नेपालको आर्थिक सर्वेक्षण २०८२/८३: आर्थिक वृद्धिदर ३.८५ प्रतिशतमा सीमित रहने अनुमान

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसद्मा प्रस्तुत गर्नुभएको आर्थिक सर्वेक्षण अनुसार चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर ३.८५ प्रतिशतमा सीमित रहने अनुमान छ। नेपालमा वैकल्पिक ऊर्जासहित ९९.१ प्रतिशत जनसंख्यामा विद्युत्को पहुँच पुगेको छ भने कुल जडित क्षमता ४ हजार १ सय ५ मेगावाट पुगेको छ। नवीनतम आर्थिक सर्वेक्षण अनुसार नेपालको निरपेक्ष गरीबी २०.२७ प्रतिशत कायम छ भने बहुआयामिक गरीबी १७.४ प्रतिशतमा झरेको छ। १३ जेठ, काठमाडौं।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक सर्वेक्षण २०८२/८३ को दस्तावेज संसद्मा प्रस्तुत गर्दा नयाँ प्रयोग गरे। साविकमा अर्थ मन्त्रालयले आर्थिक सर्वेक्षण पुस्तिकालाई निलो कभर (गाता) मा ल्याउने गरेको थियो। अर्थ मन्त्रालयका अनुसार यसपालि आर्थिक सर्वेक्षणबाटै परिवर्तनको आभास दिन खोजिएको थियो। सोही क्रममा नेपाली कागज प्रयोग गरी गाता आकर्षक बनाइयो। आकर्षक गाताभित्रका तथ्यांक केलाउँदा भने नेपालको अर्थ–सामाजिक अवस्थामा मिश्रित नतिजा पाइन्छ। अर्थतन्त्रको अधिकांश सूचक कमजोर देखिन्छन्। तर, सामाजिक सूचक भने सन्तोषजनक अवस्थामा रहेको तथ्यांकले देखाएको छ।
चालु आव २०८२/८३ मा सरकारले साढे ६ प्रतिशत हाराहारी आर्थिक वृद्धि लक्ष्य राखेको थियो। तर, अर्थतन्त्र विस्तार ३.८५ प्रतिशतमा सीमित रहने अनुमान अर्थ मन्त्रालयले गरेको छ। गत आव आर्थिक वृद्धिदर ४.४३ प्रतिशत थियो। यस वर्ष प्रदेशहरूको आर्थिक वृद्धिदर समेत कमजोर छ। बागमती र गण्डकी बाहेक सबै प्रदेशको आर्थिक वृद्धिदर राष्ट्रिय औसतभन्दा तल छ। अर्थमन्त्री वाग्लेका अनुसार विश्व भूराजनीतिक तनाव, पश्चिम एसियामा जारी युद्ध र इन्धन मूल्यमा भएको भारी वृद्धि लगायत कारण मुलुकको अर्थतन्त्रमा समेत असर परेको छ।

