
८ जेठ, डोल्पा । हिमाली जिल्ला डोल्पामा यार्सागुम्बा संकलन सुरु भएसँगै जिल्लाका अधिकांश विद्यालयहरू बन्द भएका छन् । सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरू अभिभावकसँगै यार्सागुम्बा संकलनका लागि हिमाली पाटनतर्फ जान थालेपछि विद्यालयहरू बन्द गरिएका हुन् । जिल्लाका सामुदायिक विद्यालयहरूमा जेठ सुरु भएसँगै विद्यार्थीको उपस्थिति घट्न थालेको शिक्षकहरूले बताएका छन् । केही विद्यालयमा त विद्यार्थी संख्या शून्यजस्तै भएपछि पठनपाठन नै रोक्नुपरेको अवस्था आएको छ ।
स्थानीयका अनुसार डोल्पामा यार्सागुम्बा संकलन केवल मौसमी काम मात्र नभई अधिकांश परिवारको मुख्य आम्दानीको स्रोत हो । वर्षभरको खर्च व्यवस्थापनदेखि बालबालिकाको शिक्षादेखि दैनिक जीविकोपार्जनसम्म यार्सागुम्बाबाट हुने आम्दानीमा धेरै परिवार निर्भर रहने गरेका छन् । यही कारण विद्यालय उमेरका बालबालिका समेत अभिभावकसँगै पाटनतर्फ जाने गरेका छन् । यो वर्ष जिल्लाका सम्पूर्ण यार्सापाटनहरू जेठ १० गतेदेखि खुला हुँदैछन् । यार्सागुम्बा संकलनको समय नजिकिएसँगै विद्यार्थीहरू विद्यालय छाडेर पाटनतर्फ जान थालेपछि विद्यालय सञ्चालन प्रभावित बनेको हो ।
त्रिपुरासुन्दरी नगरपालिका–३ सुँको सरस्वती माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रेम केसीले विद्यार्थी नै विद्यालय आउन छाडेपछि बाध्य भएर विद्यालय बन्द गर्नु परेको बताए । उनले भने, ‘विद्यार्थी जति सबै यार्सागुम्बा टिप्न जान थाले। अहिले विद्यालयमा विद्यार्थी नै आउँदैनन्। त्यसैले विद्यालय बन्द गर्नु परेको हो।’ त्यस्तै त्रिपुरासुन्दरी नगरपालिका–६ फुल्चिङस्थित मुकुटेश्वर माध्यमिक विद्यालयका शिक्षक गंगाराम कठायतले पनि यार्सागुम्बा संकलनकै कारण विद्यालय बन्द गर्नु परेको बताए ।
काइके गाउँपालिकाका शिक्षा शाखा प्रमुख गोविन्द घर्तीले पालिकाले विद्यालय बन्द नगर्ने योजना बनाए पनि अन्तत: विद्यार्थीको उपस्थिति शून्यजस्तै भएपछि विद्यालय बन्द गर्नु परेको बताए । उनले भने, ‘हामीले विद्यालय खुला राख्ने प्रयास गरेका थियौं। तर विद्यार्थी नै नआएपछि अन्तिममा विद्यालय बन्द गर्नुपर्ने अवस्था आयो।’ घर्तीले यार्सागुम्बा संकलनको समयमा यही समस्या दोहोरिने गरेको भन्दै दीर्घकालीन समाधान आवश्यक रहेको बताए ।
डोल्पामा हरेक वर्ष जेठको दोस्रो सातादेखि असारको दोस्रो सातासम्म १ महिना सम्म यार्सागुम्बा संकलन हुने गर्दछ । यस अवधिमा हजारौं स्थानीय बासिन्दा हिमाली पाटनतर्फ जाने गरेका छन् । शिक्षकहरूका अनुसार यार्सागुम्बा संकलनबाट हुने आम्दानीले धेरै परिवारको आर्थिक अवस्था सुधार गर्न सहयोग पुगे पनि यसको प्रत्यक्ष असर बालबालिकाको शिक्षामा परेको छ ।

