इरानका क्लस्टर बम प्रहारले इजरायली सहरहरू तबाह, तेहरानमा इजरायलको जवाफि आक्रमण
९ चैत, काठमाडौं । इरानले आइतबार राति इजरायलका धेरै सहरहरूमा क्लस्टर बम प्रहार गरेको छ।
अमेरिका-इजरायल र इरानबीच जारी युद्धको २४ औं दिनमा, आइतबार राति इरानले इजरायलको राजधानी तेल अवीवसहित विभिन्न सहरहरूमा क्लस्टर बम प्रहार गरेको हो।
यस आक्रमणमा करिब १५ जना घाइते भएका छन्, जसमा एकको अवस्था गम्भीर छ। साथै, धेरै घर तथा सडकहरूमा पनि क्षति पुगेको छ।
लगेत्तै, सोमबार इजरायलले इरानको राजधानी तेहरानमा क्षेप्यास्त्र प्रहार गरेको छ।
यसैबीच, अमेरिकाका लागि इजरायली राजदूत येचिएल लिटरले इरानलाई ‘घुँडा नटेकाएसम्म’ इजरायलले आफ्नो सैन्य कारबाही निरन्तर जारी राख्ने बताएका छन्। उनले भने, ‘इजरायल अब आफूमाथि लगातार आक्रमण गरिरहेको देशसँग सहअस्तित्व गर्न सक्दैन।’
अर्कोतर्फ, इरानी राष्ट्रपति मसुद पेजेस्कियनले कुनै पनि आक्रमणको जवाफ मैदानमै दिने घोषणा गरेका छन्। उनले इरानका आणविक केन्द्रहरूलाई निशाना बनाइएमा होर्मुज स्ट्रेट बन्द गर्ने चेतावनी दिएका छन्, जसले विश्वव्यापी तेल आपूर्तिमा ठूलो प्रभाव पार्नेछ।
यसैबीच, एक्सियोस न्युजमा प्रकाशित एक समाचार अनुसार, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टोली इरानसँग युद्धविराममा वार्ता गर्न चाहन्छ। यसमा ट्रम्पका सल्लाहकार जारेड कुस्नर र स्टिभ विटकफ समेत सक्रिय रहेका छन्।
तर इरानले वार्ताका लागि युद्ध रोक्नुपर्ने र उसले भोगेको क्षतिको क्षतिपूर्ति दिनुपर्ने सर्त रखेको छ। साथै, भविष्यमा थप आक्रमण नहुने स्पष्ट ग्यारेन्टी पनि मागेको छ।
अर्कोतर्फ, ट्रम्पले अहिलेसम्म इरानका सबै सर्तहरू स्वीकार गर्न तयार नभएको बताउँदै विशेषगरी क्षतिपूर्तिको मागप्रति असहमति जनाएका छन्। अमेरिका र इरानबीच प्रत्यक्ष वार्ता भईरहेको छैन, तर इजिप्ट, कतार र बेलायत जस्ता राष्ट्रहरूले मध्यस्थकारी भूमिका निर्वाह गरिरहेका छन्।
अमेरिका चाहन्छ कि इरानले आफ्नो क्षेप्यास्त्र कार्यक्रम केही समयका लागि स्थगित गरोस्, युरेनियम प्रवर्धन रोकोस् र आफ्ना आणविक केन्द्रहरू पनि बन्द गरोस्। यसबाहेक, इरानले हिजबुल्लाह र हमासलाई वित्तीय सहायता बन्द गरोस् भन्ने ट्रम्पको शर्त पनि छ।