
सडक दुर्घटनामा मेरुदण्डमा चोट लागेर ह्वीलचेयरमा पुगेका निर्माता जनक घर्तीमगरले तीन करोड रुपैयाँभन्दा बढी लगानीमा चलचित्र मितज्यू निर्माण गरेका छन्। मित – लोकसंस्कृतिमा आधारित एक शक्तिशाली सामाजिक सम्बन्ध हो, जुन रगतको नाताभन्दा बाहिरको सबैभन्दा विश्वसनीय, आत्मीय र नजिकको सम्बन्ध हो। लोकसंस्कृतिमा दुई सम्बन्ध समान स्तरका हुन्छन् – मित र सम्धी। मितमा एउटै सम्बन्ध समान हुँदैन, मितकी श्रीमतीलाई पनि मितसरह सम्मान दिइन्छ। सम्धीबाट सम्धीज्यू बन्यो, मितबाट मितज्यू। मित शब्दसँग मिल्ने चलचित्र अहिले देशभर प्रदर्शनमा छ – ‘मितज्यू’। दयाहाङ राई र सौगात मल्ल अभिनीत सो चलचित्रमा टेरिया मगरले धमाकेदार डेब्यु गरेकी छिन्। नामका आधारमा चलचित्रले मितकै कथा बोलेको होला, हुन सक्छ अन्य कथा पनि। मैले यहाँ चलचित्रको कथा होइन, निर्माताको कथा भन्न खोजिरहेको छु, जो युवा अवस्थामा ह्वीलचेयरमा बसेर दोस्रो जीवन बाँचिरहेका छन्।
छातीमुनिका अंगहरू आँखाले देख्छन्, तर महसुस गर्दैनन् – ती आफ्नो हुन् वा अरूका। दोस्रो जीवन! हो, मृत्युबाट फर्किएर दोस्रो जीवन बाँचिरहेका छन् रोल्पा खुमेलका जनक घर्तीमगर। पहिलो जीवनमा चलचित्र घरज्वाइँ बनाए। क्रेटा कार हाल्दै चलचित्रको काम सके। दोस्रो जीवनमा उनी क्रेटा कारमा छैनन्, ह्वीलचेयरमा छन्। छातीमुनिको शरीर निष्क्रिय छ तर उनका सपना जीवित छन्। चलचित्र बनाएको पहिलो जीवनले पुनर्जन्म लियो र जन्मियो – ‘मितज्यू’, तीन करोडभन्दा बढी लगानीका साथ।
भक्तपुर र काभ्रेको सीमा साँगामा रहेको स्पाइनल कर्ड इन्जुरी पुनर्स्थापना केन्द्रमा मेरो दैनिक आउने जाने क्रम जारी थियो। २०८१ भदौ १७ गते दुर्घटना परेर मेरो माहिली बहिनी सविना तीन महिनादेखि त्यहाँ थिइन्। स्पाइनल कर्ड इन्जुरी पुनर्स्थापना केन्द्र एउटा पारिवारिक थलो हो, जहाँ विभिन्न प्रकारका बिरामीहरू छन्। प्राय: शरीरको तल्लो भाग पूर्ण रूपमा पक्षघात भएको हुन्छ। खुट्टाहरू नचल्ने, कतिपयका हात नचल्ने। उनीहरू ह्वीलचेयर, वाकर र एल्बो क्रचेजको सहायताले जीवन बिताउँछन्। जात, लिंग र भूगोल फरक तर कथाहरू उस्तै हुन्छन्। बिरामीका मात्र होइन, परिवारका भोगाइ र कष्ट पनि उस्तै हुन्छन्। बिरामीका छेउमा आश्वासन दिने परिवारका सदस्यहरू पनि एकान्तमा आँसु थाम्न सक्दैनन्। आँसुका धारामा पीडा साटासाट गर्छन् र आपसमा सहारा दिन खोज्छन्।
