Skip to main content

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको दौडमा महिला अभाव

२७ जेठ काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि ५० जना आवेदकहरूले आवेदन दिएका थिए । विज्ञको मूल्याङ्कनको आधारमा सिफारिस समितिले ४३ जनाको आवेदन स्वीकृत गरेको छ । तीमध्ये १० जनाको अल्पसूची पनि सार्वजनिक भइसकेको छ । तर उपकुलपतिमा महिला उम्मेदवारको आवेदन परेका छैनन् । ६७ वर्षको इतिहास बोकेको त्रिभुवनले अहिलेसम्म महिला नेतृत्व पाएको छैन । त्रिभुवनमा महिला प्रतिनिधित्वको विषयमा प्रश्न उठिरहेको छ । महिलाको आवेदन नपर्नु दुःखद् घटना भएको प्राज्ञहरूले बताएका छन् ।

‘एक जना पनि महिला नहुनु दुःखको कुरा हो । यसले रचनात्मक र सकारात्मक सन्देश दिएको छैन,’ पूर्वडीन प्रा.डा. कुसुम शाक्यले बताइन् । एक जना महिला पनि सूचीमा नपर्नु विश्वविद्यालय र महिला प्रतिनिधित्व दुवैका लागि चिन्ताको विषय हो । २०७२ सालमा प्रा.डा. सुधा त्रिपाठी शिक्षाध्यक्षा बनेकी थिइन् । उनी त्रिभुवनका पदाधिकारीमा पुगेकी पहिलो महिला हुन् । तत्कालीन उपकुलपति प्रा.डा. तीर्थ खनियाको कार्यकाल सकिएपछि उनले कार्यवाहक उपकुलपतिको जिम्मेवारी सम्हालेकी थिइन् ।

‘मैले रेक्टर भएर काम गरें र कार्यवाहक उपकुलपति भएर पनि कार्य सञ्चालन गरें,’ उनले बताइन् । त्यतिबेला त्रिपाठीले उपकुलपति बन्ने आकांक्षा राखेकी थिइन्, तर राज्यले समर्थन दिएन । ‘मैले काम गर्ने उत्साह थियो, अपेक्षासमेत थियो र गर्न सक्ने हिम्मत पनि थियो । तर त्यो सम्भव भएन,’ प्रा.डा. त्रिपाठीले भनिन्, ‘भित्री रूपमा धेरै खेल खेलिन्थ्यो, म त्यस्तो खेल बुझ्दिनथें ।’ महिला भएकै कारण उपकुलपति हुन नसक्ने होइन, तर राज्यका संरचनाले अहिलेसम्म इच्छाशक्ति देखाएको छैन भन्ने उनको बुझाइ छ ।

‘महिला भएकाले झन् सहज भयो,’ उनले अनुभव सुनाउँदै भनिन्, ‘विद्यार्थी तोडफोड गर्न आउँथे, पुरुष नेतृत्व भएका भए झडप हुन्थ्यो तर मैले दुई हात फैलाएर छाती थापें, उनीहरू केही गर्न सकेनन् र फर्किनुपर्ने भएको थियो ।’ महिला नेतृत्व नपाउनुमा पितृसत्तात्मक संरचनाले रोक लगाएको बहस पनि छ । प्रा.डा. त्रिपाठी महिलाले राजनीतिक रूपमा सक्रिय नहुनु मुख्य कारण भएको ठान्छिन् । ‘महिला हुँदा उपकुलपति चलाउन नसक्ने होइन, महिला राजनीतिक लबिइङमा नलाग्नु नै समस्या हो । आफूले चाहेको व्यक्ति ल्याउन सेटिङ हुने गरेको छ,’ उनले भनिन्, ‘महिलालाई राज्यले तयार गरेको छैन, तर राज्यले चाहे असम्भव छैन ।’

यस पटक सरकारले राजनीतिमुक्त प्रतिस्पर्धाबाट उपकुलपति चयन गर्ने योजना बनाएको छ । तर महिला प्राध्यापकहरूले आवेदन दिएका छैनन् । ‘खुला भनिए पनि निष्पक्ष हुँदैन भन्ने धारणा भएर महिला आवेदन नदिएको होला,’ प्रा.डा. त्रिपाठीले विश्लेषण गरिन् । यो पटक मात्रै होइन, २०८० फागुन १० मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले त्रिविको उपकुलपतिमा प्रा.डा. केसरजंग बराललाई नियुक्त गरेको थियो । त्यसअघि पनि खुला प्रतिस्पर्धाबाट चयन गर्ने विधि अपनाइएको थियो ।

