सरकार ‘तथाकथित’, देश महानगर सञ्चालन गर्ने कुरा होइन – सांसद अमरेशकुमार सिंह

रास्वपाका सांसद अमरेशकुमार सिंहले सरकार बनेको डेढ महिनामै प्रधानमन्त्री बालेन शाहको शासनशैलीमाथि प्रश्न उठाएका छन्। सिंहले नेपाल पाकिस्तानी मोडलको प्रजातन्त्रको बाटोमा जान लागेको र ‘पुलिस स्टेट’ बन्न नहुने बताएका छन्। उनले अहिलेको सरकार पूर्ण कार्यकाल जान नसक्ने र मधेशको पीडामा सरकारले केही नगरेको दाबी गरेका छन्। ५ जेठ, काठमाडौं।
फागुन २१ को चुनावमा बालेन शाहका प्रवक्ताको भूमिका निर्वाह गरेका रास्वपाका सांसद अमरेशकुमार सिंहले सरकार बनेको डेढ महिनामै प्रधानमन्त्रीको नेतृत्वशैलीमाथि प्रश्न उठाएका छन्। दुई दिनअघि प्रतिनिधि सभाका अर्थमन्त्री स्वर्णिम वाग्लेको कार्यशैलीमाथि प्रश्न उठाएका सिंहले आफ्नो आक्रोश अब प्रधानमन्त्री शाहप्रति पनि व्यक्त गरेका छन्। हिमालय टिभीको यक्ष प्रश्न कार्यक्रममा निमा बन्जाडेलाई दिएको अन्तर्वार्तामा सिंहले नेपाल पाकिस्तानी मोडलको प्रजातन्त्रको बाटोमा जान लागेको संकेत पनि दिएका छन्।
संसद् छल्ने प्रधानमन्त्री बालेन्द्र शाहको शैलीप्रति इंगित गर्दै उनले पाकिस्तानी मोडलको प्रजातन्त्रको सम्झना गरे। उनले भने, ‘जसरी व्यापारीहरूलाई थुनिन्छ। विधिको शासन र कानुनी प्रक्रिया नपुर्याई थुनिन्छ र भोलिपल्टै छोडिन्छन्। यसले गर्दा म एकदम दाबीका साथ भन्छु— नेपालको अर्बौं रुपैयाँ विदेश गइसकेको छ। हामी ‘पुलिस स्टेट’ बन्ने हुँदैन, हामी ‘डेमोक्रेटिक स्टेट’ बन्नुपर्छ। पाकिस्तानमा कहिल्यै पनि डेमोक्रेसी स्थिर हुन सकेन, छैन र हुँदैन पनि। किनभने, उहाँहरूले संसद्लाई कहिल्यै बलियो बन्न दिनुभएन।’
सिंहले अहिलेको सरकारलाई ‘तथाकथित’ को संज्ञा दिएका छन्। उनले मधेशको पीडाबारे सरकारले केही नगरेको भन्दै आक्रोश व्यक्त गरे। ‘यहाँको तथाकथित सरकारलाई म भन्छु बोर्डरमा जन्मेर थाहा पाओस् बोर्डरको पीडा कस्तो हुन्छ! उहाँ मधेशको महोत्तरीका मान्छे होइन र? मधेशले त्यत्रो भरोसा गरेको होइन?’ सांसद सिंहको आक्रोशमिश्रित प्रश्न छ। उनले संसद्लाई छल्नुलाई पनि आपत्ति जनाए।
सत्ता पाएपछि जे पनि गर्न पाइने छुट संविधानले नदिएको उनको भनाइ छ। उनले भने, ‘आफ्नो हातमा आएपछि जे पनि गर्न पाइने छुट हाम्रो संविधानले दिँदैन। होला, यहाँ नयाँ सांसदलाई लाग्यो होला कि मेरै कारण सबै जितेर आए, त्यो पनि हुन सक्छ। प्रधानमन्त्रीजी र बालेनजीलाई वा उहाँहरूको टिमलाई त्यस्तो लाग्यो होला। दोस्रो कुरा, महानगरको समूहले मात्र होइन, देश चलाउन खोजिरहेको छ,’ सिंहले भने।
उनीले आफू मन्त्री बन्न कहिल्यै अघि नबढेको दाबी पनि गरे। उनले खण्डन गर्दै भने, ‘म त दलाल होइन।’ उनले अहिले सुकुमवासी बस्ती हटाउने सरकारको कार्यप्रति पनि आपत्ति जनाए। उनले भने, ‘तर भत्किएपछि बनाउँदैन। बनेपाको होल्डिङ सेन्टर पनि समस्यामा छ।’
सिंहले आउँदो स्थानीय तहको चुनावसम्म संविधान नै रहन्छ कि रहन्न भन्ने पनि आशंका व्यक्त गरे। ‘यही संविधान रह्यो भने आउँदो स्थानीय तहको चुनाव हुन्छ। समस्या संविधानमा देखाउन खोजिएको हो तर समस्या नीतिमा होइन, नियतमा छ,’ उनले भने।
पूरा अन्तर्वार्ताको भिडियो–

