
८ जेठ, काठमाडौं। बैङ्ग्लोरबाट दिल्लीतर्फ आउँदै गरेको एयर इन्डियाको उडान ‘एआई२८०२’ मा बिहीबार साँझ इन्जिनमा आगो लागेपछि दिल्ली विमानस्थलमा सुचारू रूपमा सुरक्षित अवतरण भएको छ। उक्त विमानमा १६० जना यात्रु थिए। एयर इन्डियाले जारी गरेको विज्ञप्तिमा जानकारी गराइएको छ, ‘दिल्लीमा विमानको अन्तिम अवतरण प्रक्रियाको क्रममा ककपिट चालकदलले एउटा इन्जिनमा आगो लागेको संकेत प्राप्त गरेका थिए। पछि उक्त संकेत सही सावित भयो।’
विज्ञप्तिमा थप भनिएको छ, ‘चालकदलले सबै आवश्यक सञ्चालन प्रक्रिया अनुसरण गर्दै विमानलाई सुरक्षित रूपमा दिल्ली विमानस्थलमा अवतरण गराए। सबै यात्रु र चालक दल सुरक्षित छन् र उनीहरू सामान्य रूपमा विमानबाट बाहिर निस्केका छन्।’ बीबीसी हिन्दीका अनुसार, एयर इन्डियाले यस घटनाको तत्काल अनुसन्धान सुरु गर्ने जनाएको छ। यो अनुसन्धान सम्बन्धित नियामक अधिकारीहरूसँग समन्वयमा गरिनेछ।

