Skip to main content

राष्ट्रपतिले ७ वटा अध्यादेश जारी गर्नुभयाे, एउटा पुनर्विचारका लागि फिर्ता पठाउनुभयो

समाचार सारांश राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा रहेका ८ मध्ये ७ वटा अध्यादेश जारी गर्नुभएको छ। संवैधानिक परिषद् सम्बन्धी अध्यादेश पुनर्विचारका लागि प्रधानमन्त्री कार्यालयमा फिर्ता पठाउनुभएको छ। विगत ४ दिनमा सार्वजनिक खरिद, सहकारी, मनी लाउण्डरिङ, स्वास्थ्य विज्ञान प्रतिष्ठान, सार्वजनिक पदाधिकारी पदमुक्ति तथा विश्वविद्यालयसम्बन्धी अध्यादेशहरू जारी भएका छन्। २० वैशाख, काठमाडौं। सरकारले सिफारिस गरेका ८ वटा अध्यादेशमध्ये राष्ट्रपति रामचन्द्र पौडेलले ७ वटा जारी गर्नुभएको छ। आइतबार अपराह्नसम्म उहाँले ७ वटा अध्यादेशहरु जारी गर्नुभयो भने एउटा अध्यादेशलाई पुनर्विचारका लागि प्रधानमन्त्री कार्यालयमा फिर्ता पठाउनुभएको छ। संविधानको धारा ११४ को उपधारा १ अनुसार राष्ट्रपतिले पछिल्ला ४ दिनमा ७ वटा अध्यादेशहरू जारी गर्नुभएको हो। संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी अध्यादेश पुनर्विचारका लागि फिर्ता पठाउनु भएको विषयमा राष्ट्रपतिले संविधानविद्हरूसँग पनि परामर्श लिनुभएको थियो। जारी भएका ७ वटा अध्यादेशहरू यसप्रकार छन्:- १७ वैशाख (बिहीबार) सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३ र सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३ जारी भएका थिए। – १८ वैशाख (शुक्रबार) सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३ जारी गरिएको थियो। – १९ वैशाख (शनिबार) स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐन परिमार्जन गर्ने अध्यादेश, २०८३; सार्वजनिक पदाधिकारी पदमुक्तिको सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३; र विश्वविद्यालयसम्बन्धी केही नेपाल ऐन परिमार्जन गर्ने अध्यादेश तीनवटै एकसाथ जारी गरिएका थिए। – २० वैशाख (आइतबार) केही नेपाल ऐन संशोधन गर्ने अर्को अध्यादेश, २०८३ जारी गरिएको छ।