
मधेश प्रदेशसभाको अगाडि प्रदर्शन: लाज नलाग्ने, नयाँ कमला पुल कहिले सुरु हुन्छ?
१८ जेठ, काठमाडौं। हुलाकी सडकअन्तर्गत सिरहा र धनुषा जिल्लालाई जोड्ने कमला पुलको निर्माणका लागि बजेटको माग गर्दै स्थानीयवासीहरूले प्रदर्शन गरेका छन्। सोमबार मधेश प्रदेशसभाको अगाडि आयोजित प्रदर्शनमा आन्दोलनकारीहरूले ‘लाज नलाग्ने, नयाँ कमला पुल कहिले सुरु हुन्छ?’ भन्ने नारासहित आवाज उठाएका छन्। प्रदर्शनमा ‘कहिलेसम्म संघ सरकारको मुख हेरेर बस्ने?’ र ‘प्रदेश सरकार हो कि संघ सरकारको शाखा हो?’ जस्ता नारा लेखिएका ब्यानेरहरू पनि देखिएका थिए।
हुलाकी–कमला संघर्ष समितिका संयोजक इन्जिनियर प्रविणकुमार यादवले कमला पुल निर्माण सम्बन्धमा प्रदेश सरकारले देखाएको गैरजिम्मेवार अभिव्यक्तिपछि आन्दोलन गर्ने बाध्यता रहेको बताए। उनले भने, “पहिले मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई ज्ञापनपत्र बुझाउन गएका थियौं, तर गैरजिम्मेवार जवाफ प्राप्त भयो।” यादवका अनुसार मुख्यमन्त्रीले भनेका थिए, “कहाँबाट कमला पुल बनाइदिनु? आफ्नो सम्पत्ति बेचेर पुल निर्माण गरिदिनु?”
संघीय सरकारले आगामी आर्थिक वर्षको बजेटमा हुलाकी सडकअन्तर्गत आठ वटा पुल निर्माणका लागि ४ अर्ब रुपैयाँ विनियोजन गरेको छ। तथापि, पुनर्निर्माणको चरणमा रहेको कमला पुललाई समावेश नगरिएपछि स्थानीयवासी आन्दोलनमा उत्रिएका छन्। उनीहरूले अब प्रदेश सरकारले बजेटमा कमला पुल समावेश गर्नुपर्ने माग गरेका छन्। नभए चरणबद्ध आन्दोलन गर्दै सशक्त रूपमा अघि बढ्ने चेतावनी पनि दिएका छन्। १५ वर्षअघि निर्माण सुरु भएको कमला पुल २०७८ सालको बाढीबाट क्षति पुगेपछि पुनर्निर्माणमा प्रगति हुन सकेको छैन।