
आज उनी यस पृथ्वीमा छैनन्, तर नेपालमा आधुनिक शल्यचिकित्साको आधारशिला निर्माण गर्ने उनको साहस, संघर्ष र समर्पण चिकित्सा इतिहासमा सदैव उज्यालो भएर रहनेछ। डा. दिनेशनाथ गोंगलले नेपालमा पहिलो पटक न्युरो सर्जरी सुरु गरी आधुनिक शल्यचिकित्साको आधारशिला तयार पारे। डाक्टर गोंगलले ४० हजारभन्दा बढी शल्यक्रिया गरी वीर अस्पतालमा न्युरो सर्जरी विभाग स्थापना गर्न महत्वपूर्ण भूमिका निर्वाह गरे। उनले डा. उपेन्द्र देवकोटालाई बेलायत पठाएर न्युरो सर्जरीमा दक्ष जनशक्ति उत्पादन गर्न सहयोग पुर्याए। वीर अस्पतालको पाँचौं तल्लामा एउटा अपरेशन थिएटर छ, जसको नाम छ– गोंगल थिएटर। न्युरो सर्जरी हुने यो कक्षको नाम किन कुनै व्यक्तिको नाममा राखियो ? यसै प्रश्नले नेपालमा न्युरो सर्जरीको इतिहासको खोजी सुरु हुन्छ।
वीर अस्पतालका न्युरोसर्जरी प्रमुख डा. राजीव झा भन्छन्, ‘हरेक बिहान जब अपरेशन थिएटरमा प्रवेश गर्छौं, ढोकामा लेखिएको उहाँको नामले हामीलाई सम्झाइरहन्छ। न्युरो सर्जरीमा जे सिक्यौं, त्यो उहाँको जगमा उभिएको हो।’ नेपालमा पहिलो पटक टाउको खोल्ने डाक्टर जब नेपालमा न सिटी स्क्यान थियो, न आधुनिक उपकरण, त्यस बेला डा. गोंगलले नै जोखिम उठाएर बिरामीको टाउको खोल्नुभयो। कठिन परिस्थितिमा पनि उनले जटिल शल्यक्रियाको अभ्यास सुरु गर्नुभयो। त्यो साहसिक निर्णयले नेपालमा न्युरो सर्जरीको आधार तयार भयो। वि.सं. २०१८ मा सडक दुर्घटनाग्रस्त एक बिरामीको टाउको खोलेर डा. गोंगलले शल्यक्रिया गर्नुभयो। त्यो नेपालमा गरिएको पहिलो न्युरो सर्जरी थियो।
तर त्यो अपरेशन सफल भएन र बिरामीलाई बचाउन सकिएन। पहिलो प्रयास असफल भए पनि उनी हिम्मत हार्नुभएन। एक वर्षपछि, वि.सं. २०१९ मा उनले ब्रेन ट्युमरको शल्यक्रिया गर्यो। त्यो अपरेशन सफल रह्यो। तर जोखिम यस्तो थियो कि ४८ घन्टा बिरामीको उपचार आफैंले गर्नु परेको थियो। किनभने अस्पतालमा भरपर्दो उपकरण थिएन, न आईसीयू, न पर्याप्त नर्सिङ निगरानी। डा. झाका अनुसार डा. गोंगलले नेपालमा पहिलोपटक पिट्यूटरी ग्रन्थिको ट्युमरको अपरेशन गरेका थिए। ‘आजका प्रविधि केही थिएन,’ झा सम्झन्छन्, ‘तर उहाँको साहस र दक्षताले गरेको अपरेशन अहिले सोच्दा पनि अविश्वसनीय छ।’