मेरुदण्डको नसामा गम्भीर चोट लागेपछि शरीरका भागहरू चल्न वा महसुस गर्न सक्दैनन्। यस्ता बिरामीलाई महिनौंसम्म राम्रो स्याहार चाहिन्छ। मेरी कान्छी बहिनीले आफ्नी दिदीको स्याहारका लागि जागिर नै छोडिन्। पुनर्स्थापना केन्द्रमा साँझपख नयाँ बिरामी को आयो, को घर फर्कियो, कस्तो अवस्थामा आयो र फर्कियो भन्ने कुराकानी चल्छ।
२०८१ पुस मध्यतिर मैले बहिनीका लागि खाना पुर्याउन गएको थिएँ। कान्छी बहिनीले भनिन्, ‘दाइ, रोल्पाबाट एक जना आएका छन्, घरज्वाइँ फिल्म बनाउने व्यक्ति!’ म निकै आश्चर्यचकित भएँ। जनक घर्तीमगर पुनर्स्थापना केन्द्रको माथिल्लो तलामा छिमेकी बन्न आइपुगेका थिए। स्पाइनल कर्ड इन्जुरी भनेको यस्तो छ कि, दुश्मनलाई पनि नहोस् भन्ने अवस्था हो।
शरीर चलाउन नसक्ने अवस्थामा पल्टिरहेका जनकसँगको भेटअघि मैले मेरो बहिनीको पनि कथा सम्झें। त्यो पनि कष्टदायी दुर्घटना र त्यसका पीडाहरूको संग्रह हो।
२०८१ भदौ १७ गते सिंहदरबार भित्र थिएँ। साथी वीरबहादुर घर्तीको फोन आयो, ‘दुर्घटना भयो, सविना भीर तल खसेकी छिन्। वडा अध्यक्षलाई फोन गर्नुहोस्, उद्धारमा छन्।’ महिनाको उमेरमा बुबाको निधन भएपछि सानै रहेकी बहिनी सविना घर्तीमगर हाम्रो परिवारको मूल आधार थिइन्। उनी त्यो दिन युवा क्लबको कार्यक्रममा जान लागेकी थिइन्। माडी–५, जङबाङ नजिकको पहिरोबाट खसेको खबरले मलाई लाग्यो, बहिनी हाम्रो बीचबाट बिदा भइन्। उक्त पहिरोबाट मोटरसाइकलसहित खसेको मान्छे जीउने आशा कमजोर हुन्छ। बहिनी उद्धार भएको खबर आयो – सिरदेखि खुट्टासम्म घाउ, कम्मरभन्दा मुनिको भाग नचल्ने। छोएको समेत थाहा नपाउने अवस्था। लिबाङ, भैरहवा हुँदै ट्रमा सेन्टरमा पुर्याइएपछि थाहा भयो– स्पाइनल कर्ड इन्जुरी भएको, टी–१० मा पूर्ण क्षति। डाक्टरले भने, ‘ह्वीलचेयर जीवन, शल्यक्रिया गरिसकेपछि पुनर्स्थापनाका लागि काभ्रेको केन्द्र जान पर्ने।’ उनी पूर्ण होसमा थिइनन्, निरन्तर ‘मलाई बचाउनुहोस्’ भन्दै कराईरहेकी थिइन्। त्यो बेला हाम्रो परिवार, समाजका लागि निरन्तर दौडिरहेकी मेरी बहिनी अब ह्वीलचेयरमै सीमित थिइन्। म कल्पना गर्थें त्यो ह्वीलचेयरमा जहाँ दैनिक जीवन र शौचालय व्यवस्थापन गर्न सकिन्छ। तर उनलाई म भन्थेँ, ‘सबै राम्ररी हुन्छ, नआत्तिऊ।’ घरमा आमाले निद्रा हराएका थिए र आँसु रोक्न सक्दै थिइनन्। परिवार, आफन्त र छिमेकीहरू पनि रातदिन रोइरहे। मैले बहिनीअगाडि आफू बलियो देखाउन खोजेँ तर एक्लै हुँदा आँसु रोक्न सक्दिनथेँ। ट्रमा सेन्टरमा लुकेर धेरै दिन रोएँ। हौसला दिँदै बहिनीलाई जीवन संघर्ष गर्न प्रेरित गर्थेँ। शल्यक्रिया सम्पन्न भयो र थेरापीका लागि काभ्रेको पुनर्स्थापना केन्द्र पुर्याइयो। तर उनी आफैं पल्टिन सक्दिनथिन्, दुइजनाको सहयोग चाहिन्थ्यो। दैनिक यस्तो सहयोग आवश्यक थियो।
