Skip to main content

गर्मीमा सातु किन खान उपयुक्त मानिन्छ?

गेडागुडीलाई भुटेर पिसेर तयार गरिने सातु नेपाली समूदायमा परम्परागत, सुपाच्य र ऊर्जादायी आहार हो। सातु नेपालमा अत्यन्त लोकप्रिय परम्परागत खानाका रूपमा मानिन्छ। यससँग सम्बन्धित थुप्रै कथा र किस्साहरू हाम्रो समाजमा प्रचलित छन् जसले यो पूर्वीय सभ्यताका प्राचीन खानेकुराको संकेत गर्दछ। मकै, जौ, गहुँ, भटमास, चना जस्ता गेडागुडीलाई भुटेर पिसेर सातु तयार गरिन्छ। स्वादअनुसार अन्य गेडागुडीहरू पनि मिसाउन सकिन्छ र चिनी वा सख्खर जस्ता मिठास थपिन्छ। तयार सातुलाई दूध, दही वा मोहीसँग सेवन गर्दा स्वाद अझ सुन्दर हुन्छ। नेपालमा अक्षय तृतीयाको दिन सातु र सर्वत बाँड्ने परम्परा रहेको छ। विशेषगरी गर्मी मौसममा सातु सेवनलाई प्रशंसा गरिन्छ। यो सहज रूपमा पच्ने, शीतलता दिने र ऊर्जादायी आहार हो।

गर्मीका बेला शरीरलाई चिसो राख्न, डिहाइड्रेशनबाट जोगिन र आवश्यक पोषण दिन सातु उत्कृष्ट विकल्प मानिन्छ। पुराना पुस्ताले लामो यात्रामा सातु बोकेर लैजान्थे किनभने यसको बोकाइ सजिलो थियो र लामो समयसम्म बिग्रँदैन जसले भोक र भोजनको अभावमा पनि शरीरलाई आवश्यक ऊर्जा दिन सफल हुन्थ्यो। आजकल पनि सन्तुलित आहारका लागि बिहानै चना र जौको सातुकै सेवन गर्ने चलन बढ्दै गएको छ। सातुमा पाइने पोषण तत्त्वहरू अत्यन्त समृद्ध छन्। १०० ग्राम सातुमा औसत २०-२६ ग्राम प्रोटिन, ६०-६५ ग्राम कार्बोहाइड्रेट, ९-१८ ग्राम फाइबर, ५-७ ग्राम फ्याट र ३८०-४१३ किलो क्यालोरी ऊर्जा पाइन्छ। यसमा क्याल्सियम (१५०-३८० मिग्राग्राम), म्याग्नेसियम (१८०-२७० मिग्राग्राम), आइरन (८-९ मिग्राग्राम) र पोटासियम (८२५-९०० मिग्राग्राम) जस्ता खनिज पर्याप्त मात्रामा पाइन्छ।

सातु प्रोटिनको उत्कृष्ट स्रोत हो जसले मांसपेशी निर्माण र शरीर मर्मतमा सहयोग पुर्‍याउँछ। उच्च फाइबरले पाचन प्रक्रियालाई सुधार्दै लामो समयसम्म पेट भरेको अनुभूति गराउँछ। कम ग्लाइसेमिक इन्डेक्स (३०-३५) हुँदा रक्तशर्करा नियन्त्रणमा मद्दत गर्छ, जुन गर्मीमा मधुमेह भएका मानिसहरूको लागि लाभदायी छ। आयुर्वेद अनुसार सातु शीतलताको गुण भएको खाद्य पदार्थ हो। गर्मीमा शरीरमा तापक्रम बढ्दा पित्त दोष उत्पन्न हुन्छ। सातुले पित्त दोष घटाउने उल्लेख आयुर्वेदमा पाइन्छ। पानीमा मिसाएर सेवन गर्दा शरीरको आन्तरिक तापक्रम घटाउँछ र गर्मीबाट हुने जलन, थकान तथा टाउको दुखाइ जस्ता समस्याहरूलाई कम गर्छ।