
नयाँ अनुसन्धानले देखाएको छ कि अक्सिजनको उपलब्धता कीराहरूको विशाल आकार निर्धारण गर्ने मुख्य कारण होइन। कीराहरूको उड्ने मांसपेशीमा अक्सिजन ल्याउने नलीहरूले कुल मांसपेशीको केवल १ प्रतिशत भाग ओगटेको पाइएको छ। अक्सिजनको भूमिका गौण भएपछि वैज्ञानिकहरूले प्राचीन कीराहरूको विशाल आकारको रहस्य बुझ्न अन्य सम्भावनामा ध्यान दिन थालेका छन्। १३ वैशाख, काठमाडौं।
लगभग ३० करोड वर्षअघिदेखि पृथ्वीमा आजभन्दा धेरै विशाल कीराहरू पाइन्थे। त्यतिबेला ‘ड्र्यागनफ्लाई’जस्ता कीराहरूका पखेटा २७ इन्चसम्म फैलिन्थे। दशकीय युगभरि वैज्ञानिकहरूमा यो विश्वास थियो कि त्यो समयको वायुमण्डलमा अक्सिजनको मात्रा हालको भन्दा ४५ प्रतिशत बढी भएको कारण यी कीराहरू विशाल हुन सके। तर हालै ‘नेचर’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले यो विश्वासलाई चुनौती दिएको छ।
अक्सिजन र श्वासप्रश्वास प्रणालीको नयाँ विश्लेषणले देखाएको छ कि कीराहरूको श्वासप्रश्वास प्रणाली हाम्रो फोक्सो जस्तो हुँदैन, उनीहरूको शरीरभरि फैलिएका साना नलीहरूले (ट्राकियल सिस्टम) अक्सिजन पु¥याउँछन्। प्रिटोरिया विश्वविद्यालयका सहप्राध्यापक एडवर्ड स्नेलिङको नेतृत्वमा गरिएको अनुसन्धानले कीराहरूको उड्ने मांसपेशीमा अक्सिजन पुर्याउने नलीहरूले कुल मांसपेशीको केवल १ प्रतिशत वा त्योभन्दा कम भाग ओगटेको देखाएको छ।
यसले प्रमाणित गर्छ कि अक्सिजनको उपलब्धता कीराहरूको आकार निर्धारण गर्ने मुख्य कारण होइन। विशाल आकारको रहस्य अझै खुल्न बाँकी छ। अक्सिजनको भूमिका गौण भएपछि वैज्ञानिकहरूले अन्य सम्भावनामा ध्यान दिन थालेका छन्। केही वैज्ञानिकहरूले भर्खर उदाएका शिकारी जनावरहरू वा कीराहरूको बाहिरी कङ्कालको भौतिक सिमानाका कारण उनीहरूको आकार घटेको हुन सक्ने अनुमान लगाएका छन्। तिनीहरूको ‘दानव’ आकारको वास्तविक रहस्य अझै पत्ता लगाउन धेरै अनुसन्धान आवश्यक छ। (स्रोत: साइन्स डेली)