तत्कालीन मानविकी तथा सामाजिक विज्ञान संकायकी डिन प्रा.डा. कुसुम शाक्य र प्रा.डा. संगीता रायमाझीले आवेदन दिएका थिए । ‘अघिल्लो पटक म पनि आवेदन दिएकी थिएँ, सर्ट लिस्टमा परेकी पनि थिएँ तर अन्तिममा उपकुलपति बन्न सकिनँ,’ प्रा.डा. शाक्यले भनिन् । खुला आह्वान भए पनि उपकुलपति नबन्ने निश्चित भएपछि महिलाले आवेदन दिन छोडेको शाक्यले बताइन् । ‘नहुने निश्चित भएपछि किन आवेदन दिउँ र ? मैले त अनुभव पनि लिएको छु । अरू महिला आवेदन दिन सक्छन् भन्ने थियो तर कोही देखिएनन्,’ उनले भनिन् ।

डिन पदमा पनि महिला अनुपस्थित
त्रिविको डिनमा पनि महिलाको उपस्थिति छैन । सबै संकायका डिन पुरुष नै छन् । कृषि र पशु विज्ञान अध्ययन संस्थान, वन विज्ञान अध्ययन संस्थान, इन्जिनियरिङ अध्ययन संस्थान, चिकित्साशास्त्र अध्ययन संस्थान, विज्ञान तथा प्रविधि अध्ययन संस्थान, शिक्षाशास्त्र संकाय, मानविकी तथा सामाजिकशास्त्र संकाय, व्यवस्थापन संकाय, र कानुन संकाय सबैमा पुरुष डिनहरू छन् । गत २०८१ मंसिरमा मेरिटको आधारमा डिन नियुक्तिको प्रक्रिया अगाडि बढाइएको थियो र विज्ञ समिति बनाइएर खुला आह्वान गरिएको थियो, तर अन्ततः राजनीतिक भागबन्डाको आधारमा डिन नियुक्त गरिएको थियो ।

महिला प्राध्यापक संख्या कम
त्रिविमा पुरुषको तुलनामा महिला प्राध्यापकको संख्या कम छ । हाल शिक्षक संख्या ७ हजार ९६६ रहेको छ तर महिला संख्या कति छ भन्ने तथ्यांक उपलब्ध छैन । तर प्राध्यापकहरूले महिला संख्या कम रहेको स्वीकार गर्छन् । विश्वविद्यालयमा महिला संख्या कम हुनु योग्यताभन्दा पनि अवसर र विश्वासको विषय भएको महिलामाझ मान्यता छ । ‘योग्य महिला छैनन् भन्ने होइन, तर राज्यको इच्छाशक्तिमा निर्भर गर्छ,’ प्रा.डा. शाक्यले भनिन् । मेरिटोक्रेसी बहस भइरहे पनि व्यवहारमा महिलाले अपेक्षित अवसर पाएका छैनन् भन्ने टिप्पणी प्रा.डा. शाक्यले गरिन् ।

चुनौतीपूर्ण पद
त्रिविका पूर्व उपकुलपति केदारभक्त माथेमा उपकुलपतिको पद चुनौतीपूर्ण रहेको बताएका छन् । ‘विश्वविद्यालय चलाउनु मन्त्रालय चलाउने जस्तो छैन, विद्यार्थी आन्दोलन, शैक्षिक व्यवस्थापन, अनुसन्धान, प्रशासन सबैसँग एकैपटक जुझ्नुपर्छ,’ उनले भने, ‘योग्य महिला प्राध्यापकलाई नेतृत्वमा ल्याउन विश्वविद्यालयको वातावरण सुधार आवश्यक छ ।’ हडताल, तालाबन्दी नियन्त्रण, अनुसन्धानमा लगानी र शैक्षिक वातावरण निर्माण गर्न सकियो भने महिलाले अझ राम्रो रूपमा विश्वविद्यालय चलाउन सक्ने माथेमाको मत छ ।

महिला प्राध्यापकको नेतृत्वका लागि आन्दोलन
त्रिविमा महिला नेतृत्वको विषय अहिले मात्रै होइन, विगतदेखि उठ्दै आएको छ । सात वर्षअघि महिला प्राध्यापकहरूले क्याम्पस प्रमुखमा ३३ प्रतिशत महिला सहभागिताको माग गर्दै आन्दोलन गरेका थिए । अहिले केही क्याम्पसमा महिला प्रमुख पनि छन् । त्रिचन्द्र क्याम्पस, महराजगंज नर्सिङ क्याम्पस, पद्यमकन्या बहुमुखी क्याम्पस, भक्तपुर बहुमुखी क्याम्पस, विराटनगर नर्सिङ क्याम्पस, वीरगंज नर्सिङ क्याम्पस, पोखरा नर्सिङ क्याम्पस, नेपालगंज नर्सिङ क्याम्पसमा महिलाले नेतृत्व गरिरहेका छन् ।

