Skip to main content

सगरमाथाको चुचुरोमा पुग्दा स्वर्गीय अनुभूति

नेपाली गाइड र अमेरिकी भ्लगर ज्याण्डरले जेठ १० गते राति क्याम्प ४ बाट आफ्नो यात्रा सुरु गरी भोलिपल्ट बिहान ६ बजे सगरमाथाको चुचुरोमा पुग्न सफल भए। हिमालसँग पहिला देखि नै राम्ररी परिचय रहेको थियो। ६ हजारदेखि ७ हजार मिटरसम्मका आठ वटा हिमाल चढिसकेका थिएँ। विश्वकै सर्वोच्च शिखर तर्फ पाइला अघि बढाउन पाउँदा उत्साह अलग प्रकारको थियो। त्यसैगरी मनमा डर पनि उत्तिकै थियो। जेठ १० गते राति १० बजेतिर हामी क्याम्प ४ छाडेर अगाडी बढ्यौं। सगरमाथाको चुचुरो तर्फ उकालो लाग्ने अरू धेरै मानिसहरू पनि थिए। सगरमाथाको चुचुरोमा पुग्ने समयको कल्पना गर्दा मनमा अत्यधिक आनन्द हुन्थ्यो। तर त्यो लक्ष्य त्यति सजिलो थिएन। अनेकौँ कठिनाईसँग जुझ्न बाँकी थिए। लक्ष्य भन्दा निकै टाढा थियौं। अन्य दिनभन्दा त्यो दिन हावाको वेग बढी थियो। यसले यात्रालाई अझ कठिन बनाएको थियो। मेरो मुख्य जिम्मेवारी केवल आफू पुग्नु मात्र थिएन। संसारको उच्चतम शिखर चुम्ने लक्ष्य लिएर नेपाल आएका अमेरिकी पर्यटक ज्याण्डरलाई माथि पुर्‍याउनु थियो। ३६ वर्षीय ज्याण्डर एक चर्चित भ्लगर हुन्। उनी साहसी र उत्साहित देखिन्थे। सगरमाथा चढ्न करिब दुई महिना अघिदेखि बेस क्याम्प पुगेर तयारी गरिरहेका थियौं। उत्साहसँगै पुग्न सकिन्छ कि सकिँदैन भन्ने डर मनमा थियो। हरेक वर्ष धेरै मानिस सगरमाथाको चुचुरोमा पुग्छन्। धेरै असफल भएर फर्किन्छन्। कतिले यही आफ्नो ज्यान गुमाउँछन्। अरुको सफल चढाइ सुन्दा सामान्य लागे पनि यो यात्रा निकै चुनौतीपूर्ण हुन्छ। हरेक क्षण मृत्युसँग लड्दै अगाडी बढ्नुपर्छ। उकालो चढ्दै गर्दा धेरैलाई थकाइले सिथिल भएर बसेको भेटिन्छ। केहीले माथि चढ्ने हिम्मत गुमाएर फर्किरहेका हुन्छन्। कति बिरामी पर्छन्। कतिपय ठाउँमा शव लगभग लडिरहेको समेत देखिन्छ। त्यो दृश्यले सबैलाई सिहर पुर्याउँछ। केही दिनअघि क्याम्प २ बाट क्याम्प ३ जाने बाटोमा आफ्नै आँखापछि एउटा गाइडको मृत्यु भयो। एमपीसी २ ठाउँमा त्यो शेर्पा चिप्लिएर तल खसेर त्यही मृत्यु भयो। यसले ठूलो डर दियो तर सतर्क पनि बनायो। ‘सानो असावधानीले पनि ज्यान जान सक्छ’ भन्ने सम्झना भयो। हावा बढी भएकाले हाम्रो यात्रा अझ कठिन थियो। सास फेर्न गाह्रो, अनुहार मा हावाको वेगले पोल्ने, दुख्ने जस्ता समस्याहरु थिए। थकाईले शरीर तन्किरहेका थिए। माथि पुगेर फर्कनेहरूलाई अब कति बाँकी छ सोध्ने गर्थ्यौं। हिलारी स्टेप भन्दा केही तल ट्यांगुलर रकमा पुगेपछि ज्याण्डरले अलिकति हरेस देखाए। उनले अब सकिँदैन होला, फर्किनुपर्छ कि भनि कुरा गर्न थाले। तर लक्ष्य नजिक थियो। एक घण्टा को आसपासमा हामी माथि पुग्न सक्छौं भन्ने खबर फर्कनेहरूले दिएका थिए। मैले उनको अक्सिजन बढाएँ, चकलेट खुवाएँ। यसैगरी उनले यस यात्रा गर्न यहाँसम्म आएको कुरा सम्झाएँ। त्यो सपना अब धेरै नजिक छ भनेपछि उनले हिम्मत जुटाए। उज्यालो पनि हुन थालिसकेको थियो। निरन्तर अगाडि बढ्यौँ। बिहान ६ बजे उत्तिकै हामी सगरमाथाको चुचुरोमा पुगे। त्यो क्षण अद्भुत थियो। हामी विश्वकै सबैभन्दा अग्लो स्थानमा पुगेका थियौं। घामको किरणले हिमाल हृदयमा चम्किरहेको थियो। मौसम खुलेको थियो। हामीले एकअर्कालाई अँगालो हालेर धन्यवाद व्यक्त गर्यौं। ज्याण्डर र मेरो साथमा हाम्रो कम्पनीका फोटोग्राफरसहित थिए। त्यहाँ पुग्दा अन्य १५-२० जना पनि चुचुरोमा थिए। धेरैजसो खुशी हुँदै रमाउँदै फोटो खिचिरहेका थिए। थकाइले कारण केही व्यक्तिहरू लखतरान देखिन्थे। त्यो उचाइमा खुसीमा पनि सबै सुगमता अनुभव गर्न सकिरहेका थिएनन्। हिमाल यात्राका लागि सगरमाथाको चुचुरोमा पुग्नु भन्दा ठूलो खुशी अरू केही हुन सक्दैन। हामीले धेरै फोटो र भिडियो खिच्यौँ। चारैतिर नियाल्दै लामो समय घुम्यौं। नेपालतर्फ धेरै टाढा देखिन्थ्यो। अर्को तर्फ तिब्बत र चीनका टाढा भूभागहरू स्पष्ट र सुन्दर देखिन्थे। अहिलेसम्म कहाँ पुगेका थियौं त्यो भन्दा पृथक संसार देखियो। मैले सोचेँ-सायद संसारको स्वर्ग यही होला। खुशीले आँखा भिजेको महसुस भयो। उत्साहले गर्दा तलबाट उक्लिंदा लागेको सबै थकाइ मेटियो। करिब २० मिनेट बिताएर हामी फर्कियौँ। लक्ष्य प्राप्त भएपछि यात्रा सजिलो हुने रहेछ। अब तल पुगेर मनपर्ने भोजन खान र आराम गर्ने सोचले थकाइ महसुस भएन। करिब ४ घण्टामा हामी सुरक्षित रूपले क्याम्प ४ आइपुग्यौँ।