नेपाल आयल निगमले गत मध्यरातदेखि लागु हुने गरी इन्धनको मूल्य घटाएसँगै सरकारले सार्वजनिक सवारी साधनको भाडा पनि समायोजन गर्ने तयारी गरेको जनाएको छ। यातायात व्यवस्था विभागका निर्देशक मणिराम भुसालका अनुसार इन्धनको मूल्यमा हुने परिवर्तनका आधारमा स्वचालित प्रणालीमार्फत भाडा दर समायोजन गरिनेछ। “त्यसैअनुसार हिसाब गर्दैछौँ, साँझसम्म सूचना आउनेछ,” भुसालले भने। उनी भन्छन् कि भाडा दर समायोजनका निम्ति १३ वटा सूचकलाई आधार बनाउने व्यवस्था गरिएको छ। “सवारी साधन खरिदमा लागेको लगानी, चालक र परिचालकलाई दिइने खर्च, मर्मत खर्च, बिमा खर्च, इन्धन खर्च, मुनाफा लगायतको हिसाब गरेर भाडा समायोजनमा त्यसको भार निर्धारण गरिन्छ,” भुसालले स्पष्ट पारे, “इन्धन मूल्य ५ प्रतिशतले घटेमा कुल खर्चमा यसको भारअनुसार समायोजन हुन्छ, र अहिले ५ प्रतिशतभन्दा बढी घटेसँगै समायोजन गर्न लागिएको हो।”
विभागले अन्तरप्रदेश सार्वजनिक यातायात र मालबाहक सवारीको भाडा समायोजन गर्दछ। यसअघि विभागले वैशाख १६ गते भाडा दर समायोजन गरेको थियो र त्यो बेला भाडा ५ प्रतिशतले वृद्धि गरिएको थियो। अमेरिका र इजरायलले इरानमाथि आक्रमण गर्दा मध्यपूर्वमा द्वन्द्व बढेको कारण इन्धनको मूल्य वृद्धि भएको र त्यसले नेपालका विभिन्न क्षेत्रमा प्रभाव पारेको थियो। विभागका निर्देशक भुसालका अनुसार उक्त समयमा भाडा ९.८ प्रतिशतले बढ्नुपर्ने अवस्था थियो। “विषम परिस्थिति र जनजीविकालाई ध्यानमा राखेर मन्त्रालयको सहमतिमा त्यो बेला भाडा ५ प्रतिशत मात्रै बढाइएको थियो, जसले गर्दा अब समायोजन गर्दा सो भन्दा बढी कमी पनि नआउने सम्भावना छ,” उनले भने, “हिसाब गर्दै छौं, साँझसम्म सूचना जारी गरिनेछ।”
इन्धनको मूल्य स्थिर हुने संकेतपछि त्यस सम्बन्धमा निर्णय हुने उनको भनाइ छ। “मध्यपूर्वको द्वन्द्वले इन्धन मूल्यमा प्रभाव पारिरहेको छैन भन्न सकिन्न र अझै पनि अन्योल जारी छ,” उनले उल्लेख गरे, “त्यसैले अब मूल्यमा धेरै हेरफेर नहुने र करिब स्थिर रहने अनुमान छ, जसअनुसार समय सापेक्ष भाडा समायोजन हुनेछ।” कतिपयले अन्तर्राष्ट्रिय मूल्यअनुसार इन्धनको मूल्य नेपाल आयल निगमले समायोजन नगरेको प्रति असन्तुष्टि जनाइरहेका छन्। निगमका उपनिर्देशक तथा सूचना अधिकारी सुदनप्रसाद ढुङ्गानाले खरिद मूल्यको आधारमा मात्र मूल्य घटाइएको जानकारी दिएका छन्।
हवाई भाडा पनि घट्ने अपेक्षा गरिएको छ। हवाई इन्धनको मूल्य प्रति लिटर ४० रुपैयाँले घटेको कारण भाडा कटौती हुनसक्ने अनुमान गरिएको छ। तर वायुसेवा सञ्चालक सङ्घका महासचिव मुरलीधर जोशीले यसअघि नै भाडा समायोजन भइसकेको बताएका छन्। “इन्धन र भाडाको आधारमा कूल भाडा निर्धारण हुन्छ र त्यो स्वचालित रूपमा समायोजन हुने प्रक्रिया हो,” उनले भने।

