Skip to main content

एलपी ग्यासको आयात यथावत् तर आधा सिलिन्डर बेच्ने अवस्था आउनुमा निगमका तर्क यस्ता

निगमले आधा सिलिन्डर ग्यास बिक्री गर्न थालेपछि शुक्रवार टेकु पुगेका उपभोक्ता

तस्बिर स्रोत, Nepal Photo Library

तस्बिरको क्याप्शन, बजारमा आधा सिलिन्डर ग्यास उपलब्ध हुने नेपाल आयल निगमले जनाएको छ

उपभोक्ताहरूले बजारमा एलपी ग्यास अर्थात् खाना पकाउने ग्यास सहज रूपमा नपाइएको गुनासो गरेका भए पनि नेपाल आयल निगमले भारतबाट नियमित रूपमा आयात हुँदै आएको परिमाणमा नघटेको जनाएको छ।

मध्यपूर्व क्षेत्रमा भइरहेको युद्धका कारणले विश्वभरि पेट्रोलियम पदार्थ र ग्यासको आपूर्तिमा असर पुगेको छ। नेपालमा पनि उपभोक्ताहरूले आवश्यकताभन्दा बढी ग्यास भण्डारण गर्न थालेपछि शुक्रवारदेखि आधा सिलिन्डर ग्यास बिक्री गर्ने निर्णय गर्नुपरेको नेपाल आयल निगमका अधिकारीहरूले बताएका छन्।

“हामीले माग गरेअनुसार ग्यासको लोडिङ भइरहेको छ र आइरहेको छ,” निगमका प्रवक्ता मनोज ठाकुरले बीबीसीसँग भने, “तर मध्यपूर्वमा बढेको तनावका कारण उपभोक्ताले आवश्यकताभन्दा बढी ग्यास भण्डारण गर्न थालेपछि बजारमा अभाव देखिन थाल्यो। तत्काल खाँचो परेका उपभोक्ताहरूले समयमै नपाएको गुनासो गरेपछि त्यसलाई समाधान गर्न यस्तो निर्णय गरिएको हो।”

ग्यास विक्रेता महासङ्घका अध्यक्ष ज्ञानेश्वर अर्यालका अनुसार धेरै सिलिन्डर भएका उपभोक्ताभन्दा पनि भण्डारण गर्ने प्रवृत्ति बढ्दा एउटा मात्र सिलिन्डर भएका उपभोक्ता बढी मर्कामा पर्ने गरेका छन्।

“कसैसँग सातवटा सिलिन्डर छन्, कसैसँग पाँचवटा भने कसैसँग दुइटा वा एउटा मात्र छन्। अब अभाव हुन्छ भन्नेबित्तिकै पाँच वटा भएकाले पाँच वटै भर्न लगे, दुइटा भएकाले दुइटै भर्न लगे। तर एउटा मात्र हुनेको ग्यास सकिएपछि बजार जाँदा उसले ग्यास पाउन सकेन।”

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