
जलवायु परिवर्तन र रासायनिक विषादीको अत्यधिक प्रयोगले नेपालमा माटोको गुणस्तर झर्दै गएको छ। नेपालमा प्रवेश गरेका ३० भन्दा बढी मिचाहा वनस्पतिहरूले कृषि क्षेत्रमा वार्षिक ३ अर्ब रुपैयाँभन्दा बढीको नोक्सानी गरिरहेको अनुमान छ। सल्यानको सामुदायिक वनमा १४ हेक्टर जमिन वनमारा फाँडेर पाँच हेक्टरभन्दा बढी क्षेत्रमा जडीबुटी खेती सुरु गरिएको छ। विश्व वातावरण दिवसले वातावरण संरक्षण, प्राकृतिक स्रोतहरूको दिगो उपयोग र पृथ्वीको भविष्यप्रति सचेत बनाउने मौका प्रदान गर्छ।
आजको वातावरणीय चुनौतीहरूमा जलवायु परिवर्तन, रासायनिक विषादीको बढ्दो प्रयोग, माटोको गुणस्तर ह्रास र मिचाहा वनस्पतिको फैलावट प्रमुख छन्। यी समस्याहरू एकअर्कासँग गहिरो सम्बन्धित छन्। नेपाल कृषि प्रधान देश भए पनि पछिल्ला दशकहरूमा कृषिमा धेरै परिवर्तन आएका छन्। उत्पादन बढाउन रासायनिक मल र विषादीको अधिक प्रयोग भएको छ। जलवायु परिवर्तनले मौसमी चक्र असन्तुलित बनाएको छ, जसले माटोको स्वास्थ्यमा नकारात्मक असर पारिरहेको छ।
मिचाहा वनस्पति भनेको आफ्नो प्राकृतिक क्षेत्रभन्दा बाहिर फैलने प्रजातिहरू हुन् जसले स्थानीय वनस्पति र पारिस्थितिक प्रणालीलाई हानि पु¥याउँछन्। नेपालमा ३० भन्दा बढी मिचाहा वनस्पति भित्रिएका छन् जसमा कालो तथा सेतो वनमारा, कनिके वा पाती झार (पार्थेनियम), माइकानिया, वन फाँडा वा काँडे वनमारा (लान्टाना), जलकुम्भी प्रमुख छन्। जलवायु परिवर्तनले मिचाहा वनस्पतिहरूलाई फैलिन सजिलो बनाएको छ।
विषादीको अत्यधिक प्रयोगले अप्रत्यक्ष रूपमा मिचाहा वनस्पतिको प्रकोपलाई बढावा दिन सक्छ। विषादीको प्रयोगले स्थानीय वनस्पति र सूक्ष्मजीवलाई कमजोर बनाउँदा मिचाहा वनस्पतिको फैलावट बढाउने अवसर मिल्छ। यदि आजैबाट माटो संरक्षण, जिम्मेवार विषादी प्रयोग, जैविक खेती प्रवर्द्धन र मिचाहा वनस्पति व्यवस्थापनमा ध्यान नदिइए भने भविष्यका पुस्ता गम्भीर वातावरणीय संकट भोग्नुपर्नेछ।






