राजीनामा नदिन आग्रह गर्दै वर्तमान राजनीतिक अवस्थामा उनको नेतृत्व अपरिहार्य भएको बताएका छन्।
  • विज्ञप्तिमा कांग्रेसको गरिमामय इतिहास र समसामयिक चुनौतीमा थापालाई एक मात्र योग्य नेतृत्व भएको दाबी गरिएको छ।

२८ फागुन, काठमाडौं । ललितपुरका स्थानीय तहमा नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरूले पार्टी सभापति गगनकुमार थापाको पक्षमा ऐक्यबद्धता जनाएका छन् ।

बिहीबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै ललितपुरका महानगर र नगरका मेयर, उपमेयर तथा गाउँपालिका अध्यक्ष र उपाध्यक्षहरूले राजीनामा नदिन आग्रह गरेका हुन् ।

वर्तमान जटिल राजनीतिक अवस्थामा थापाको नेतृत्व र अभिभावकत्व पार्टीका लागि अपरिहार्य रहेको उनीहरूको भनाइ छ ।

विज्ञप्तिमा नेपाली कांग्रेसको गरिमामय इतिहास, वर्तमान राजनीतिक चुनौती, राष्ट्रियता र लोकतन्त्रको संरक्षणका साथै समसामयिक राजनीतिमा खेल्नुपर्ने प्रभावकारी भूमिकाका लागि गगन थापा नै एक मात्र योग्य व्यक्तित्व भएको दाबी गरिएको छ ।

जनप्रतिनिधिहरूले पछिल्लो समय चर्चामा आएको सभापतिको राजीनामाको विषयलाई पूर्णत: नकार्दै पार्टीको सुदृढीकरणका लागि नेतृत्वको निरन्तरताको खाँचो औंल्याएका छन् ।

ऐक्यबद्धता जनाउनेहरूमा ललितपुर जिल्ला समन्वय समितिका प्रमुख ऋषिदेव फुयाँल, ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन र महाङ्काल गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चन रहेका छन् ।

त्यस्तै, महाङ्कालका अध्यक्ष गणेशबहादुर केसी, गोदावरीकी उपप्रमुख मुना अधिकारी, महालक्ष्मीकी उपप्रमुख लक्ष्मी महर्जन र कोन्ज्योसोमका उपाध्यक्ष राजन घिमिरेले पनि सामूहिक रूपमा सभापति थापालाई अभिभावकत्व ग्रहण गर्न आग्रह गरेका छन् ।