
१० वैशाख, इलाम । २०५० सालमा हरिबहादुर तामाङले पसल सुरु गर्दा इलामको फिक्कल बजार अहिले जस्तो भीडभाड थिएन। साँघुरो सडक, सानो बस्ती र साना घरहरु थिए। उनले भने, ‘गाउँमा सडक थिएनन्। बजारमा खाजा पसल कम थिए। हिँडेर आउनेहरु मेरो पसलमै खाजा र खाना खान्थे।’ उहाँ सूर्योदय नगरपालिका–१० स्थित फिक्कल बजारमा तीन दशकदेखि मिठाई पसल निरन्तर सञ्चालन गर्दै आउनुभएको छ। स्वदेशमै मेहनत गरि मिठाई बेचेर खुसी कमाइरहनुभएको उहाँ बताउनुहुन्छ। बिहानदेखि ०५८ सालसम्म उहाँको व्यापार फस्टायो। सोही अवधिमा तराईमा घर किनियो। फिक्कल नजिकै नयाँचोकमा तीन ठाउँ जमिन पनि जोडी। दुई छोरीलाई पढाएर अमेरिका र अस्ट्रेलिया पठाउन सफल हुनुभयो। कान्छी छोरीलाई काठमाडौँमै राखेर चार्टर एकाउन्टेन्ड र बिएबीएस पढाउने खर्च पनि यो पसलले चलाइरहेको छ। ‘झापाको विर्तामोडमा जोडेको घर, नयाँचोकमा जमिनहरु सबै त्यतिबेलाको व्यापारले सम्भव भयो’, उहाँले भन्नुभयो, ‘०५० सालमा फिक्कल आएर २२ हजार लगानीमा पसल सुरु गरेँ। महिनाको २०० भाडा तिर्नुपथ्र्यो। पाँच रुपैयाँमा पेट भर्ने खाजा बेच्दा पनि पैसा कमाइयो। छोरीहरुलाई स्थिरता दिएको छु। मिठाई बेचेर खुसी कमाएको छु।’ अहिले पनि उहाँको पसल (जनता मिष्ठान्न भण्डार) चलिरहेको छ, तर त्यो बेला जस्तो नाफा छैन। तामाङ भन्छन्, ‘महँगी बढेको छ। सामान किन्ने क्रममा छु। मान्छे आइरहेका छन्, तर प्रतिस्पर्धा धेरै छ। पसल धेरै छन्। तथापि ६०–७० हजार बचत गर्न सक्छु।’ उनले आफ्नो इमानदार सोच र निरन्तर श्रमले तीन छोरीको उज्ज्वल भविष्य बनाएको बताए। ‘जेठी छोरीलाई काठमाडौँमा नर्सिङ पढाएर अमेरिका पठाएँ, मध्यकी छोरी अस्ट्रेलियामा छिन् र कान्छी काठमाडौँमै चार्टर एकाउन्टेन्ड र बिएबीएस पढ्दैछिन्। मलाई सन्तोष छ’, उनले भावुक हुँदै भने। छोरीहरूको पढाइका लागि उनले बिर्तामोडमा बनाएको घर नै बिक्री गरेको पनि बताए। समयसँगै व्यापारको स्वरूप परिवर्तन भयो। पहिले फिक्कलस्थित पशुपतिनगर स्टेनस्थित पसल फिक्कल बजारको इलाम स्टेन मुनि सरेको २० वर्ष भयो। खाजाको मूल्य पाँच रुपैयाँबाट बढेर १५० पुगेको छ। समोसा, सेलरोटी, पुरीदेखि लड्डु, खुर्मा, रसबरी, जेरी र भुजिया लगायतका परिकार पाइने पसलमा अहिले दुई जना कर्मचारी छन्। उनले भने, ‘प्रतिस्पर्धा धेरै बढेको छ, ग्राहकको बानी फेरिएको छ। अहिले जाँडरक्सी बेच्ने धेरै छन्, तर मैले कहिल्यै मदिरा, सुर्ती, चुरोट बेचिनँ।’ २०४२ तिर उनी झापाको काँकडभिट्टामा रिक्सा चलाउँथे। छ सय मजदुरको विश्वास जित्दै रिक्सा सङ्घको कोषाध्यक्ष बनेका थिए। केही समय होटलमा पनि काम गरेर मिठाई पसल सुरु गरेको बताए। अहिले पनि आफ्नो पसलमै व्यस्त छन्। उमेर ढल्कँदै गए पनि कामप्रतिको लगाव उस्तै छ। ‘काम नगरी हुँदैन, तर अहिलेका केटाकेटीले यस्ता मेहनत गर्न चाहँदैनन्’, उहाँ बताउनुहुन्छ। ऐतिहासिक गोर्खे बजार त्यो बेलाको व्यापारिक केन्द्र थियो। त्यहाँबाट सामान किनमेल गर्न भारी बोकेर आउजाउ गर्नुपर्थ्यो। ‘बिहानै भारी बोकेर फिक्कल हिँडिन्थ्यो। हामी हरिको मिठाई पसलमा पुगेर खाजा खाने भन्दै जान्थ्यौं। यी मानिस पुराना हुन्। अहिले पनि त्यसैगरी व्यापार गर्छन्’, गोर्खेका ७६ वर्षीय वीरबहादुर राईले सुनाए, ‘अहिले पनि फिक्कल जाँदा हरिको पसलमा समोसा नखाई फर्किंदिनँ।’






