
२०० देखि २५० सीसीसम्मको ‘अनएसेम्बल्ड’ बाइक पार्टपूर्जामा भन्सार दरमा बृद्धि
सरकारले नेपालमा मोटरसाइकल उत्पादन बढाउन उद्देश्यले पार्टपूर्जा आयातमा लाग्ने भन्सार दरमा नयाँ समायोजन गरेको छ। २०० देखि २५० सीसीसम्मका मोटरसाइकल पार्टपूर्जामा भन्सार दर १० प्रतिशतले कटौती गरी ३० प्रतिशत कायम गरिएको छ। तर, २५० देखि ५०० सीसीसम्मका पार्टपूर्जा आयातमा लाग्ने भन्सार दर १० प्रतिशतले वृद्धि गरी ८० प्रतिशत पुर्याइएको छ।
२० जेठ, काठमाडौं। सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत नेपालमा पूर्ण वस्तु उत्पादन प्रवर्द्धनका लागि पार्टपूर्जा आयातमा लाग्ने भन्सार दरमा समायोजन गरेको छ। नयाँ व्यवस्था जेठ १६ तारिखदेखि लागू भएको छ। यस अनुसार, नेपालमै मोटरसाइकल एसेम्बल गर्ने कम्पनीहरूले प्रयोग गर्ने पार्टपूर्जा आयातमा लाग्ने भन्सार दरमा १० प्रतिशत अंकको कटौती गरिएको छ।
चालु आर्थिक वर्षमा २०० देखि २५० सीसीसम्मका पार्टपूर्जा आयातमा ४० प्रतिशत दर थिए, जुन आगामी आर्थिक वर्षदेखि घटाएर ३० प्रतिशत राखिएको छ। यद्यपि, २५० देखि ४०० सीसी क्षमताका पार्टपूर्जा आयातमा लाग्ने भन्सार ७० प्रतिशतबाट ८० प्रतिशतमा बढाइएको छ। ती पार्टपूर्जा अब ८० प्रतिशत भन्सारमा पर्नेछन्। ४०० देखि ५०० सीसी सम्मका बाइक पार्टपूर्जामा पनि भन्सार दर ८० प्रतिशत कायम गरिएको छ।
पार्टपूर्जा आयात गरेर अन्तिम वस्तु उत्पादन गर्ने नेपाली बजारका प्रमुख कम्पनीहरूमा रोयल इन्फिल्ड, होन्डा, यामाहा, हिरो, टीभीएस र बजाज रहेका छन्। यी कम्पनीहरूले विदेशी मुलुकबाट पार्टपूर्जा आयात गरी नेपालमै बाइकहरू एसेम्बल गर्दै आएका छन् र एसेम्बल्ड प्लान्टहरू सञ्चालनमा ल्याएका छन्।