Skip to main content

सडक सुविधाले गाउँ फर्किन थालेका स्थानीय बासिन्दाहरू

समाचार सारांश तमोर करिडोर निर्माण भएपछि धनकुटाका दुर्गम बस्तीहरूमा सडक पहुँच पुगेपछि त्यहाँबाट विस्थापित भएका स्थानीयहरू आफ्नै गाउँ फर्किन थालेका छन्। सडकले कृषि उत्पादनको बजार सुनिश्चित गर्दा फलामेटार क्षेत्रका महेन्द्र न्यौपाने लगायतका किसानहरूले व्यावसायिक फलफूल खेतीमा पूँजी लगानी बढाएका छन्। चौबिसे गाउँपालिकाका अध्यक्ष राजकुमार चेम्जोङका अनुसार सडकसँगै विद्युत् र सञ्चार सेवाको विस्तारले गर्दा गाउँ छोडेका परिवारहरू पुनः गाउँ फर्किन थालेका छन्। ४ साउन, धनकुटा।

पहिले फलामेटार पुग्न चार-पाँच घण्टा उकालो ओरालो हिँड्नुपर्ने हुन्थ्यो। बिरामी परे डोकोमा बोकेर अस्पताल पुर्‍याउनुपर्ने बाध्यता थियो। गाउँमा फलफूल फल्थ्यो, तर बजारसम्म नपुग्दा फल कुहिन्थ्यो। यस्तो कारणले धेरैले आफ्नो पुर्ख्यौली गाउँ छाडे। कोही सदरमुकाम तिर गएका, कोही शहर भित्रिएका थिए। तर अहिले त्यही गाउँमा फेरि चहलपहल सुरु भएको छ। यो परिवर्तनको मुख्य आधार बनेको छ– सडक।

धनकुटाका पहाडी क्षेत्रका दुर्गम बस्तीहरूमा सडक पुगेपछि वर्षौँ अघि बसाइँ सरेका परिवारहरू आफ्नै गाउँ फर्कन थालेका छन्। चौबिसे गाउँपालिका–४ फलामेटारका महेन्द्र न्यौपाने त्यही परिवर्तनका जीवंत उदाहरण हुन्। करिब दुई दशकअघि वैदेशिक रोजगारीबाट फर्केपछि गाउँमै केही गर्ने सपना देखेका उनी सडक, बजार तथा आधारभूत सेवाको अभावले धनकुटा सदरमुकाममा बसाइँ सर्न बाध्य थिए। तर तमोर करिडोर बन्नासाथ उनको सोच परिवर्तन भयो। आजकाल उनी आधा समय गाउँमा र आधा समय सदरमुकाममा बिताउँछन्।

गाउँ फर्केपछि करिब ३० रोपनी जग्गामा आँप, एभोकाडो, सुपारी, सजिवन लगायत विविध फलफूलको व्यावसायिक खेती विस्तार गरेका छन्। ‘पहिले फलफूल बेच्ने बाटो थिएन,’ उनले भन्नुभयो, ‘अहिले व्यापारीहरू सिधै बगैँचामा आइपुग्छन्। चाहे सदरमुकाम होस् या धरान–इटहरी, बेच्न सजिलो भएको छ। मल, बीउ र अन्य सामग्री ल्याउन पनि समस्या छैन।’ उनका अनुभवले सडकले कृषिमा ल्याएको परिवर्तन स्पष्ट देखाउँछ।

फालामेटार धनकुटाका सबैभन्दा दुर्गम बस्तीहरूमध्ये एक मानिन्थ्यो। वर्षायाममा गाउँ बाहिरी संसारसँग लगभग कटिन्थ्यो। तर अहिले सडकसँगै विद्युत्, खानेपानी, सञ्चार र यातायात सेवा विस्तार भएको छ। यसले स्थानीय उत्पादन सहजै बजारसम्म पुर्‍याएको छ भने दैनिक आवश्यक सामग्री गाउँमै उपलब्ध हुन थालेका छन्। यस्तै परिवर्तनले स्मृति लिम्बूको परिवारलाई पनि गाउँ फर्काएको छ। सुविधाको अभावले २०७८ सालमा गाउँ छाडेको उनको परिवार केही वर्षपछि फेरि आफ्नै गाउँ फर्किएको छ।

‘पहिले धेरै असुविधा थियो। बिरामी पर्दा झन् ठूलो समस्या हुन्थ्यो,’ लिम्बूले भनिन्, ‘अहिले सडकले सामग्री ल्याउन सजिलो भयो। शिक्षा, स्वास्थ्य र व्यापार सबैमा सजिलो भएको छ। त्यसैले फेरि गाउँ फर्कियौं।’ फलामेटार मात्र होइन, तमोर करिडोर अन्तर्गत पर्ने सदामटार, हंसमोरङ र भैंसेटारजस्ता क्षेत्रहरूमा पनि बसाइँ सरेका परिवारहरू फर्किन थालेका छन्।

स्थानीय विनोद भण्डारीका अनुसार फलामेटारबाट मात्र नभई अन्य क्षेत्रहरूबाट पनि केही परिवारहरू गाउँ फर्किएका छन्। फर्किएकामध्ये केहि किसानले कृषि सुरु गरेका छन्, केहीले होटल तथा पसल संचालन गरेका छन् भने कतिपयले पुराना घर मर्मत गरेर स्थायी बसोबास थालेका छन्। ‘पहिला गाडी चढ्नका लागि चार-पाँच घण्टा हिँड्नुपर्थ्यो,’ भण्डारी सम्झन्छन्, ‘उत्पादन बेच्न सकिँदैनथ्यो। अहिले गाडी सिधै गाउँमै आउँछ र सामान पनि त्यहीं आइपुग्छ। जीवन धेरै सहज भएको छ।’

सडकसँगै बाँझिएका खेतबारी फेरि हरियाली हुन थालेका छन्। उत्पादन बजारसम्म पुग्ने निश्चित भएर कृषिमा पूँजी लगानी गर्ने किसानको संख्या बढ्दै गएको उनीहरू बताउँछन्। चौबिसे गाउँपालिकाका अध्यक्ष राजकुमार चेम्जोङका अनुसार पछिल्ला केही वर्षमा सडक सञ्जाल विस्तारसँगै धनकुटाका सातै स्थानीय तहमा गाउँ फर्किने क्रममा वृद्धि आएको छ।

उनको भनाइमा, सडकसँगै गाउँ–गाउँमा विद्युत्, खानेपानी, इन्टरनेट र टेलिफोन सेवा पुगेको छ। गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवा, कृषि बजार र स्थानीय रोजगारीका अवसर विस्तार गरेमा बसाइँसराइलाई अझ प्रभावकारी रूपमा रोक्न सकिने विश्वास छ। धनकुटाका पहाडी क्षेत्रहरूमा सडकले मात्र यातायात सुविधा नभएर गाउँ छोडेका मानिसहरूलाई आफ्नै माटोसँग जोडिन मानिसहरूमा आत्मविश्वास पनि दिलाएको छ। एक समय सुनसान बन्दै गरेका बस्तीहरूमा फेरि बालबालिकाको हासो सुनिन थालेको छ, खेतबारी हराभरा देखिन थालेका छन् र गाउँलेहरूले भविष्य खोज्न सहर होइन, आफ्नै गाउँ तर्फ फर्किन थालेका छन्। यस्तो परिवर्तनले देखाउँछ कि कहिलेकाहीं एउटा सडकले केवल दुई ठाउँ मात्र होइन, कटेको सम्बन्ध पनि जोडिदिन्छ।