
रास्वपाले रसुवामा नयाँ जिल्ला समिति गठन, वसन्त भट्टको नेतृत्वमा
३ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रसुवामा नयाँ जिल्ला समिति गठन गरेको छ । यसअघि समिति भंग गरेपछि रास्वपाले शनिबार वसन्त भट्टको नेतृत्वमा नयाँ समिति गठन गरेको हो । उपसभापतिमा दावा लामा, सचिवमा रविन्द्र लोप्चन, सह सचिवमा रविन्द्र तामाङलाई चयन गरिएको छ । सदस्यहरुमा निर्मल घले, सानुमाया तामाङ, सुशील खतिवडा, युवराज घले र कृष्णबहादुर घले रहेका छन् ।
नयाँ नेतृत्व चयनका लागि पार्टीले स्वस्तिका लामिछानेको नेतृत्वमा निर्वाचन समिति गठन गरेको थियो । तीन सदस्यीय निर्वाचन समितिका थप दुई सदस्यमा इन्दिरा गौतम र जानुका सुवेदी थिए । रसुवा जिल्लामा भेला तथा तदर्थ समिति गठन गर्नका लागि केन्द्रीय तहका नेताहरु उपस्थित थिए । महामन्त्री भूपदेव शाहसहित संगठन विभागका सचिव शंकर श्रेष्ठ, सांसद यज्ञमणि न्यौपाने, बागमतीका सभापति डा. अच्यृत्तम लामिछाने, बागमती महामन्त्री सुरेन्द्र भट्ट लगायतका नेताहरु रसुवा पुगेका थिए ।
भेलामा बोल्दा महामन्त्री शाहले प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वको सरकारले उत्कृष्ट सुरुवात गरेको दाबी गरे । ‘अहिले हामी काम गरिरहेका छौं । म यो भन्दिन कि, हामी सफल भइसकेका छौं । हामीले जनताका अपेक्षा पुरा गरिसक्यौं म भन्दिन तर त्यसको सुरुवात उत्कृष्ट भएको छ,’ शाहले भने । उनले भने, देश विकासका लागि तीनै तहको सरकारमा रास्वपा हुनुपर्नेछ । ‘त्यही कारणले आसन्न प्रदेश सभामा पनि राष्ट्रिय स्वतन्त्र पार्टीले सातै प्रदेशमा सरकार बनाउनु पर्ने आवश्यकता छ’, शाहले थपे, ‘स्थानीय तहमा पनि अधिकांश स्थानीय तहहरु जित्नुपर्ने हाम्रो आवश्यकता र देशको बाध्यता हो । त्यसैले हामीले संघीय निर्वाचन मात्र जितेका छौं, देशले जित्न अझै बाँकी छ ।’