
मन्त्री नहुँदाहुँदै पनि संसदीय समितिको बैठक सञ्चालन गर्न सकिने नियमावली तयार गरिने
४ जेठ, काठमाडौं । मन्त्रीहरू उपस्थित नभए पनि संसदीय समितिका बैठकहरू सञ्चालन गर्न सकिने सुविधा समावेश गर्दै प्रतिनिधि सभा नियमावलीमा परिवर्तन गर्न लागिएको छ। सोमबारको प्रतिनिधि सभा बैठकमा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले ‘प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८३’ माथि छलफलको प्रस्ताव प्रस्तुत गर्नेछन्। यस मस्यौदा नियमावलीको नियम १७८ अन्तर्गत संसदीय विषयगत समितिहरुको काम, कर्तव्य तथा अधिकारहरू उल्लेखित छन्।
नियम १७८ को उपनियम ४ अनुसार, ‘समितिमा विधेयकमाथि हुने छलफलमा मन्त्रीको उपस्थिती अनिवार्य हुनेछ। अन्य कार्यसूचीमाथिको छलफलमा आवश्यकताअनुसार मन्त्री अनिवार्य उपस्थित हुनुपर्नेछ।’ यसअघि संसदीय समितिका सबै बैठकहरूमा मन्त्रीको उपस्थिती अनिवार्य थियो। प्रतिनिधि सभा नियमावली २०७९ को नियम १७८ को उपनियम ४ मा स्पष्ट रूपमा उल्लेख गरिएको थियो, ‘समितिमा विधेयकमाथि हुने छलफलमा मन्त्रीको उपस्थिती अनिवार्य हुनेछ। अन्य कार्यसूचीमाथि समेत मन्त्री उपस्थित हुनुपर्नेछ।’ अब यस नियममा ‘आवश्यकताअनुसार’ शब्द थप गर्ने काम भइरहेको छ।
यस परिवर्तनपछि मन्त्री उपस्थित नभए पनि संसदीय समितिको बैठक सञ्चालन गर्न सकिने व्यवस्था हुने अनुमान गरिएको छ। मन्त्रीहरूको समय तालमेल न मिल्दा समितिको बैठक बस्न नसक्ने समस्या समाधानका लागि विधेयकमाथि हुने छलफलमा मात्रै मन्त्रीको उपस्थिती अनिवार्य गर्ने गरी नियमावली बनाउने तयारी छ। यसले समितिका बैठकहरू अझ प्रभावकारी रूपमा सञ्चालन गर्न सहयोग पुग्ने रास्वपाका नेताहरूले बताएका छन्।