काङ्ग्रेस नेता धनराजकी पूर्व पत्नी ज्योतिलाई २१ दिनभित्र अदालतमा उपस्थित हुन आदेश

ललितपुर जिल्ला अदालतले मितेरी सहकारीको रकम हिनामिनासम्बन्धी मुद्दामा मुछिएकी ज्योती गुरुङलाई २१ दिने सूचना जारी गरेको छ। नेपाली कांग्रेसका नेता धनराज गुरुङकी पूर्वपत्नी ज्योतीमाथि सहकारीको १२ करोड ५० लाख रुपैयाँ हिनामिना गरेको आरोप छ। सहकारीका सचिव बोधविक्रम थापाले ज्योतीसहित पाँच जनाविरुद्ध प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोमा उजुरी दिएका छन्। ११ जेठ, काठमाडौं।
मितेरी सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा नामजारी भएकी ज्योती गुरुङलाई ललितपुर जिल्ला अदालतले २१ दिने सूचना जारी गर्दै सबूतसहित प्रतिउत्तर पेश गर्न भनेको छ। स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका २ लामडाँडा स्थायी घर भएकी र हाल ललितपुर महानगरपालिका–१४ थसिखेलमा बस्ने ४८ वर्षीया ज्योती, कांग्रेस नेता धनराज गुरुङकी पूर्व पत्नी हुन्।
अदालतको सूचनामा उनलाई ‘धनराज गुरुङकी पत्नी’ भनेर तीनपुस्ते विवरणसहित उल्लेख गरिएको छ। सूचनामा भनिएको छ कि बोधविक्रम थापाले ज्योतिविरुद्ध लेनदेन मुद्दा दायर गरेका थिए। जिल्ला अदालतले गुरुङको नाममा जारी गरिएको म्याद बदर गर्दै २०८३ साल जेठ ५ गते आदेश अनुसार मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा १०५ को उपदफा २२ अनुसार २१ दिने सूचना जारी गरिएको छ।
‘यो म्याद सूचना पत्रिकामा प्रकाशित भएको मितिले बाटोको म्याद बाहेक २१ (एक्काइस) दिनभित्र आफैं वा कानुन बमोजिमको प्रतिनिधि मार्फत् आफ्नो भएको सबूत प्रमाणसहित प्रतिउत्तर पत्र लिएर यस अदालतमा उपस्थित हुनुहोला,’ गोरखापत्रमा प्रकाशित सूचनामा उल्लेख छ। म्यादभित्र उपस्थित नभए कानुन बमोजिम मुद्दा अघि बढ्ने र पछि कुनै उजुरी नलाग्ने पनि सूचनामा उल्लेख गरिएको छ।