भदौ अन्तिम साता देखि माघ मध्यसम्म पुनर्स्थापना केन्द्रमा बित्यो। आत्मबल, मेहेनत, हौसला र सिकाइले बहिनीको जीवन विस्तारै सहज बन्दै गयो। त्यहाँका एक आदर्श व्यक्ति हुन् डा. राजु ढकाल। पोलियोका कारण आफू पनि ह्वीलचेयरमा रहेका डा. राजुले स्पाइनल इन्जुरी भएका बिरामीलाई जीवन जिउन सिकाउँछन्। जब बिरामी मुस्कुराउँदै फर्किन्छन्, उनी सबैभन्दा खुसी हुन्छन्। महिनौंको थेरापीपछि बहिनी ह्वीलचेयरबाट वाकर र एल्बो क्रचेजसम्म आइपुगेकी छन्। हाल एएफओको सहायताले खुट्टा नियन्त्रण गर्दै एल्बो क्रचेजको सहारामा घरमा लत्रिइरहेकी छिन्। कम्मर अडिदैन, भुइँमा बस्न उठ्न गाह्रो छ, खुट्टाका औँला नचल्ने, तर निरन्तर प्रयासरत छिन्। टी–१० को पूर्ण क्षति हुँदाहुँदै चिकित्सकहरूले उनको मेहनत र हौसला प्रशंसा गरेका छन्। पुनर्स्थापना केन्द्रले संकेत गर्छ कि त्यहाँको वातावरण र प्रशिक्षणले बिरामी तथा परिवारलाई ज्ञान र साहस दिन्छ। एकअर्काको कथा आफ्नैजस्तो सम्झिन्छन् र त्यही सहारा बनाउँछन्।
पुसको दोस्रो हप्तामा बहिनी बसिरहेको कक्षमा मैले जनक घर्तीमगरलाई भेटें। उनी पल्टिन सक्थे तर सहयोगमै। आमा र श्रीमतीले सघाइरहेका थिए। छातीमुनि पूर्ण पक्षघात थियो। त्यती बेला बिरामीसँग धेरै कुरा गर्न सकिंदैन; सान्त्वना र हौसलाबाहेक। मैले जनकको पीडा महसुस गरेको थिएँ र उनको प्रगतिको जानकारी पनि थियो। आमा र श्रीमतीलाई म आशावादी बनाउन कोशिस गर्थें। मैले बहिनीको दुर्घटना र पुनर्स्थापना केन्द्रको कथाहरु सुनाएँ। केही प्रगति भएको कुरा बताएँ जसले जनककी आमालाई हौसला दिंदथ्यो। म भन्न सक्दिनथेँ कि छातीमुनि छुने अनुभूति नभएका लागि ह्वीलचेयर मात्रै विकल्प छ। जनकले आँसु बगाएको मैले देखिनँ। उनी आफ्नो भित्री पीडालाई दृढताका साथ सामना गरिरहेका थिए। आमा र श्रीमती पनि जनक अगाडि आँसु बगाउँदैनथे तर जब टाढा जान्छन् आँसु रोक्न सक्दैनन्। ‘कसरी दुर्घटना भयो?’ मैले जनकलाई सोधें।
२०८१ मंसिर २३ गते राति जनक बुटवलबाट दाङ तर्फ जाँदै थिए। उनले चलाएको क्रेटा कार अनियन्त्रित भएर रुखमा ठोक्कियो। एयरब्यागले बचाउन सकेन। हेलिकोप्टरबाट ह्याम्स अस्पताल र त्यसपछि ट्रमा सेन्टरमा पुर्याइयो। उनको टी–४ र टी–५ मा पूर्ण चोट लागेको छ।
