
सर्लाहीको बागमती नदीमा २ जनाको शव भेटियो, ३ जना सकुशल
सर्लाहीको बागमती नदीमा बेपत्ता भएका पाँच जनामध्ये दुई युवाको शव फेला परेको छ जबकि तीन जना सकुशल रहेको प्रहरीले जनाएको छ। मृतकहरू लालबन्दी नगरपालिका–९ का १८ वर्षीय रोहित महतो र २० वर्षीय गणेश महतो हुन्। नदी पार गर्ने क्रममा बेपत्ता भएका बरहथवाका सहमद मोमिन, मोहम्मद अख्तर र ब्रहमपुरीका श्याम भण्डारी सकुशल फेला परेका छन्।
१० जेठ, काठमाडौं। सर्लाहीको बागमती नदीमा बेपत्ता भएका पाँचमध्ये दुई जनाको शव फेला परेको र तीन जना सकुशल भेटिएको खबर आएको छ। रौतहट र सिन्धुलीको सीमा नजिक अवस्थित झपडी झोलुङ्गे पुलमुनि शनिबार दिउँसो ४ बजेतिर पाँच जना बेपत्ता भएका थिए। इलाका प्रहरी कार्यालय कर्मैया, सर्लाहीले दुई जनाको शव फेला परेकाको सूचना दिएको छ।
मृतकहरू लालबन्दी नगरपालिका–९ बस्तीपुर बस्ने १८ वर्षीय रोहित महतो र सोही स्थानकै २० वर्षे गणेश महतो हुन्। रोहितको शव सर्लाहीको बागमती नगरपालिका–११ स्थित पुल नजिक आइतबार फेला परेको प्रहरीले जनाएको छ। त्यस्तै, आइतबार साढे १ बजे गणेशको शव बागमती नदीको ड्याम साइटमा भेटिएको छ। बरहथवा नगरपालिका–५ का २८ वर्षीय सहमद मोमिन, त्यहीँका २४ वर्षीय मोहम्मद अख्तर र ब्रहमपुरी गाउँपालिका–३ का २० वर्षीय श्याम भण्डारी भने सकुशल फेला परेका छन्। उनीहरूले कसैलाई जानकारी नदिई रौतहट र सिन्धुलीको सीमा क्षेत्रमा पर्ने बागमती नदीको झपसी झोलुङ्गे पुलसम्म पुगेका थिए र त्यहाँबाट नदी पार गर्ने क्रममा बेपत्ता भएको प्रहरीले जनाएको छ।