
‘कुकुर प्रजननको नियन्त्रण गर, अनिवार्य माइक्रोचिप अनिवार्य गर’
पशु अधिकारकर्मीहरूले कडा कानुनको माग गर्दै आइतबार माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्। उनीहरूले तत्काल ‘पशु कल्याण ऐन’ ल्याउन सरकारसँग अनुरोध गरेका छन्। अघिल्लो सरकारले वर्षौंसम्म अलपत्र पारेर राखेको पशु कल्याण सम्बन्धी कानुन यथाशीघ्र जारी गर्न नयाँ सरकारप्रति उनीहरूले आग्रह गरेका छन्। ‘जनावरहरूको यो पृथ्वीमा बाँच्ने अधिकार छ, उनीहरूलाई मार्न पाइँदैन’ भन्ने नारा लिएर उनीहरूले प्रदर्शन गरेका छन्।
प्रदर्शनका क्रममा पशु अधिकारकर्मीहरूले सारा जनावर उद्धार केन्द्रले तयार पारेको १६ बुँदे माग सार्वजनिक गरे। नेपालका पशुसम्बन्धी कानुन पुराना र कमजोर रहेको भन्दै नयाँ सरकारले तुरुन्त नयाँ ऐन ल्याएर पशु अधिकार संरक्षण गर्नुपर्ने उनीहरूको माग छ। कुकुरलगायत घरपालुवा जनावरमाथि हुने कुनै पनि क्रूरता विरुद्ध ५ देखि १० वर्षसम्म कैद र लाखौं रुपैयाँ जरिवाना लगाउनुपर्ने माग पनि राखिएको छ।
पशुपालन, यातायात र बधशालामा वैज्ञानिक मापदण्ड लागू गर्नुपर्ने, गाई तथा कुकुर फार्महरूको अनुगमन र नियन्त्रणका लागि छुट्टै समिति गठन गर्नुपर्ने र बाँदर नियन्त्रणमा पासो लगाएर मार्ने कार्य तुरुन्त बन्द गर्नुपर्ने पनि उनीहरूको अनुरोध छ। कुकुर प्रजनन केन्द्रको लापरवाहीलाई सडक कुकुरको विकराल अवस्थाको मुख्य कारण मान्दै त्यसलाई कडाइका साथ नियमन गर्नुपर्ने, कुकुर, बिरालो जस्ता जनावर पाल्नेहरूले अनिवार्य दर्ता र माइक्रोचिपिङ गर्नुपर्ने माग राखिएको छ।
सारा जनावर उद्धार केन्द्रका सञ्चालक विश्वराम कार्कीले भने, ‘संसदमा अहिले बाँदर मार्नुपर्छ भन्ने कुरा उठिरहेको छ। तर हामी भन्छौं – कुनै पनि जनावरलाई मार्न पाइँदैन। उनीहरूको अधिकार सुनिश्चित नभएसम्म हामी निरन्तर विरोध प्रदर्शन गर्नेछौं।’ प्रदर्शनमा स्थानीय पशु प्रेमीहरू, स्वयंसेवकहरू र विभिन्न पशु कल्याण संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता थियो। सरकारले उनीहरूको माग सम्बोधन नगरेसम्म आन्दोलन जारी राख्ने चेतावनी पनि उनीहरूले दिएका छन्।