Skip to main content

फिफा विश्वकप २०२६ मा ‘धनाढ्य वर्गको प्रभाव’

विश्वकप २०२६ ले आधुनिक खेलकुदलाई अब सर्वसाधारणको मनोरञ्जन मात्र नभई सम्भ्रान्त वर्गको मानसिक ताजगी खरिद गर्ने महँगो बजारको रूपमा प्रस्तुत गरेको छ। फिफा विश्वकप २०२६ को टिकट, होटल र यातायातको मूल्य इतिहासकै उच्च स्तरमा पुगेको छ। खेल संख्या वृद्धिदेखि अमेरिकी उपभोक्ताको उच्च क्रयशक्तिले विश्वकपको बजार मूल्यमा अतिवृद्धि भएको विश्लेषण गरिएको छ। अत्यधिक महँगाईका कारण सम्भ्रान्त वर्गको उपस्थितिमा वृद्धि भएको छ भने श्रमजीवी वर्गका वास्तविक खेलप्रेमीहरू रंगशाला बाहिर धकेलिने चिन्ता बढेको छ। २६ जेठ, काठमाडौं।

फिफा विश्वकप २०२६ को पूर्वसन्ध्यामा टिकट, होटल र यातायातको मूल्य इतिहासकै उच्च स्तरमा पुगेको छ। परम्परागत बजार अर्थशास्त्रले यस महँगाईलाई ४८ टोलीको नयाँ संरचना र खेल संख्या वृद्धिसँग जोड्ने गरेको भए पनि यसको भित्री रहस्य उपभोक्ता मनोविज्ञान र अमेरिकी समाजको उच्च क्रयशक्तिबीचको अन्तरसम्बन्धमा निहित छ। खेलकुद व्यवस्थापनको दृष्टिले १०४ खेल आयोजना गर्नाले माग र आपूर्तिमा असन्तुलन आएको निश्चित छ। तथापि, यस महँगाईको मुख्य चालक मानवीय मनोविज्ञान हो—विशेष गरी तनावमुक्त हुने र मानसिक ताजगी प्राप्त गर्ने तीव्र इच्छा।

व्यावसायिक व्यस्तताबाट टाढा रही मानसिक ताजगी खोज्ने मानवीय कमजोरीलाई बजारले पूँजीकरण गरेको छ। यहाँ अमेरिकाको वित्तीय यथार्थ देखिन्छ, जहाँ उच्च आर्थिक हैसियत भएको वर्गको ठूलो उपस्थिति छ। हालै टेलर स्विफ्टको ‘एरेनाज टूर’ को टिकटमा देखिएको हाहाकार वा ‘सुपर बोल’ को मूल्यमा भएको लुटपाटलाई विचार गर्दा, त्यो ट्रेन्ड यहाँ पनि दोहोरिएको छ। आजको रंगशाला खेल हेर्ने मात्र स्थान नभएर धनी मानिसहरूको सामाजिक हैसियत र ‘क्लास’ देखाउने ठूलो मञ्च बनेको छ। यी सम्भ्रान्त दर्शकहरू खेलप्रतिको वास्तविक प्रेम वा पैसनका लागि त्यहाँ पुगेका होइनन्; उनीहरू त केवल क्षणिक डोपामिनको आनन्द लिन र आफ्नो विलासी जीवनशैली देखाउन इन्स्टाग्राममा ‘पिक्चर पर्फेक्ट’ फोटो खोजीमा छन्।

यो आधुनिक सम्भ्रान्त वर्गको कहिल्यै नटर्ने सुखवादी चक्र हो, जहाँ दैनिक जीवनको बोरडम मेट्नका लागि ठूलाठूला खेलहरूलाई सामाजिक मिडियाको ट्रफीको रूपमा प्रयोग गरिन्छ। यस धनी वर्गका लागि विश्वकप केवल फुटबल प्रतियोगिता होइन, जीवनकालको एउटा विशेष उत्सव र सामाजिक प्रतिष्ठा प्रदर्शन गर्ने माध्यम बनेको छ। मनोरञ्जन र आत्मसन्तुष्टिका लागि यति खर्च गर्न सक्ने उनीहरूको मानसिकताले बजारमा तीव्र प्रतिस्पर्धा सिर्जना गरेको छ। परिणामस्वरूप, डलरको वर्षाले फुटबलको वास्तविक भावना, अर्थात् सर्वसाधारणहरूको पैशनलाई पाखा लगाएको छ। यस महँगाईले श्रमजीवी वर्गलाई रंगशाला बाहिर मात्र धकेल्दैन, यो पुस्तौँदेखि चलिआएको वास्तविक खेल-प्रेमलाई भित्रभित्रै विलीन गरिरहेको छ। साँचो फ्यान कल्चरको ठाउँ अहिले इन्टरनेटको ‘डिजिटल फ्यान बेस’ लाई मनपर्ने नक्कली, कर्पोरेट फेसनले ओगटिरहेको छ। जब बजार पूँजी र आम समर्थकको भावनाबीच संघर्ष हुन्छ, तब कर्पोरेट विलासिता विजयी हुन्छ।