
२९ वैशाख, तनहुँ। दैनिक घाँसपात, गल्ली–गल्लीमा घरपालुवा जनावरले गरेको फोहोर र दुर्गन्ध, बिजुलीको उज्यालो नहुँदा चेतनाकै अभाव थियो। करिब १० वर्षअघिको तनहुँको बन्दीपुर–३ को रामकोट गाउँ र त्यहाँका बासिन्दाको अवस्था यस्तै थियो। तर बितेको एक दशकमा रामकोटले आफूलाई ती भूल्न नसक्ने विगतबाट अलग गर्दै समृद्धिको बाटो समातेको छ। मगर समुदायको बाक्लो बसोबास र ढुंगामाथि छाएका घरहरू रहेको रामकोटमा २०७५ सालमा होमस्टेको सुरुवातले यहाँको परिचय नै फेरिदिएको छ। होमस्टेबाट आय आर्जन बढेपछि स्थानीयहरू आत्मनिर्भर बन्न थालेका छन्।
उत्तरमा देखिने सुन्दर हिमाल नजिकै रहेको रामकोट चुली (डंकने डाँडा) स्थानियहरूले अनुभव गरेका दुःख र जीवनशैलीको परिवर्तनको प्रत्यक्ष साक्षी बनेको छ। घाँसदाउरा र मेलापातमा व्यस्त रहेका यहाँका महिलाहरू अहिले मगर पहिरनमा सुसज्जित भई पर्यटकलाई “झोर्ले” भन्दै स्वागत र सत्कारमा व्यस्त छन्। रामकोट टेक्ने पर्यटकलाई उनीहरूले सेतो अक्षता लगाइदिन्छन्। गलामा फूलको माला र स्टिलको गिलासमा “सगुन” (लोकल रक्सी) थमाइन्छ। साँझ पर्न थाल्ने बित्तिकै झ्याउरे, कौरा र चुट्का गीत तथा संगीतको रमाइलो वातावरण सुरु हुन्छ र नाचगानले थप रौनक बढाउँछ।
साँझ स्थानीय अर्गानिक खाना जस्तै कोदो र फापरको ढिँडो, गुन्द्रुकको अचार, लोकल कुखुराको मासुसहित पाहुनाहरूलाई स्वागत गर्ने स्थानीय महिला दिदीबहिनीलाई पुरुषहरूले सहयोग पुर्याउँछन्। पर्यटकहरू एउटै घरमा खाना खाएर छुट्टाछुट्टै घरमा सुत्न जान्छन्। बिहान कोदोको सेलरोटी, तरकारी, अचार र चिया खान्छन्। फर्कने बेलामा पनि पर्यटकलाई सेतो अक्षता र फूलमाला दिइन्छ। रामकोटमा दैनिक १० देखि १५ जना र बिदाका दिनमा समूह–समूहमा पर्यटक आउने गरेका छन्।
९५ घर मध्ये ४८ घर होमस्टेको सदस्य छन्, यद्यपि होमस्टे सञ्चालन १५ घरमा मात्रै छ। यहाँ एक पटक ३० जना सम्म बस्न सक्छन् र एक रातको भाडा प्रतिव्यक्ति १२०० रुपैयाँ छ। सांस्कृतिक कार्यक्रमका लागि थप ३००० रुपैयाँ लिइन्छ। पर्यटकहरूको आगमनले गाउँमा आयआर्जन पनि बढेको स्थानीय बताउँछन्। पहिले घर चलाउन समस्या हुने, परिवारका पुरुषहरूको कमाइमा भर पर्ने महिलाहरू अहिले पर्यटक स्वागतबाट मात्रै रमाएका छैनन्, आयआर्जन गर्दै आत्मनिर्भर पनि भएका छन्।
४४ वर्षीया कृष्णमाया थापाले पहिलेका कठिन दिन सम्झन्छिन् र अहिलेको सुविधाको प्रसंसा गर्छिन्। “हामी राम्रोसँग बोल्न पनि सक्दैनथ्यौं, नयाँ मानिससँग डराउँथ्यौँ, दुःखका दिनहरू थिए,” थापाले भनिन्, “तर अहिले हामी आत्मनिर्भर भइसकेका छौं, जीवन उज्यालो लागेको छ।” रामकोटका गल्लीहरू ढुंगा छापिएका र सफा छन्। घर आँगनमा लगाइएको मकैको सुली र ढुङ्गा गाउँलाई रमाइलो देखाउँछन्। होमस्टेसँगै कुखुरा, बाख्रा, सुँगर पालिएको छ, तरकारी समेत लगाइएको छ र स्थानीय रक्सी बनाएर पनि आम्दानी भइरहेको छ।
