Skip to main content

सडकमै रात बिताएर न्यायको खोजी

रातको साढे ११ बजेको थियो। ५ जेठको मध्यरात पनि काठमाडौंको माइतीघर अझै सुतिरहेको थिएन। न्याय खोज्दै धर्ना बसेकाहरुका कारण माइतीघर मण्डला जागरूक थियो। दिउँसो जस्तै जाम वा भीड थिएन। कहिलेकाहीं अराजकता देखाउँदै बाइक चलेका केही मानिसलाई छोड्ने हो भने शान्त वातावरण थियो। छिमेकी सडकमा गुड्ने सवारी साधनहरूको आवाज पनि त्यति ठूलो सुनिंदै थिएन। तर कहिले काहीं रक्सी सेवन गरेर आउनेहरूको आवाजले त्यहाँ रहेका केही मानिसहरुलाई डर लाग्न सक्थ्यो। त्यही शान्त देखिने माइतीघर मण्डलाको सडक किनारामा टेन्टहरु देखिन्थे। हामी मध्यरात त्यहाँ पुग्दा सात वटा टेन्ट टाँसिएका थिए। टेन्ट नभएका एक महिला खुलेआम आकाशमुनि सुतिरहेकी थिइन्। थप केही समूहहरु म्याट्रेसमा पातलो सिरक ओरेर यस्तै सुतिरहेका थिए र एकअर्कासँग गफ गर्दै थिए। कतिपय आफ्नो टेन्टमा सुत्ने तयारीमा थिए। तर खुला आकाशमुनि सडकमा रात बिताउन धर्नामा बसेकाहरुको मन थिएन। त्यहाँ पर्ने लामखुट्टेले टोक्ने हुँदा उनीहरूलाई धेरै अकल्पनीय पीडा भोग्नुपर्दथ्यो। यस्ता परिस्थितिमा पनि आफ्नो कुरा सरकारलाई सुनाउन उनीहरुले सडकमै बस्नुपरेको छ। ‘लामखुट्टेले टोकेर हैरान पार्छन्। तर पनि बस्नैपर्छ, सरकारले सुन्दैन,’ त्यहाँको एक व्यक्तिले भने।

उनीहरूको सुरक्षाका लागि दुई जना प्रहरी ड्युटीमा थिए। उनीहरूको मागहरू विविध छन्। झापा घर भएकी कृष्णमाया उप्रेती खुलेआम आकाशमुनि एउटा ओडनीमात्रमा माइतीघरको सडकमा सुतिरहेकी थिइन्। हामी त्यहाँ पुगेपछि केही समयपछि ४८ वर्षीया उनी उठिन्। गोठाटारमा बस्ने उनी अहिले रातभर माइतीघरमा धर्नामा छिन्। उनलाई खान र ल्याउन सहज छैन। त्यसैले सहयात्री संस्था महांकाल समूहले दिएको खाना खाएपछि गोठाटार फर्कने योजना बनाइरहेकी थिइन्। तर रातिको गाडी छुटेको कारण उनी मजबूर भएर खुला आकाशैमा बस्न बाध्य भएकी छिन्। उनले भनिन्, ‘मलाई झापामा एकले यौन दुर्व्यवहार गरेको छ। त्यसैले न्याय खोज्न आएको हुँ। तर अदालत र प्रशासनबाट मेरो पक्षमा कसैले साथ दिएको छैन।’ न्याय खोज्दै उनी १३ वर्षदेखि लागिपरेकी छन्। हालको अवस्था अनुसार गत १५ चैतदेखि माइतीघरमै धर्नामा छन्। बेलुकी गाडी छुटेपछि त्यहाँ वरपर रहेका मानिसहरूले उनलाई आफ्नो टेन्टमुनि राख्ने प्रस्ताव राखेपछि उनले साथीहरूको साथमा माइतीघरमै रात बिताइन्।