जनक बिस्तरमै थिए, केवल अर्को व्यक्तिको सहयोगले पल्टिन सक्थे। तर म उहाँमा अनौठो साहस, हिम्मत र स्वीकारोक्ति देखेको थिएँ। सिरियल घरज्वाइँ चलचित्रको कुरा भयो। त्यसपछि उनले भने, ‘म अर्को चलचित्र बनाउनेछु, छायांकन ढोरपाटनमा गरिनेछ।’ म आश्चर्यचकित भएँ। उनले थपे, ‘मेरो उपचार अहिले सम्भव छैन। प्रविधि विकाससँगै भविष्यमा सहज हुनेछ। अहिल्यै मलाई स्वीकार्नु छ र काममा ध्यान दिनु छ।’ उनले भन्यो, ‘अब ह्वीलचेयरमै हुने छु। जीपमा ढोरपाटन पुग्नेछु, ह्वीलचेयरमै वरपर गरिनेछ।’ अर्को दिन म चलचित्र पत्रकारिता गरेकादेखि निर्देशक भएका मित्र दीपेन्द्र लामालाई त्यहाँ भेटें। लक्ष्मण सुवेदी र चलचित्र घरज्वाइँका निर्देशक अनिल बुढामगर पनि भेटिए। सबै जनकको स्वास्थ्य लाभका लागि शुभकामना ज्ञापन गर्न आएका थिए।
पुनर्स्थापना केन्द्रले काटिएका नसा जोड्दैन। पूर्ण रूपमा घायललाई दौडने बनाएर फर्काउँदैन। निष्क्रिय नसाहरूलाई थेरापी गरेर सक्रिय बनाउँछ। पल्टाउने, उठ्ने, ह्वीलचेयरमा बस्ने र हिँड्ने सिकाउँछ। शौचालय व्यवस्थापन र जीवनयापन सिकाउँछ। र सबैभन्दा महत्त्वपूर्ण सत्य स्वीकार गर्ने वातावरण प्रदान गर्दछ। यो कथा व्यक्तिगत मात्र नभई सामाजिक साझा कथा हो। स्पाइनल कर्ड इन्जुरी सबैभन्दा कठिन पक्ष भनेको बिरामी र परिवारले वास्तविकता स्वीकार गरेर त्यससँग जीवन जिउन सिक्नु हो। यो केवल शारीरिक चोट मात्र होइन, मानसिक र भावनात्मक परीक्षा पनि हो। बिरामी र परिवारले धेरै एकअर्कालाई बुझ्न, साथ दिन र निरन्तर हौसला दिनुपर्छ। यही साथ, विश्वास र सहयोगले जीवनलाई पुनः अघि बढाउने ऊर्जा दिन्छ। स्वीकार गर्न चार वर्ष लाग्ने भनिन्छ। जनक पुनर्स्थापना केन्द्र पुग्दै केही दिनमै स्वीकारिसकेका थिए।
दुर्घटनाले मानिसको शरीर, परिवारको सपना र भविष्यका योजना एकैपटक बदलिदिन्छ। सम्पन्नलाई एकछिनमा गरिब बनाउँछ। तर जसले आफ्नो वास्तविकता स्वीकार्छ र सपनालाई जीवित राख्छ ऊ शारीरिक रूपमा ढले पनि कहिल्यै जीवनको यात्रामा ढल्दैन। मेरी बहिनी सविनाजस्तै जनक घर्तीमगरको जीवनमा पनि दुर्घटनाले भनेको मौका छिन्यो, तर उनका सपना अधुरो भएन। त्यही सपना हो – ‘मितज्यू’। जनक केवल चलचित्र निर्माता नभएर संघर्षका जीवित प्रतीक बनेका छन्। उनी आफू कसैको सहारामा सर्छन् तर नेपाली सिनेमामा ठूलो प्रेरणा र साहारा बनेका छन्। त्यसैले सुमन स्मारिकाले जनकबारे कवितामा लेख्छिन्: ‘ऊ ह्वीलचेयरमा बैठे, सिङ्गो समाजलाई चलाइरहेको छ। ऊ रातदिन कसैको सहारामा सर्छ, तर सिङ्गो नेपाली सिनेमा आज उसकै हिम्मती काँधमा अडिएको छ।’