नियमित आम्दानीले साना आर्थिक समस्याहरू समाधान गर्न सहज भएको स्थानीय महिलाहरू बताउँछन्। होमस्टेले महिलाहरूमा बचत गर्ने बानी समेत विकास गरेको छ। मगर संस्कृतिको संरक्षणसँगै स्थानीय आयआर्जन बढाउने उद्देश्य सफल भएकोमा सबै चकित छन्। गाउँमै भविष्य देख्दै युवा विदेश जान थाल्ने युवाहरू अहिले गाउँमै बसेर भविष्य बनाउने सोचमा छन्। यस्तै युवामध्ये रामकोट सामुदायिक होमस्टेको अध्यक्ष निरकाजी आले पनि छन्। मलेसिया बसेर फर्किएका आले होमस्टे विकास, प्रचारप्रसार, अभिमुखीकरण र जनचेतना फैलाउन सक्रिय छन्।
“केही युवाहरू गाउँमै केही गर्न सकिन्छ भनेर जुटेका छन्। होमस्टे नहुँदा रामकोटले अन्य गाउँको नियति भोग्नुपर्ने थियो,” उनी भन्छन्। पहिले गाउँमा ग्रामीण पर्यटन नगरेकै कारण अधिकांश युवा वैदेशिक रोजगारीमा जाने गरेका थिए। अब धेरैजसो युवा गाउँमै छन्। होमस्टे सचिव सावित्री थापाले परम्परागत कृषि र घाँसदाउरामा कार्यरत महिलाहरू अहिले आयआर्जन, सिपमूलक तालिममार्फत क्षमता अभिवृद्धिमा जुटेको बताउँछिन्।
घर सञ्चालनले जीवनशैलीमा ठूलो परिवर्तन ल्याएको छ र स्वरोजगारी पनि बढिरहेको छ। कहाँबाट जाने रामकोट? बन्दीपुर बजार क्षेत्रबाट ८ किलोमिटर पश्चिममा अवस्थित यो गाउँ मगर समुदायको सांस्कृतिक केन्द्र हो। समुद्री सतहबाट करिब १००० मिटर उचाइ भएकाले यहाँबाट हिमश्रृंखला हेर्न सकिन्छ जुन पर्यटकको मुख्य आकर्षण हो। विशाल सुखौराफाँट र सयौं वर्ष पुराना मगर गाउँहरू पर्यटकको लोभनीय गन्तव्य बनिरहेका छन्। रामकोटमा अझै पनि करिब एक शताब्दी पुरानो “घुमाउने घर” जोगिएको छ।
बन्दीपुरबाट मुच्चुक हुँदै ५.५ किलोमिटर, बन्दीपुरबाट सेराटार हुँदै ८ किलोमिटर र पृथ्वीराजमार्गको छिर्काबाट ७ किलोमिटर पार गरेर रामकोट पुग्न सकिन्छ। रामकोट सामुदायिक होमस्टे अध्यक्ष निरकाजी आलेले स्वदेशी तथा विदेशी पर्यटकलाई स्थानीय आतिथ्यले आकर्षण बढाएको बताएका छन्। बन्दीपुरमा सञ्चालनमा आएको भिलेज सफारीले पनि रामकोटमा पर्यटकहरूको अवतरण बढाएको छ। वसन्त पौडेलले माघदेखि शुरु गरेको यो सफारीले गाउँ गाउँ चिनाउने काम गरेको बताउँछन्।
चितवन भरतपुरका सुजन पोखरेलले पहिलोपटक गएर रामकोटको सत्कार, सम्मान र खानपानबाट निकै आनन्दित भएको सुनाए। अर्को युवक विज्ञान पौडेलले मगर जातिको कला, संस्कृति, सामूहिकताको अध्ययनका लागि रामकोट पुनः आउनुपर्ने बताए। अझै छन् चुनौती र आवश्यकताहरू रामकोटमा अझै पनि पानीको मात्रता पर्याप्त छैन। गाउँका आठवटा धारा सामूहिक रूपमा प्रयोग भइरहे पनि घरपरिवारमा पुर्याउने काम भइरहेको छ। पानी अभावका कारण कृषि उत्पादन अपेक्षित नभएको र पशुपन्छी पालनमा समेत पानीको समस्या देखिएको छ।