टेन्टहरू बीच अर्को समूह गफिरहेका थिए। ट्रिपाल ओछ्याएर खुलेआम गफ गर्दै गरेको समूहमा जानकी विष्ट, रमिला कार्की, जमुना खत्री र पुष्पमाया कार्की थिए। उनीहरूको कुराकानी सुन्दा यस्तो लाग्दथ्यो कि माइतीघरमा रातीसंगै धर्ना बस्ने उनीहरूको अलग गाउँ नै बसेजस्तो थियो। सहयोगी र मिलनसार भएर उनीहरू दुःखसुखका कुरा गरिरहेका थिए। जानकी विष्टले आफ्नो अनुभूति पोखिन्। दार्चुला ब्यास गाउँपालिकाकी जानकी विष्ट केही दिनदेखि माइतीघर मण्डलामा छन्। आफू मानव बेचबिखनको जालबाट जोगिएपनि अन्य दिदीबहिनीहरूलाई बचाउन सात दिनसम्म यहाँ बस्ने बताइन्। पुष्पमाया कार्कीलाई भनिन्, ‘तिमी टेन्ट नकिन, म सात दिनपछि जानेछु, मेरो टेन्ट प्रयोग गरिहाल, छाडिदिन्छु।’ जानकीका अनुसार, उनलाई सुदूरपश्चिमका एक व्यक्तिले वीरगञ्जमा बुनाई तालिम दिने भन्दै बोलाए। परिवारसँग सल्लाह गरेर वीरगञ्ज पुगिन्। तर त्यहाँबाट रातारात बिहारको पन्नामा पुर्‍याइयो। मोबाइल चलाउन दिइएन, बन्धक बनाइयो। होस्टेल शुल्कको रूपमा १८ हजार रुपैयाँ तिर्न भनियो। ‘पछि दुई लाख रुपैयाँ जम्मा गर्न भनियो। नमान्दा जबरजस्ती गर्न खोजे,’ जानकीले सबैसामु पीडा सुनाइन्।

यस्तो मानव बेचबिखनमा पूर्ण फँसाएपछि कुटपिट र यातना सहनुपर्यो। अन्ततः उनले अटोबाट हाम फालेकी थिइन्। तेजीमा भारतीय प्रहरीको सहयोग खोजिन्। भारतीय प्रहरी, आफन्त र केही संस्थाको सहयोगमा उनी नेपाल फर्किइन्। इन्डियामा देखेको दृश्य अत्यन्तै डरलाग्दो रहेको बताइन् जानकीले। जागिरको नाममा युवतीहरूलाई लगेर कुटपिट, यातना, किड्नी बेच्ने, बालिकालाई यौनधन्दामा लगाउने र मुम्बईको कोठीमा बेच्ने गरिएको उनले सुनाइन्। पहाडी सिधा केटीहरू बलात्कारपछि डरले बोली नबोल्ने अवस्थामा पुग्ने अवस्था छ। मानव बेचबिखन गर्नेहरू २०६५ सालदेखि नै सक्रिय रहेको बताइन्छ। आफू बचेर आएपछि धेरै पीडित उद्धार गरिसकेको दाबी पनि गरिन्। उनका अनुसार किंग इन्डिया संस्थासँग मिलेर ५२ जनालाई उद्धार गरिएको थियो। तत्कालीन गृहमन्त्री रमेश लेखक, आइजीपी दीपक थापा, श्रम मन्त्री, मानव अधिकार आयोगसम्म पुगेर आवाज उठाइन्। विभिन्न मिडियामा अन्तर्वार्ता दिइन्, तर सरकारी निकायबाट विशेष काम नभएको उनको गुनासो छ। आफू पीडित भएकी उनले भनिन्, अझै धेरै नेपाली युवतीहरू भारतमा बन्धक छन्। सरकारले उद्धार गर्न र ठगी कम्पनी बन्द गर्न तुरुन्तै ध्यान दिनुपर्ने उनको माग छ। ‘सरकारले केही गरेन भने म भारत जानेछु र त्यहाँका अधिकारीसँग भेट्ने छु,’ उनी दृढतापूर्वक भनिन्, ‘मलाई न्याय चाहिँदैन, तर अरूलाई बचाउनु छ। कसैले यो जालमा नफसून् भनेर दबाब दिन र अरूलाई खबरदारी दिन माइतीघर आएको हुँ।’ जानकीको कथा सुनिरहेको बेला अर्को छेउमा रहेका पुष्पमाया कार्कीका आँखा रसाएका थिए। उनी पनि आफ्नो पीडा सुनाउन चाहन्थिइन्।