गत २०८१ पुसमा २४ वटा क्याम्पस प्रमुख नियुक्ति प्रक्रिया मेरिटको आधारमा गर्ने भनियो, तर तेसबेला पनि क्याम्पस प्रमुखमा एक महिला पनि परेनन् । त्रिविका अधिकांश विभाग नेतृत्वमा महिलाको उपस्थिति न्यून छ । क्याम्पसदेखि नै महिलालाई नेतृत्व विकास गरेर उपकुलपतिसम्म पुर्‍याउन क्याम्पसदेखि नै अघि बढाउनुपर्ने प्राज्ञहरूको भनाइ छ । क्याम्पस प्रमुख हुँदा हासिल गरेको अभ्यास उपकुलपतिको रूपमा काम गर्न सहज बनाउने तर्क उनीहरूले गर्छन् ।

महिला नेतृत्व हुँदा पुरुष नेतृत्वको तुलनामा पारदर्शी काम हुने विश्लेषण पनि उनीहरूको छ । महिलालाई विश्वविद्यालय नेतृत्वमा ल्याउन राज्यले नीतिगत व्यवस्था गर्नुपर्ने पूर्वडीन शाक्यले बताइन् । ‘आगामी दिनमा सरकारले पहल गर्नुपर्छ । महिलाहरू नेतृत्वका लागि तयारीमा छन् तर यसको लागि नीतिगत निर्णय आवश्यक छ,’ उनले भनिन् ।

अरू विश्वविद्यालयमा पनि न्यून महिला उपस्थिति
सरकारले अध्यादेशमार्फत सबै विश्वविद्यालयका पदाधिकारी पदमुक्त गरेपछि ८ वटा विश्वविद्यालयको उपकुलपति नियुक्ति प्रक्रियाका सर्टलिस्ट सार्वजनिक भएका छन् । तीमध्ये महिला उम्मेदवारको संख्या न्यून छ । पूर्वाञ्चल विश्वविद्यालयको १० जनाको सर्टलिस्टमा कुनै महिला छैनन् । त्यहाँ उपकुलपतिका लागि ३८ जनाले आवेदन दिएका थिए । सुदूरपश्चिम विश्वविद्यालयको १० जनाको सर्टलिस्टमा पनि कुनै महिला छैनन्, जहाँ जम्मा १९ आवेदन परेको थियो । मध्यपश्चिम विश्वविद्यालयको १० जनाको सर्टलिस्टमा एक महिला कल्याणी मिश्र त्रिपाठीको नाम छ, जहाँ २० जनाले आवेदन दिएका थिए । पोखरा विश्वविद्यालयको सर्टलिस्टमा एक महिला निर्मला जमरकट्टेल छन्, जसमा कुल आवेदन ३८ थिए ।

राजर्षि जनक विश्वविद्यालयको उपकुलपतिका लागि कुनै महिला सर्टलिस्टमा परेकी छैनन्, त्यहाँ २७ आवेदन परेका थिए । कृषि तथा वन विज्ञान विश्वविद्यालयको सर्टलिस्टमा एक महिला कल्याणी मिश्र त्रिपाठी छन्, जहाँ १५ आवेदन परेका थिए । लुम्बिनी बौद्ध विश्वविद्यालयको सर्टलिस्टमा तीन महिला परेका छन्: चन्द्रकला घिमिरे, यशोधारा भेटुवाल र सारदा पौडेल, जहाँ ११ आवेदन परेका थिए । समग्रमा महिलाको उपस्थिति न्यून रहेको छ । सिफारिस समितिले पनि महिलाको आवेदन कम परेको जनाएको छ ।

‘आवेदन कम परेको छ, चुनौती पनि छ । योग्यताका आधारमा कार्यक्षमता र अनुभव जोडिन्छ,’ समिति सदस्य रेशु अर्यालले भनिन् । ‘शिक्षामा महिला वञ्चित छन् । अब पुनरावलोकन गर्न विश्वविद्यालयमा पदोन्नति गर्ने प्रणाली कस्तो छ हेर्नुपर्ने देखिन्छ ।’