स्पाइनल कर्ड इन्जुरीको उपचार महँगो छ। जनक किन तीन करोडभन्दा बढी लगानीमा मितज्यू निर्माणमा लागे? ‘म चलचित्रकै लागि जन्मेको जस्तो लाग्छ। अहिले पनि चलचित्रकै लागि दोस्रो जीवन पाए जस्तो लाग्छ।’ जनकको कथा भन्छ – जीवन भनेको कहिल्यै नढल्नु हैन, ढलेपछि फेरि उठ्ने हिम्मत राख्नु हो।
मेरो बहिनी हरेक बिहान खुट्टा चल्छ कि भनेर जाँच गर्छिन्, तर उस्तै हुन्छ। मेरी आमा छोरीलाई दौडिरहेको सपना देख्छिन्, तर बिहान उठ्दा उस्तै अवस्थामा हुन्छ। जनक पनि हरेक बिहान आफ्नो शरीर छुन खोज्छन्, तर महसुस गर्दैनन्। उनकी आमाले त उनलाई चलिरहेको वा हिँडिरहेको देख्ने सपना देख्छिन् तर वास्तविक अवस्था उस्तै रहन्छ। नेपालीमा करिब दस हजारजना स्पाइनल कर्ड इन्जुरीका बिरामी छन्। उनका परिवारका कथाहरू पनि उस्तै छन्। नेपालमा वार्षिक ५०० देखि ७०० स्पाइनल कर्ड इन्जुरीका बिरामी थपिदैछन्। स्पाइनल कर्ड इन्जुरीको पूर्णउपचार अहिलेसम्म भेटिएको छैन, तर बिरामीहरू सधैं आशावादी हुनु आवश्यक छ। पछिल्ला अनुसन्धानहरूले नयाँ आशा देखाइरहेका छन्।
स्पाइनल इन्जुरी केवल व्यक्तिगत घटना होइन, समाज र राज्यले गम्भीर रुपमा हेर्नुपर्ने मानविय विषय हो। स्पाइनल कर्ड इन्जुरीका बिरामी र परिवार एकअर्काका मित, मितिनी हुन् जहाँ पीडा, संघर्ष र आशाले बाँधिएका सम्बन्ध हुन्छन्। यो विशाल साझा परिवार हो। सरकार र सबै क्षेत्रले यिनलाई मित भएर माया, सम्मान, उपचार र समर्थन दिनुपर्छ। जनक घर्तीमगर यस विशाल परिवारका सदस्य बनेका छन्। उनको निर्माण गरेको चलचित्र ‘मितज्यू’ स्पाइनल कर्ड इन्जुरी परिवारको कथा हो। यस परिवारका सदस्यहरूले मितज्यूलाई आफ्नै कथा सम्झेर समर्थन र सहयोग गर्नुपर्छ। आम नेपालीहरूले जनक र स्पाइनल कर्ड इन्जुरीका बिरामीहरूकै पीडामा मलम लगाउन साथ दिनुपर्छ। ह्वीलचेयरमा बसेर आज जनक घर्तीमगरले ‘मितज्यू’ निर्माण गरेका छन्, तर एक दिन जनककै संघर्षमाथि फिलिम बन्नेछ। यो कथा केवल जनकको हैन, स्पाइनल कर्ड इन्जुरी भएका दस हजार नेपालीको साझा सपना हो। मैले मेरी बहिनीलाई भनेको छु – ‘तिम्रो वर्षमा दुई जन्मदिन छन्।’ जनकका लागि म भनेको छु – ‘मंसिर २३ दुर्घटनाको दिन होइन, तिम्रो दोस्रो जीवनको जन्मदिन हो।’ नजिकको हलमा गएर ‘मितज्यू’ हेर्नुहोस्, जनकको दोस्रो जीवनको जन्मदिनका लागि अग्रिम शुभकामना व्यक्त हुनेछ।






