Skip to main content

पश्चिम एशियामा नेपालीहरूको सुरक्षा र हित प्रति सरकार सतर्क

परराष्ट्र मन्त्रालयले पश्चिम एशियामा रहेका नेपाली नागरिकहरूको सुरक्षा र हित प्रति सरकार अत्यन्तै सतर्क रहेको जनाएको छ। मन्त्रालयले स्ट्रेट अफ होर्मुजमा भएको अवरोध चाँडै खुल्ने र बजार मूल्यहरू सामान्यीकरणतर्फ उन्मुख हुने अपेक्षा व्यक्त गरेको छ। पश्चिम एशियामा रहेका नेपालीहरूले मन्त्रालयको अनलाइन पोर्टलमा ८७ हजार ८ सय ६३ जनाले आफ्नो जानकारी दर्ता गराइसकेका छन्। (८ जेठ, काठमाडौं)

परराष्ट्र मन्त्रालयले पश्चिम एशियाको पछिल्लो अवस्था नजिकबाट निगरानी गरिरहेको उल्लेख गर्दै त्यहाँ रहेका नेपालीहरूको सुरक्षा र हितप्रति सरकार सजग रहेको जनाएको छ। मन्त्रालयले आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले पश्चिम एशियामा तनाव भए तापनि सार्थक वार्ताका सम्भावना निकै बलियो रहेको र मे महिनादेखि परिस्थिति क्रमशः सुधारोन्मुख रहेको बताएका छन्। उनले शान्ति कायम राख्न कूटनीतिक प्रयासहरू सफल तुल्याउनु, ‘स्ट्रेट अफ होर्मुज’ को अवरोध हटाउनु र उक्त क्षेत्रमा दिगो शान्ति स्थापित गर्नु अहिलेको मुख्य आवश्यकता रहेको बताए।

नेपालले ‘स्ट्रेट अफ होर्मुज’ अवरोध खुलाउन भइरहेका द्विपक्षीय तथा बहुपक्षीय प्रयासहरूलाई सहयोग गर्ने उल्लेख पनि उनले गरेका छन्। मन्त्रालयले अवरोध चाँडै हट्ने र त्यसले प्रभावित आपूर्ति शृङ्खला तथा आकाशिएको बजार मूल्य क्रमशः सामान्यीकरणतर्फ जाने अपेक्षा व्यक्त गरेको छ। प्रवक्ता क्षेत्रीका अनुसार पश्चिम एशियामा रहेका नेपालीहरूको अवस्था अहिले सामान्य रहेको बताउँदै उनीहरूको सुरक्षा र हितसँग सम्बन्धित विषयहरूमा निरन्तर सक्रिय रहेको जानकारी दिए। मन्त्रालयमा स्थापना गरिएको ‘इमर्जेन्सी कन्ट्रोल रूम’, कन्सुलर सेवा विभागको अनलाइन दर्ता प्रणाली तथा सम्बन्धित नेपाली नियोगका हटलाइन सेवा प्रवाह भईरहेको छ।

अब उक्त कन्ट्रोल रूम २४ घण्टाको सट्टा बिहान ९ बजेदेखि राति ९ बजेसम्म सञ्चालन गरिने उनको भनाइ छ। हालसम्म कन्ट्रोल रूममा १६० भन्दा बढी फोन, ५० भन्दा बढी इमेल तथा ११० भन्दा बढी अनलाइन माध्यमबाट सम्पर्क भएको छ भने १० भन्दा बढी व्यक्तिहरू भौतिक रुपमा उपस्थित भएर कुल ३३० भन्दा बढी पटक सम्पर्क गरेको र पछिल्लो ४८ घण्टामा मात्र दुई पटक सम्पर्क भएको पनि मन्त्रालयले जनाएको छ। त्यस्तै, कन्सुलर सेवा विभागले सञ्चालन गरेको अनलाइन पोर्टलमा हालसम्म ८७ हजार ८ सय ६३ जनाले विवरण दर्ता गराइसकेका छन् भने पछिल्लो १४ दिनमा मात्र १२ जनाले नयाँ दर्ता गरेका छन्। मन्त्रालयले पश्चिम एशियामा रहेका नेपाली नागरिकलाई कुनै समस्या परेमा नजिकको नेपाली नियोगमा सम्पर्क गर्न, स्थानीय सुरक्षा नियमहरू पालना गर्न र साइबर कानुन अन्तर्गत लागू हुने कुनै पनि निषेधित गतिविधिमा संलग्न नहुन अनुरोध गरेको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