Skip to main content

डिजिटल युगमा बालबालिकाको मानसिक स्वास्थ्य र स्क्रिनको प्रभाव

बालबालिकामा अत्यधिक स्क्रिन प्रयोगले मानसिक स्वास्थ्य, निद्राको गुणस्तर र शारीरिक गतिविधिमा गम्भीर नकारात्मक प्रभाव पारिरहेको अध्ययनले देखाएको छ। साँझको खाना तयार छ। आमाले बच्चालाई बोलाउँछिन्। बच्चा आउँछ र बस्छ, तर उसको आँखा मोबाइलको स्क्रिनमै अडिएको हुन्छ। एक चम्चा भात मुखमा हाल्छ, फेरि स्क्रिनतर्फ फर्कन्छ। आमाबाबु पनि आफ्नो-आफ्नो फोनमा व्यस्त छन्। टेबलमा चार जना छन्, तर परिवारबीच कुराकानी धेरै हुँदैन। यो दृश्य आज धेरै नेपाली घरको यथार्थ बनेको छ। त्यसैले आजको समाजमा बाल्यकालको अनुभव पहिलेभन्दा निकै फरक भइसकेको छ। बिहान उठेदेखि राति सुत्ने बेलासम्म बालबालिकाको ध्यान स्क्रिनमै केन्द्रित देखिन्छ। मोबाइल, ट्याबलेट, टेलिभिजन र ल्यापटप उनीहरूको दैनिक जीवनको अभिन्न हिस्सा बनिसकेका छन्। धेरै घरमा खाना खुवाउन मोबाइल देखाउने, बच्चा रोएमा भिडियो लगाएर शान्त पार्ने चलन प्रचलित छ। किशोरकिशोरीहरू राति अबेरसम्म अनलाइन गेम र सामाजिक सञ्जालमा घन्टौं बिताउने प्रवृत्ति सामान्य भइसकेको छ। बच्चा बाहिरबाट शान्त देखिए पनि भित्रभित्रै उसले भावनात्मक रुपमा कसैसँग जोडिन नसकेको, केवल डिजिटल माध्यममा व्यस्त रहेको अवस्था देखिन्छ। यो बाहिरबाट सजिलो समाधानजस्तो देखिए पनि भित्रभित्रै बच्चाको ध्यान, भावना, सम्बन्ध र व्यवहारमा निरन्तर असर भइरहेका हुन्छन्।

अन्तर्राष्ट्रिय अध्ययनहरूले देखाएका छन् कि स्क्रिन समयमा र बालबालिकाको मानसिक स्वास्थ्यबीच जटिल सम्बन्ध हुन्छ। स्क्रिन र मानसिक स्वास्थ्यको दुष्चक्र विभिन्न अनुसन्धानहरूले पुष्टि गरेका छन् कि बढी स्क्रिन प्रयोगले बालबालिकामा भावनात्मक समस्याहरू बढाउन सक्छ। तर यो सम्बन्ध एकतर्फी होइन। भावनात्मक रूपमा असहज, तनावमा परेको वा एक्लोपन महसुस गर्ने बालबालिकाहरू पनि स्क्रिनतर्फ अझ बढी आकर्षित हुन्छन्। यो चक्र यसरी चल्छ– बच्चाले तनाव, डर, खालीपन वा एक्लोपन महसुस गर्छ। उससँग त्यो भावना व्यवस्थापन गर्ने क्षमता कम हुन्छ। स्क्रिनले तुरुन्तै ध्यान अर्कोतर्फ मोडिन्छ र असहजता केही समयका लागि कम हुन्छ। तर भित्रभित्रै मस्तिष्कको ‘रिवार्ड सिस्टम’ सक्रिय हुन्छ, जसले तत्काल आनन्द खोज्ने बानी स्थापना गर्छ, धैर्य र भावनात्मक सहनशीलता घट्दै जान्छ। त्यसैले बिस्तारै निद्रा बिग्रिन्छ, चिडचिडापन बढ्छ, साथीभाइ र परिवारबाट टाढिँदै जान्छ। अनि बच्चा फेरि स्क्रिनतर्फ नै फर्किन्छ। यसरी समस्याको समाधान देखिने व्यवहार नै समस्याको एक हिस्सा बन्दै जान्छ।