
नेपालमा राजनीतिक विचारधारा र सिद्धान्तको अभावले दीर्घकालीन राजनीतिक स्थिरता र सामाजिक परिवर्तनमा चुनौती निम्त्याएको छ। पुराना दलहरूले आफ्नो वैचारिक सिद्धान्तलाई व्यवहारमा लागू गर्न नसक्दा नयाँ राजनीतिक शक्तिहरूले स्पष्ट वैचारिक आधार बनाउन सकेका छैनन्। नयाँ राजनीतिक शक्तिहरूले स्पष्ट वैचारिक उत्तरदायित्व र संस्थागत संस्कार विकास गरे मात्र नेपालको राजनीति दीगो बन्न सक्छ।
प्रदीप गिरि राजनीतिक विचारधारा र दर्शनका विषयमा छलफल गर्थे। उनी बोल्ने ठाउँमा सुन्नेहरूलाई लुभाउन सक्ने उनको क्षमता थियो। कतिपयले ध्यान दिएर सुन्थे भने कतिले सामान्य रूपमा एक कानले सुनेर अर्को कानले उडाए। अहिले दार्शनिक कुरा गर्ने मामलामा प्रदीप गिरिको विचारलाई अघि बढाएका एक नेता छन्, घनश्याम भूसाल। उनको दर्शन भनेको राजनीति मूलतः सिद्धान्तबाट निर्देशित हुनुपर्दो हो भन्ने हो। वैचारिक आधारमा टिकेर मात्र राजनीति गर्नुपर्छ भन्ने उनको मान्यता रहँदा उनी उदाएको पार्टी एमालेबाट राम्रोसँग सम्मानित भएनन्।
जनताले दशकौंसम्म विभिन्न राजनीतिक आन्दोलनमा सहभागी भई बलिदान दिए, शासन व्यवस्था परिवर्तन गरे, संविधान बनाए, राजतन्त्र अन्त्य गरे, गणतन्त्र स्थापना गरे; तर यति धेरै परिवर्तनका बाबजुद पनि सामान्य जनजीवनमा अपेक्षित सुधार किन देखिएन भन्ने प्रश्न आजको मुख्य विषय हो। यी प्रश्नहरूको समाधान नपाउँदा अर्को गम्भीर प्रश्न उत्पन्न भएको छ- के सिद्धान्तले भोक मेटाउँछ? यही निराशाले गर्दा अहिले पुराना राजनीतिक दलहरूप्रति वितृष्णा र नयाँ राजनीतिक शक्तिहरूप्रति असाधारण आकर्षण उत्पन्न भएको छ।