उदयपुरकी पुष्पमाया कार्की (२८ वर्ष) हाल दिनरात माइतीघर मण्डलाको सडकमै छिन्। जाने ठाउँ नभएकाले दिनरात धर्ना दिएर माइतीघरमा सुत्न बाध्य छिन्। मलेसियामा मानव बेचबिखनको शिकार भएकी उनी नेपाल फर्किएतापनि यहाँ प्रहरी र स्थानीयबाट थप पीडित भएकी छिन्। केही समयअघि नुवाकोटकी प्रतिमा तामाङले ‘मलेसियामा राम्रो काम र तलब हुन्छ’ भनी फकाएपछि घरसँग सल्लाह गरेर थाइल्याण्ड हुँदै मलेसिया पुगेकी पुष्पमायालाई त्यहाँ नेपाली होटलमा काम लगाइयो तर तलब दिइएन। ग्राहकसँग शारीरिक सम्बन्ध राख्न बाध्य पारियो। ‘दुई महिनासम्म काम गरेँ, पैसा दिएनन्। ग्राहक खुसी नपारेको भन्दै तलब काटियो,’ उनले सुनाइन्। विभिन्न होटलहरूमा बेचियो। २०२५ डिसेम्बर २ तारिख राति होटल सञ्चालक र दुई ग्राहकले सामूहिक बलात्कारको प्रयास गरेको आरोप छ। दिनरात दुर्व्यवहार झेलेकी उनी पछि अन्य सहयोगले नेपाल फर्किईन्।

तर फर्किंदा झन ठूलो समस्या शुरू भयो। तारकेश्वर–१० स्थित केटीएम होमस्टेमा दैनिक ५०० रुपैयाँ तिरेर बसिरहेकी उनी केही महिनापछि जबरजस्ती निकालिएको दाबी गर्छन्। प्रहरी लगाएर सामानसहित उनको मोबाइल, सुनको चेन, ब्रेसलेट र डिप्रेसन औषधि पनि लुटिएको बताइन्छ। ‘१५ दिनदेखि डिप्रेसनको औषधि खान पाएकी छैन,’ पुष्पमाया भावुक हुँदै भन्छिन्, ‘रोडमा पाल ओढेर सुतिरहेकी छु। पानी ब्रेहाल पनि बस्नुपर्छ। मलेसियाको बलात्कार घटना र घरबेटीबाट भएको यातनाको उजुरी दिए पनि सुनुवाइ भएको छैन। घरबाट पनि सहयोग छैन। त्यसैले म न्याय नपाउँञ्जेल माइतीघर छोड्दिनँ। जति दुःख पाएपनि।’

उनीहरूले गुनासो सुनाउँदै गर्दा अर्को टेन्ट भित्र अन्य परिवारहरू सुतिरहेका थिए। उनीहरूको टेन्टपछाडि विभिन्न माग राखिएका झण्डा थिए। कोही गाडी दुर्घटना भएतापनि चालकले उपचार नगरेको भन्दै धर्नामा थिए। कोही सहकारी ठगीको विरुद्ध। कोही फरार अभियुक्त जीबी राईको गिरफ्तारी मागिरहेका थिए। कोही अस्पतालको लापरवाहीविरुद्ध सानो बच्चासहित माइतीघरमा रात बिताइरहेका थिए। टेन्टभित्र साना बच्चासहित सुतिरहेका पनि थिए। यसरी दिन मात्र नभई राती पनि धर्ना दिँदै माइतीघर लामो समयदेखि अन्यायमा परेका व्यक्तिहरूको न्याय खोज्ने स्थान बनेको छ। सबैले आफ्ना माग सुनाउने साझा मञ्च बनेको यो माइतीघरको इतिहास आफैँमा ऐतिहासिक छ।

