
एमालेका सक्रिय युवाहरूले असमयिक कम्युनिस्ट एकता बहसलाई दुराशयपूर्ण ठहराया
५ वैशाख, काठमाडौं। नेकपा एमालेमा विशेष महाधिवेशनको पक्षमा आवाज उठाउने युवा नेताहरूले पार्टीभित्र भइरहेको रूपान्तरण प्रयासलाई बेवास्ता गर्दै कम्युनिस्ट एकताको असमयिक बहस शुरू गरिएको टिप्पणी गरेका छन्। केही समयदेखि एमाले विशेष महाधिवेशनको माग गर्दै सक्रिय रहेका १० जना युवा नेताहरूले शनिबार एक वक्तव्य जारी गर्दै पार्टीको रूपान्तरण र पुनर्गठन आयोजनालाई यस बहसले छायामा पार्न नदिने प्रतिबद्धता व्यक्त गरेका छन्।
“नेतृत्वका गलतिहरूलाई ढाकछोप गर्न र मूल एजेन्डाबाट ध्यान हटाउन असमयिक कम्युनिस्ट एकताको बहस चलाइएको छ,” वक्तव्यमा उल्लेख गरिएको छ, “यसले पार्टीलाई अझै रक्षात्मक बनाउने मात्र छ। यस्तो प्रयासले पार्टीभित्रका मुख्य समस्या, कार्यशैली र संगठनात्मक कमजोरीहरू समाधान गर्न सक्दैन।”
फागुन २१ को निर्वाचनमा पार्टीले व्यहोरेको पराजय केवल प्राविधिक मात्र नभई पार्टीको नीति, कार्यशैली र नेतृत्वप्रति जनताको गहिरो अविश्वास र प्रश्नको प्रतिबिम्ब रहेको उनीहरूले प्रष्ट पारेका छन्।
“हाल आम कार्यकर्ता र युवा वर्गले पार्टीको समग्र रूपान्तरण, पुनर्गठन र पुनर्जागरणको अपेक्षा गरिरहेका छन्,” वक्तव्यमा भनिएको छ। “हामी कुनै पनि असमयिक र दुराशयपूर्ण पार्टी एकीकरण प्रयासप्रति असहमत छौँ र यस्ता गतिविधिहरूको कडा विरोध गर्दछौँ।”
“हामी पार्टी नेतृत्वलाई रूपान्तरण, पुनर्गठन र पुनर्जागरणको मागलाई गम्भीररूपमा लिन र केन्द्रीय कमिटीमार्फत तुरुन्त सम्बोधन गर्न आग्रह गर्दछौँ।” पार्टीलाई समयमा अनुकूल रूपान्तरण, पुनर्गठन र पुनर्जागरणको अभियान निरन्तरता दिने प्रतिबद्धता उनीहरूले व्यक्त गरेका छन्।