
नेपालमा जलनका बिरामीको उपचारमा विशेषज्ञ जनशक्तिको अभाव र प्राथमिक उपचारको कमीले मृत्यु दर र अपांगता बढाएको छ। सरकारले सात प्रादेशिक अस्पतालमा जलन उपचार केन्द्र विकास गर्ने योजना अघि सारेको छ तर जनशक्ति अभावका कारण सेवा प्रभावकारी हुन सकेको छैन। कीर्तिपुर अस्पताल जलन उपचारको प्रमुख केन्द्र हो जहाँ देशभरका बिरामी उपचारका लागि आउने गर्छन्, तर संक्रमण नियन्त्रण र आवश्यक पूर्वाधार अभावले चुनौती छ। ६ जेठ, काठमाडौं। कीर्तिपुर अस्पतालको बर्न वार्डमा ९ वर्षका एक बालक टोलाइरहेका छन्। बायाँ हात पूरै जलेको छ। दायाँ खुट्टाको घुँडामुनिको भाग सग्लो छैन। दाङ घोराहीका उनी गत १९ वैशाखको साँझमा साथीभाइसँग खेल्न घरबाट निस्किएका थिए। खेल्ने क्रममा फोहोर जलाउने ठाँउमा पुगे। असावधानीपूर्वक लड्दा उनलाई आगोको लप्काले भेट्यो। ‘साथीहरूसँग खेल्ने बेला लडेर आगोमा परेछ। त्यो ठाउँमा फोहोर जलाउने गरिएको थियो’ छोराको घाउ देखाउँदै बालककी आमाले भनिन्, ‘अहिले अलि सञ्चो भयो। त्यसबेला त हेर्नै नसक्ने थियो।’ घटनापछि परिवारले बालकलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्याए। ‘एक हप्ता त्यहीं उपचार गरियो। तर घाउ निको हुने संकेत देखिएन’ उनले भनिन्, ‘घाउ सञ्चो नहोला भन्ने चिन्ता पनि बढ्दै गयो। एक सातापछि काठमाडौं नै ल्यायौं।’ उपचारमा संलग्न चिकित्सकका अनुसार समयमै विशेषज्ञ उपचार शुरू हुँदा घाउ चाँडै निको हुने सम्भावना हुन्थ्यो। तर उपचार ढिलो शुरू भयो। पोलेको ठाउँमा संक्रमण फैलिएकाले निको हुन अझै समय लाग्ने देखिएको चिकित्सकहरूले बताएका छन्। धनुषाको गणेशमान चारनाथ नगरपालिका–४ की २४ वर्षीया रेणु परियारको भोगाइ पनि कम पीडादायी छैन। खाना पकाउने क्रममा भएको दुर्घटनापछि उनले देब्रे हत्केला नै गुमाउनुपर्यो। २०८१ असार २८ गते बिहान उनी घरमै खाना पकाइरहेकी थिइन्। रेणु छारेरोगको बिरामी थिइन्। ग्यास बालेर अण्डा उसिनिरहेका बेला एक्कासी बेहोस भइन्। कराहीमा उम्लिरहेको पानी उनको अनुहारमा घोप्टियो। क्षणभरमै अनुहार र देब्रे हात गम्भीर रूपमा जल्यो। परिवारजनले हतार–हतार उनलाई उपचारका लागि जनकपुर प्रादेशिक अस्पताल पुर्याए। अनुहारको करिब ७० प्रतिशत भाग जलेको थियो। ६ दिनसम्म आईसीयूमा राखेपछि उनलाई सामान्य वार्डमा सारियो। तर घाउ निको हुने साटो झन् बल्झिँदै गयो। संक्रमण बढ्दै जाँदा उनको अवस्था जटिल बन्दै गइरहेको थियो। थप उपचारका लागि काठमाडौं जाने एम्बुलेन्स भाडा समेत भएन। पैसा जुटाउन नसक्दा केही दिन प्रादेशिक अस्पतालमै बस्नुपर्यो। स्थानीय पत्रकार र अभियन्ताको सहयोगमा उनलाई कीर्तिपुर अस्पतालमा पुर्याइयो। तर त्यतिबेलासम्म ढिलो भइसकेको थियो। समयमै प्रभावकारी उपचार नपाउँदा रेणुको देब्रे हातको हत्केला काट्नुपर्यो। सरकारले काठमाडौं बाहिर बर्न उपचार केन्द्र विकास गर्ने योजना सहित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, नारायणी अस्पताल, वीर अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, भेरी अस्पताल, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र सेती प्रादेशिक अस्पतालका लागि एक–एक करोड पनि छुट्यायो। केहीले वार्ड पनि बनाए। तर आवश्यक विशेषज्ञ जनशक्ति अभावका कारण ती अस्पतालमा सेवा प्रभावकारी रूपमा सञ्चालन भएको छैन। ‘समयमै उपचार पाएको भए हत्केला फाल्नुपर्ने थिएन होला। एक हात नै नहुँदा काम गर्न सकिंदैन। अरूकै सहारामा बाँच्नुपर्ने भयो’ उनी भन्छिन्, ‘काठमाडौं पुगेपछि सरसहयोगले ज्यानसम्म बच्यो।’

