बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले गरिबलाई गरिखाने वातावरणको लागि बजेट ल्याउने घोषणा गरे

११ जेठ, काठमाडौं। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले नीति तथा कार्यक्रममा गरिबलाई गरिखाने वातावरण बनाउने बजेट ल्याउने बताएका छन्। सोमबारबाट सुरु भएको बागमती प्रदेशसभाको वर्षे अधिवेशनमा मुख्यमन्त्री बानियाँले गरिबकै लागि गणतन्त्र स्थापना भएकोले सबैका लागि गरिखाने वातावरण सुनिश्चित गरिने बताए।
मुख्यमन्त्री बानियाँले बजेट कुनै एक दलको मात्र नभई सबै राजनीतिक दलहरूको साझा नीति, कार्यक्रम र बजेट बन्ने पनि उल्लेख गरे। शिक्षा, स्वास्थ्य, सडक पूर्वाधार र खानेपानीसम्बन्धी गौरवका आयोजना आगामी वर्षमा प्राथमिकता पाउने उनले सुशासन प्रवर्द्धनका लागि प्रदेश सरकारले ठोस कदम चाल्ने बताए।
‘प्रदेश सरकार सहमति, सहकार्य र सहअस्तित्वको आधारमा सङ्घीय सरकार र स्थानीय सरकारसँग मिलेर अगाडि बढ्न प्रतिबद्ध छ,’ उनले भने, ‘सङ्घीय सरकारले पनि प्रदेश र स्थानीय सरकारसँग समन्वय गरेर अगाडि बढ्नुपर्ने हुन्छ।’
सङ्घीय सांसदका स्वकीय सचिवको सुविधा कटौती नगरिने भएपनि प्रदेशसभाका सांसदका स्वकीय सचिवको सुविधा कटौती गरिएकोमा उनले असन्तुष्टि व्यक्त गरे। बैठकमा पूर्वमुख्यमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश संसदीय दलका नेता शालिकराम जम्कट्टेलले आफ्नो नेतृत्वको सरकारले शुरु गरेका प्रदेश गौरवका आयोजनालाई निरन्तरता दिनुपर्ने बताए। प्रदेशसभाको सभामुख पद लामो समयदेखि रिक्त रहेकोमा पनि उनले आक्रोश व्यक्त गरे।
प्रदेशसभा बैठकमा नेपाली कांग्रेसका उपनेता रामकृष्ण चित्रकार, प्रदेशमा नेकपा एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया, राष्ट्रिय प्रजातन्त्र पार्टीका भुवनकुमार पाठक, नेपाल मजदुर किसान पार्टीका संसदीय दलका नेता सुरेन्द्रराज गोसाईं र हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान बज्राचार्यले आ–आफ्नो धारणा राखेका थिए।

