
संसदीय दलको नेता चयन प्रक्रिया अघि बढाउन कांग्रेस तयार
नेपाली कांग्रेसले प्रतिनिधिसभाको सभामुख चयनपछि मात्र संसदीय दलको नेता चयन प्रक्रिया अघि बढाउने तयारी गरेको छ। सभामुख चयन भएपछि कांग्रेसले संसदीय दलको नेता चयनका लागि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएर निर्वाचन समिति गठन गर्नेछ। प्रतिनिधिसभा निर्वाचनपछि कांग्रेसमा संसदीय दलको नेता चयनका लागि मतदान प्रक्रिया अपनाउने सम्भावना बढेको छ। १९ चैत, काठमाडौं। नवगठित प्रतिनिधिसभाले सभामुख चयन गरिसकेपछि मात्र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदीय दलको नेता टुंग्याउने भएको छ। पार्टीबाट निर्वाचित प्रतिनिधिसभाका जेष्ठ सदस्य अर्जुननरसिंह केसी हाल जेष्ठ सदस्यको भूमिका निर्वाह गर्दै हुनुहुँदा कांग्रेसले ढिलो गरी दलको नेता चयन गर्ने भएको हो।
कांग्रेसका समानुपातिक सांसद केसीले यस पदको आकांक्षा राखेपछि सभामुखको चयनपछि मात्र संसदीय दलको नेता चयनबारे प्रक्रिया अघि बढाउने कांग्रेसको तयारी छ। कांग्रेसको एक उच्च नेताले सभामुखको निर्वाचनपछि मात्रै संसदीय दलको नेता चयनबारे छलफल अघि बढाउने जानकारी दिनुभयो। ‘अर्जुननरसिंह दाइले इच्छा देखाइरहनुभएको छ। अहिले उहाँ सभा सञ्चालन गर्ने भूमिकामा हुनुहुन्छ,’ ती नेताले भने, ‘सभामुख चयनपछि जेष्ठ सदस्यको हैसियतमा उहाँले संसद सञ्चालन गर्नु पर्दैन। त्यसपछि मात्र हाम्रो छलफल अगाडि बढ्नेछ।’
प्रतिनिधिसभाका सभामुखको निर्वाचन २२ चैतका लागि तोकिएको छ। निर्वाचनका लागि मनोनयन दर्ता २० चैतमा हुनेछ। २२ चैतमा निर्वाचन भइरहँदा सभामुख पदबहाली पछि कांग्रेस सांसद केसीले जेष्ठ सदस्यको भूमिका सक्नेछन्। कांग्रेस स्रोत अनुसार पार्टीले २३ चैतपछि मात्र संसदीय दलको नेता चयन गर्ने सम्भावना छ। कांग्रेस महामन्त्री गुरूराज घिमिरेले दलको नेता चयनका लागि निर्वाचन समिति बनाउन केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाइएको जानकारी दिनुभयो। उहाँका अनुसार आगामी शनिबार बस्ने केन्द्रीय कार्यसम्पादन समितिको बैठकले निर्वाचन समिति चयन गर्नेछ। ‘कार्यसम्पादन समितिको बैठक बसेपछि निर्वाचन समिति गठन हुनेछ र त्यसले प्रक्रिया अगाडि बढाउनेछ,’ महामन्त्री घिमिरेले भन्नुभयो, ‘शनिबारका लागि कार्यसम्पादन समिति बैठक बोलाइएको छ।’