वि.सं. २०२३ को कुरा हो, त्यतिबेला प्रदर्शनमा आएको नेपाली चलचित्र ‘माइतीघर’को निर्माण टोलीको कार्यालय थापाथली ईन्जिनियरिङ क्याम्पसको ठीक विपरित एउटा तीन तले भवनमा थियो। त्यस भवनमा चलचित्रको नाम अंकित साइनबोर्ड झुण्ड्याइएको थियो। चलचित्रको काम सकिएपछि त्यो बोर्ड हटाइयो। तर त्यसबेला जनबोलीमा त्यो ठाउँलाई चिनिने नाम ‘माइतीघर’ बसिसकेको थियो। त्यो कालान्तरमा सधैंका लागि स्थापित भयो। विसं २०५८ मा काठमाडौंमा आयोजना गरिएको ११ औं सार्क शिखर सम्मेलनका क्रममा सहरलाई सुन्दर बनाउने उद्देश्यले तत्कालीन मेयर केशव स्थापितले यहाँ कलात्मक मण्डल निर्माण गराए र त्यसपछि यहाँ ‘माइतीघर मण्डला’ नाम राखियो। देशमा सशस्त्र द्वन्द्वको समयमा नागरिकस्तरबाट मृतकहरूको सम्झनामा यहाँ मैनबत्ती बाल्ने काम समेत भएको थियो।

यस स्थानले नागरिक आन्दोलन र राजनीतिक विरोध प्रदर्शनको मुख्य केन्द्रको भूमिका लिएको छ। देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार र सर्वोच्च न्यायालयको नजिक हुँदा पीडितहरूको गुनासो सरकारले सुनाउने प्रमुख माध्यम बनेको छ। यस स्वत:स्फूर्त अधिकारमाथि कहिले काहीं राज्यले अंकुश लगाउने प्रयास गरेको पनि देखिन्छ। विसं २०७५ वैशाखमा सरकारले ट्राफिक व्यवस्थापन र सडक सफा राख्ने बहाना गर्दै माइतीघरमा प्रदर्शनमा पूर्ण प्रतिबन्ध लगाएको थियो र अन्य खुला ठाउँ तोकेकोमा यसको व्यापक विरोध भयो। लोकतान्त्रिक व्यवस्थामा जनतालाई स्वतन्त्र प्रदर्शन गर्ने स्थान प्रदान गर्नु राज्यको जिम्मेवारी रहेको भन्दै डा. गोविन्द केसी, डा. जीवन क्षत्री लगायतका नागरिक समाजका अभियन्ताहरूले कडा विरोध जनाएका थिए। यसरी माइतीघर मण्डलाले शक्तिको अहंकार र निमुखाको रोदन दुवैलाई नजिकबाट नियाल्ने अवसर दिएको छ।

काठमाडौंका खुला चौरहरू क्रमिक रूपमा समाप्त हुँदै गर्दा सामाजिक मुद्दाहरू पोख्ने यो ‘पहिल्यै तयार गरिएको’ स्थान बनेको छ। आजसम्म माइतीघरले अनेक आवाज र व्यक्तित्वहरू देखेको छ। शीर्ष नेताहरु पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, झलनाथ खनाल लगायतले यहाँ उपस्थित भएर प्रदर्शन गरेका छन्। गुठी विधेयक आन्दोलन, शिक्षक आन्दोलन, मिटरब्याज पीडित आन्दोलन, सहकारी ठगी आन्दोलन, जेनजी आन्दोलन पनि यहाँ भएका छन्। यसरी सदन र सरकारले नसुनेका वेदनाहरू सडकबाटै सुनाउन र कमजोरहरूको गुहारलाई सत्तासम्म पुर्‍याउन माइतीघर मण्डला साक्षी बन्ने गरेको छ। आज पनि माइतीघरमा जानकी विष्ट, रमिला कार्की, जमुना खत्री, पुष्पमाया कार्की, कृष्णमाया उप्रेती लगायत न्याय खोज्दै दिनरात जागिरहेका छन्।