
तेह्रथुमको फेदाप गाउँपालिकामा रहेको ह्यात्रुङ झरना पानीको कमीका कारण संकटमा परेको छ। स्थानीयहरूले झरनामाथिका पानीका स्रोत संरक्षण र वैज्ञानिक व्यवस्थापनको आवश्यकता औँल्याएका छन्। पर्यटन विकासका लागि स्थानीय, प्रदेश र संघीय सरकारले करिब ८ करोड रुपैयाँ खर्च गरिसकेको छ। १० जेठ, तेह्रथुम। पहाडको काखबाट सेतो धर्साझैँ तल पानी झर्ने दृश्य, वरिपरि हरियाली जंगल र चराचुरुङ्गीको मधुर आवाजले पूर्वी नेपालको प्रसिद्ध पर्यटकीय गन्तव्य ह्यात्रुङ झरनामा पुग्ने सबैलाई प्रकृतिको यो अनुपम सौन्दर्यले मोहित तुल्याउँछ। समुद्री सतहबाट करिब १ हजार ५ सय मिटर उचाइमा अवस्थित ह्यात्रुङ झरना फेदाप गाउँपालिका–४ को सम्दु र वडा नम्बर ५ को इसिबु गाउँको सिमानामा पर्दछ। झरना करिब ३६५ मिटर उचाइबाट तल झर्छ र नेपालकै दोस्रो तथा एसियाकै चौथो अग्लो झरनाका रूपमा परिचित छ। तर पछिल्ला वर्षहरूमा पानी अभावले यस पर्यटकीय गन्तव्यलाई संकटमा पारेको छ। वर्षायाममा डुमरिएर बग्ने यो झरना सुख्खा मौसममा निकै थोरै बग्ने गरी सिमित हुँदै गइरहेको छ। झरनामाथिका पानीका स्रोत सुक्दै गएकाले, वर्षाको अनियमितता, जलवायु परिवर्तन र जंगल क्षेत्रमा बढ्दो दबाबका कारण झरनाको पानीको बहावमा नराम्रो असर परेको स्थानीयहरूको भनाइ छ।
फेदाप गाउँपालिका–४ की स्थानीय देवी रेग्मी भन्छिन्, ‘पहिले वर्षभर ठूलो मात्रामा पानी बग्थ्यो। अहिले सुख्खा मौसममा झरनामै पानी निकै कम हुन थालेको छ।’ उनका अनुसार पानीका स्रोत संरक्षणमा ध्यान नदिए आगामी दिनमा ह्यात्रुङको प्राकृतिक सौन्दर्य नै संकटमा पर्न सक्छ। पानी अभावले कमजोर बन्दै गरेको आकर्षण ह्यात्रुङ झरना केवल प्राकृतिक सम्पदा मात्र नभई पूर्वी नेपालको उदीयमान पर्यटन केन्द्र पनि हो। स्थानीय, प्रदेश र संघीय सरकारले संयुक्त रूपमा करिब ८ करोड रुपैयाँको पूर्वाधार निर्माणमा खर्च गरिसकेको छ। पर्यटकलाई सजिलो बनाउने उद्देश्यले सिँढी, रेलिङ, चौतारा र पदमार्ग बनाइएका छन्। जोखिमयुक्त ठाउँहरूमा सुरक्षा संयन्त्रहरू पनि अपनाइएको छ। झरनाको आकर्षण बढाउन करिब ३ सय ५० मिटर लामो झोलुङ्गे पुल निर्माण भइरहेको छ। तर प्रश्न उठ्दैछ– झरनामै पानी कम हुँदै जाँदा यी संरचनाले पर्यटनलाई कसरी धान्न सक्छन्?
पर्यटन विज्ञहरूले दिगो पर्यटनका लागि प्राकृतिक स्रोत संरक्षणलाई सर्वोपरी प्राथमिकतामा राख्न आग्रह गर्छन्। केवल पूर्वाधार वृद्धि गरेर मात्र पर्यटन टिकाउ हुन नसक्ने उनीहरूको निष्कर्ष छ। ह्यात्रुङ झरनासम्म पुग्नु नै एक रोमाञ्चक अनुभव हो। मुख्य सडकबाट झरनातर्फको उकालो ओरालो बाटो, जंगलबीच पदमार्ग र सिँढी पार गरी पुग्नुपर्छ। अन्तिम चरणमा करिब १५ मिनेट तल झर्नु पर्छ। झरनाको आवाज नजिकिदै जाँदा यात्राका थकाइ हराउने अनुभूति स्थानीय आठराई–१ का तुलसी सिटौलाले सुनाउँछन्। ‘झरनाको वास्तविक सौन्दर्य त प्रत्यक्ष पुगेर मात्र थाहा हुन्छ। प्रकृतिले यति सुन्दर ठाउँ बनाएको रहेछ भन्ने अनुभूति हुन्छ,’ उनी भन्छन्। तर स्थानीयहरूका अनुसार पछिल्ला वर्षहरूमा सुख्खा मौसममा झरनाको स्वरूपमा परिवर्तन आएको छ। पानीको मात्रा घटेसँगै पर्यटकको अनुभवमा पनि असर पर्ने चिन्ता बढिरहेको छ।
संकट केवल पर्यटनमा मात्र होइन, जीवनशैलीमा पनि पानी अभावले झरनाको सौन्दर्य मात्र नभई स्थानीय बासिन्दाको दैनिकीमा पनि असर पार्न थालेको छ। खेतीपाती, पशुपालन र दैनिक प्रयोगका लागि पानी अभाव भइरहेको स्थानीय जनाउँछन्। पानीका स्रोत कमजोर हुन थालेपछि गाउँको जीवनशैलीमै प्रभाव देखिन थालेको उनीहरूको भनाइ छ। स्थानीय अनुसार झरनामाथिका पानीका स्रोत संरक्षण, वृक्षारोपण, वन संरक्षण र वैज्ञानिक व्यवस्थापन अहिले नै आवश्यक भइसकेको छ।
ह्यात्रुङ झरनाले स्थानीय अर्थतन्त्रमा नयाँ सम्भावना पनि सिर्जना गरेको छ। पर्यटकको आगमन बढेसँगै स्थानीय उत्पादन बिक्री, चिया पसल, साना होटल र होमस्टे सञ्चालनका अवसरहरू बढेका छन्। युवा पुस्ताले पनि पर्यटन क्षेत्रमा सम्भावना देख्न थालेका छन्। फेदाप गाउँपालिका–४ का वडा अध्यक्ष भेषराज चोङबाङका अनुसार ह्यात्रुङलाई दिगो पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने योजना अघि बढाइएको छ। झरना मात्र देखेर फर्किने होइन, पर्यटकलाई लामो समयसम्म बस्ने वातावरण बनाउन होमस्टे, स्थानीय खाना र सांस्कृतिक पर्यटनसँग जोड्ने योजना समेत बनाइएको छ।
वर्षायाममा डुमरिएर बग्ने ह्यात्रुङ झरना सुख्खा मौसममा सुक्दै जाने चिन्ताले अहिले स्थानीयहरूलाई पिरोलिरहेको छ। प्रकृतिले दिएको यो अनुपम उपहारलाई जोगाउने कि हराउँदै जाने नियति हेर्ने भन्ने प्रश्न अहिले उठ्न थालेको छ।