बन्दीपुरदेखि रामकोटसम्मको सडक कच्चि भएकोले पर्यटक आउन कठिनाइ भएकामा अध्यक्ष आलेले दुःख ब्यक्त गरे। सडक कालोपत्रे भए पर्यटक संख्या थप वृद्धि हुने अपेक्षा राखिएको छ। सांस्कृतिक घर र सङ्ग्रहालय स्थापना गर्नुपर्ने आवश्यकतासमेत रहेको छ। होमस्टे सञ्चालनमा आर्थिक संकट भएकोले सबै घरले सञ्चालन गर्न सकेका छैनन्। उत्पादनमूलक कार्यमा समेट्न पहल भइरहेको छ। फोहर व्यवस्थापनका लागि पूर्वाधार आवश्यक रहेको उनले बताए।
अध्यक्ष आलेले आगामी एक वर्षभित्र २०० जना एकै रात बस्न सक्ने पूर्वाधार निर्माण गर्ने योजना सुनाए। युवाहरूलाई जगाएर गाउँको ठाडो भाका र मारुनी नाच पुनःसंरक्षण गर्ने सोच छ। उनले भने, “यहाँ बसाइँसराइ कम छ र धेरैजसो यही बसेका छन्। गाउँमै आयआर्जन गर्न सकिने हुँदा छोडेर जान पर्ने अवस्था नआओस् भन्ने उद्देश्यमा लागिपरेको छु।” होमस्टे नहुँदा मानिसहरू गाउँ छोड्थे, अहिले यो ठाउँ जति रमाइलो देखिन्छ। सामाजिक सञ्जालमार्फत अझै देशविदेशमा चिनाउने काम बाँकी छ। विदेशमा कमाएको पैसाले गाउँमै लगानी गर्न युवा उत्प्रेरित गर्ने सोचका साथ छलफल भइरहेको अध्यक्ष आलेले बताए।
पृथ्वी राजमार्गको छिर्काबाट रामकोट हुँदै बन्दीपुर र बन्दीपुरबाट रामकोट हुँदै छिर्काउने रुट निर्धारणका लागि पहल भइरहेको छ। सडक पूर्वाधार भए बाह्य पर्यटकलाई सहज रुपमा ल्याउन सकिने देखिन्छ। पूर्वाधार दोहन भइरहेको छ गण्डकी प्रदेश सरकार र बन्दीपुर गाउँपालिकाले होमस्टे सञ्चालनसँगै पूर्वाधार विकासमा समेत रामकोटका लागि सहयोग गरिरहेको छ। आवश्यक तालिम देखि ढुंगा छाप्ने कार्य, खानेपानी र बिजुली पुर्याउने काममा सहजता ल्याइएको छ।
बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले २०८१ सालमा गल्लीमा ढुंगा छाप्ने काम सम्पन्न भइसकेको र सबै घरमा ढुंगा लगाउने एवं धारा पुर्याउने कार्य भइरहेको जानकारी दिए। म्याट्रेस, सिरक, सिरानी सामग्री पनि खरिद भई वितरणमा छ। होमस्टेका लागि बन्दीपुर र ब्यास नगरपालिकाभित्रका स्थानहरूलाई होमस्टे सर्किटमा राखी रामकोटमा एक रात बास बस्ने आयोजनाको तयारी भइरहेको उनले बताए। गाउँपालिकाले प्रचारप्रसार, भिडियोग्राफी निर्माण र साइकल यात्रा जस्ता कार्यक्रममा समेत सहयोग गरिरहेको छ। सेराटारबाट जाने सडक चालु वर्षमै ७ सय मिटर कालोपत्रे हुने र बाँकी सडककालोपत्रेको लागि प्रदेश र केन्द्र सरकारसँग अनुरोध गरिएको छ।






