चोकर नेकलेसको इतिहास कम्तीमा ४५०० वर्ष पुरानो छ र यसको सुरुवात प्राचीन सुमेरियन सभ्यताबाट भएको मानिन्छ। महिलाहरूलाई गहना लगाउन सधैं मनपर्छ। विवाह समारोह, रिसेप्सन, तीज, दशैं वा कुनै विशेष अवसरमा धेरै महिलाहरूको घाँटीमा चोकर नेकलेस सजिएको देख्न पाइन्छ। अहिले सारी, लेहंगा, कुर्ता, गाउनदेखि वेस्टर्न पहिरनसम्म चोकरलाई सहजै स्टाइल गरिन्छ। फेसन डिजाइनरहरूले यसलाई परम्परा र आधुनिकताबीचको सुन्दर मेलको रूपमा प्रस्तुत गरिरहेका छन्। तर कतिपयलाई लाग्न सक्छ कि चोकर केही वर्षयता मात्रै आएको नयाँ फेसन हो। वास्तवमा यस्ता कुराहरु होइनन्। चोकरको इतिहास हजारौं वर्ष पुरानो छ। समयसँगै यसको डिजाइन, बनावट र प्रयोग गर्ने शैली परिवर्तन हुँदै आएको छ, तर यसको आकर्षण कहिल्यै कम गरिएको छैन। आज जुन चोकरलाई फेसन स्टेटमेन्ट मानिन्छ, पहिले यसलाई शक्ति, प्रतिष्ठा, सुरक्षा, आध्यात्मिक विश्वास र सामाजिक पहिचानको प्रतीक मानिन्थ्यो। त्यसैले चोकर केवल एउटा गहना मात्र होइन, मानव सभ्यताको इतिहाससँग जोडिएको सांस्कृतिक धरोहर पनि हो।
इतिहासकारहरूको अनुसार चोकरको सुरुवात कम्तीमा ईसा पूर्व २५००–३००० वर्षअघि प्राचीन सुमेरियन सभ्यतामा भएको मानिन्छ। केही पुरातात्त्विक प्रमाणहरूले यस भन्दा पुरानो समयदेखि घाँटीमा टाँसिने गहनाको प्रयोग भएको सङ्केत गर्छन्। त्यतिबेला सुनारहरूले सुन, चाँदी साथै ल्यापिस लाजुली, कार्नेलियन, अगेट जस्ता बहुमूल्य पत्थर प्रयोग गरी घाँटीमा टाँसिने हार बनाउँथे। यस्ता गहना विशेषगरी राजपरिवार, धर्मगुरु तथा उच्च वर्गका व्यक्तिले लगाउने गर्थे। यसले उनीहरूको सामाजिक प्रतिष्ठा, सम्पत्ति र शक्ति झल्काउँथ्यो। प्राचीन मिस्रदेखि ग्रीससम्म लोकप्रिय सुमेरियन सभ्यताको पछि प्राचीन मिश्रमा पनि चोकरको प्रयोग व्यापक भयो। मिश्रमा फिरौन, रानी र उच्च पदस्थ व्यक्तिहरूले सुनका चौडा चोकर लगाउने गर्थे। त्यस्ता चोकरमा रंगीन पत्थरहरू, फिरोजा, पन्ना र सुनका कलात्मक टुक्रा जोडिन्थ्यो। त्यो समयमा मानिसहरूका बीच केही गहनाले दुष्ट शक्ति, रोग र अशुभ प्रभावबाट जोगाउने विश्वास थियो। त्यसैले चोकर केवल सौन्दर्यका लागि मात्र होइन, आध्यात्मिक सुरक्षा र धार्मिक आस्थाको प्रतीकको रूपमा पनि प्रयोग हुने गर्थ्यो।






